भूकम्प अपडेट : जाजरकोटमा ३७ को मृत्यु, सयौँ घाइते

Image
जाजरकोट–गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको संख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभएको छ । उहाँका अनुसार भूकम्पमा परी सयौँको संख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् । उनका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पु¥याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए । जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उनको भनाइ छ । रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उनले बताए । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो । रासस
Tags: