भूकम्प प्रभावितलाई एनआरएनएले तत्काल २१ लाख रुपियाँ सहयोग गर्ने घोषणा

Image
काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पश्चिम नेपालमा भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दू बनाएर ६.४ रिक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १ सय बढीको मृत्यु भइसकेको छ । अहिले पनि उद्धार कार्य जारी रहेको छ । एनआरएनएका अध्यक्ष आरके शर्मा र महासचिव बुद्धिसागर सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पपछि भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सरकारले सुरु गरेको राहत कोषमा एनआरएन अभियन्ताहरुबाट संकलन गरेर २१ लाख रुपैयाँ जम्मा गर्ने अध्यक्ष शर्माले जानकारी दिए । उनले भने, ‘एनआरएनको आपतकालिन कोष भए पनि हामीले उक्त कोषबाट एक पैसा पनि नचलाई सबै अभियन्ताबाट संकलन गरेर यो रकम जम्मा गर्ने छौं ।’ साथै थप राहत तथा उद्धारका लागि एनआरएनए तयार रहेको पनि अध्यक्ष शर्माले जानकारी दिए । घटनास्थलमै पुगेर एनआरएनएले उद्धारमा सहभागिता जनाउने बताउँदै उनले केही एनआरएन अभियन्ताहरू भूकम्प प्रभावित क्षेत्रतर्फ गैसकेको र चिकित्सकीय टोलीसहित आफू पनि भूकम्प प्रभावित क्षेत्रमा जान लागेको जानकारी दिए | भूकम्प सम्बन्धी सचेतना, जोखिम न्यूनीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना लगायतका काममा संघले नेपाल सरकारसँग सहकार्य गर्ने बताउंदै अध्यक्ष शर्माले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि दिल खोलेर सघाउन तथा आर्थिक लगायतका अन्य आवश्यक सहयोग गर्न सबै राष्ट्रिय समन्वय परिषद्हरू तथा संसारभरि रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन् ।
Tags: