मिडिया एक्सन फर रोड सेफ्टीको संयोजकमा स्वस्तिक श्रेष्ठ

Image
बुटवल– दुर्घटना न्यूनिकरणको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था मिडिया एक्सन फर रोड सेफ्टीको विशेष बैठकले पत्रकार स्वस्तिक श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको भेलाबाट संस्थाको सचिव डिबि सुस्लिङ तथा सदस्यहरु कपिल ज्ञवाली, दिनेश श्रेष्ठ, प्रकाश आचार्य, ललित पाण्डे, कृष्ण खनाल, माधव पौडेल, तेजेन्द्र केसी, विष्णु घिमिरे, हरिलाल बस्याल, रमेश पराजुली, अस्मिना पाण्डे, साबी अर्याल सर्वसम्मत भएका छन । यसैगरि संस्थाको सल्लाहकारमा वरिष्ठ पत्रकार शरण कर्माचार्य, भगवती पाण्डे, विश्वास ढकाल मनोनीत गरिएको छ ।नवनिर्वाचित संयोजक श्रेष्ठले सडक सुरक्षा र सचेतनाको विषयमा सरोकारवाला संस्थाहरुसंग सहकार्य गरि लुम्बिनी प्रदेशमा नै दुर्घटना रोक्ने अभियान चलाउने बताए । त्यस्तै संयुक्त राष्ट्र संघले घोषणा गरेको नोभेम्बर महिनाको तेस्रो आईतबार ‘सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृति दिवस’ रुपन्देहीमा विविध कार्यक्रम गरि मनाईने भएको छ । सुरक्षित यात्रा अभियान नेपाल, मिडिया एक्सन फर रोड सेफटी र रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२, रिजन ५ को संयुक्त आयोजनामा रुपन्देहीमा सचेतनामुलक अभिमुखिकरण, स्कुटी रयाली र मैनबत्ती प्रज्जवलन गरि सप्ताहब्यापी कार्यक्रम गरी मनाउने भएको हो । आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले सडक दुर्घटनाका कारण ज्यान गुमाएकाहरुको सम्झना र उक्त दुर्घटनाका कारण आफन्तले भोग्नुपरेको भावनात्मक तथा ब्यवहारिक परिणामको दुर्दशालाई न्युनिकरण गर्न सहयोग पुग्ने गरि विश्वभर नै नोभेम्बेर तेस्रो आईतबार दिवस मनाईदै आएको बताए । रुपन्देहीमा विभिन्न सरोकारवाला संस्थाहरुको सहकार्यमा सुरक्षित यात्रा अभियान नेपाल र मिडिया एक्सन फर रोड सेफटीबाट विगत लामोसमयदेखी सचेतना, अभिमुखिकरणका कार्यक्रम संचालन गरेको उनले बताए । मंसिर २ गते अनुशिक्षण तथा मंसिर ३ गते सडक दुर्घटनाहरुमा मृत्यु हुनेहरुको स्मृतिमा योगीकुटीबाट मणिग्राम र फेरी योगीकुटीसम्म सचेतनामुलक स्कुटी रयाली र साझ दीप प्रज्जवलन कार्यक्रम गरिने उनले बताए । कार्यक्रममा सहभागी स्कुटी २ सय जना स्कुटी चालकलाई टिसर्ट र २५ जनालाई लक्की ड्र को आधारमा हेल्मेट वितरण गरिने उनले बताए । यसैगरि क्विज मार्फत १० जनालाई हेल्मेट वितरण गरिने उनले बताए । यो वर्ष बढीभन्दा बढी महिला स्कुटर चालक लक्षित गरि सडक सुरक्षाको विषयमा अनुशिक्षण, विद्यार्थीहरुलाई सुरक्षित सडक प्रयोगबारे अनुशिक्षण, सचेतनामुलक स्कुटर रयाली तथा पाच सय बढी सरोकारवालाहरुको सहभागीमा मैनबत्ती प्रज्जवलन कार्यक्रम गर्ने उनले बताए । कार्यक्रममा मिडिया एक्सन फर रोड सेफटीका संयोजक स्वस्तिक श्रेष्ठले सडक सुरक्षा, यात्रु सुरक्षा, सचेतनासंग जोडेर अभियान चलाउने उदेश्यका साथ बिसं २०६६ सालमा स्थापना भएर निरन्तर कार्यक्रम गर्दै आएको बताए । दुर्घटनाको हिसाबमा लुम्बिनी प्रदेशमा प्रत्येक वर्ष साढे पाचसय बढीले मृत्युवरण गरेको तथ्याकमा देखिएको भन्दै यस विषयमा सरोकारवाला निकायको जागरुकता आवश्यक रहेको उनले बताए ।
Tags: