नेपाल १० वर्षपछि फेरि विश्वकपमा

Image
काठमाडौं - नेपाल टी२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी२० विश्वकपमा छनोट भएको हो ।
जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको सेमीफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो । जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोलीले आगामी टी२० विश्वकप खेल्न पाउने प्रावधान छ । टी२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी२० विश्वकपमा सहभागी हुने अब दुई टोलीको टुंगो लाग्न बाँकी छ । उक्त विश्वकपमा २० टोलीको सहभागिता रहने छ । हालसम्म १८ टोली छनोट भइसकेका छन् । अब अफ्रिकी क्षेत्रबाट दुई राष्ट्र छानिने छन् । नेपालले दोस्रो पटक टी२० विश्वकप खेल्ने अवसर पाएको हो । यसअघि नेपालले सन् २०१४ मा टी२० विश्वकप खेलेको थियो ।
Tags: