सुखावतीः १० रुपैयाँदेखि ३०० रुपैयाँमा कपडाको जोहो

Image

चिजमानले ‘ब्युटिफुल स्टोर्स’मा टेकेर देखेको सुखावती सपना

प्रेम पुन्थोकी/दीपा रेग्मी । काठमाडौं– काठमाडौं चक्रपथको व्यस्त सडक । सिद्धार्थ वनस्थली स्कुलको आडैमा बालाजु औद्योगिक क्षेत्रको गेट । त्यसकै अगाडि चल्तीको मार्ट जस्तै लाग्ने ‘सुखावती स्टोर’ । बाटोमै भएपनि गत असोजको पहिलो हप्ता हामी पुग्दा त्यो ठाउँ भेट्न गाह्रो गाह्रो पर्यो । बिहान १० बजे सुखावती स्टोर पुग्दा एकजना अधवैंसे पुरुष सजाएका कपडामा आफ्नो रोजाइका कपडा छान्दै थिए। उनले एउटा टिसर्ट छाने, स्टोरकी कर्मचारी पुनम गुरुङले रू. ३० बुझेको हिसाब राखिन्। अधवैंसे पुरुष चिटिक्क परेर बाहिरिए। पुनम गुरुङ बोल्न र सुन्न सक्दिनन् । स्टोरको भित्तामा त्यही लेखेर सूचित गरिएको छ, ‘नमस्कार मेरो नाम पुनम गुरुङ हो, म बोल्न र सुन्न सक्दिन ।’ हातैको संकेतले हामीले स्टोरको सञ्चालकका बारेमा सोध्यौं, उनले स्टोरका व्यवस्थापक चित्र दाहाललाई भिडियो कल गरिन्, केही क्षणमै व्यवस्थापक दाहाल आइपुगे। हामीलाई उनले स्टोर पछाडिको भवनमा लगे। विभिन्न युनिटमा बाँढिएको विभिन्न सेक्सनमा कर्मचारी काम गर्दै थिए। दाहालले हामीलाई सबै युनिटका बारेमा बताउँदै गए। लाग्यो, ‘सामान्य लाग्ने तर व्यवस्थापन र लगाव भए त्यही सामान्य काम पनि व्यवसाय र कसैको आवश्यकता पुर्ति गर्ने आधार बन्दो रहेछ।’ स्टोरको बाहिर पट्टी लेखेको छ, ‘एकको उपहार, अर्कोको सरोकार’ । सुखावती त्यो थलो हो जहाँ त्यही नारामा भनिए जस्तै कसैको उपहारलाई कसैको सरोकार अथवा आवश्यकता पुर्ति गरेर बसेको छ। व्यवस्थापक दाहालले भने,‘ हामीले यहाँबाट दाताबाट उपहारको रूपमा आएका कपडालाई आवश्यक भएकाहरूलाई केही मूल्य राखेर दिँदै आएका छौं।’ सुखवतीले रु.३० देखि ३०० सम्मको मूल्य तोकेर कपडा उपलब्ध गराउँदै आएको छ । दाहाल भन्छन, ‘हामी १० रुपैयाँमा व्याग र केही समय विक्री नभएपछि विस्तारै कपडाको मूल्य पनि घट्दै जान्छ, अन्ततः ३० रुपैयाँ पर्ने कपडा १० रुपैयाँमै उपलब्ध गराउँछौं।’ एकछिन् युनिट तिर छिरौं........ ‘डोनेशन आएपछि त्यसको मेजरमेन्ट लिइन्छ। कुन सामान कुन डेटमा कसले दिनुभएको हो, त्यसको रेकर्ड राखिन्छ । सर्टिङ युनिटमा गएर त्यसलाई छनोट गरिन्छ। प्रयोगको लागि (स्टोर) अपसाइकलको लागि, धुनको लागि पठाउन छुट्याइन्छ,’ दाहालले युनिट घुमाउँदै भने,‘प्रयोग गर्नै नमिल्ने अवस्थाका कपडालाई सिरक डसना बनाउने भेण्डरलाई दिन्छौं। यसको अवस्था, गुणस्तरका आधारमा ३० देखि ३०० रुपैयाँसम्म मूल्य निर्धारण गरिँदै आएको छ।’ सुखावती वनस्थलीमा मात्र छैन, यसको स्टोर काठमाडौंकै नेपालटार र ललितपुरको झम्सीखेलमा पनि छ। वनस्थलीमा स्टोरसँगै कार्यालय, प्रोसेसिङ, डिस्प्याच गर्नेसम्म गरिन्छ भने अरुका आउटलेट र डोनेसन कलेक्सन पनि गरिँदै आएको दाहालले बताए। डोनेसन कसरी गर्न सकिन्छ त ? ‘डोनेसनको लागि हाउजिङ, सामुदायिक भवनहरू गरी पाँच ठाउँ डोनेसन बक्स राखिएको छ। कतिपय अवस्थामा डोर टु डोर कलेक्सन पनि हुँदै आएको छ,’ दाहालले भने। यसभन्दा अगाडि काठमाडौंमा क्लोथ बैंकले पनि अभियान चलाएको थियो तर त्यसले प्रभावकारी रुपमा काम गर्न सकेको थिएन तर सुखावतीले वर्षौंदेखि गर्दै आएको छ, कसरी ? व्यवस्थापक दाहालले थपे,‘त्यसका हाम्रो उद्देश्य नै फरक छ, क्लोथ बैंकमा जम्मा गर्ने धेरै थिए, लैजाने थिएनन्, व्यवस्थापन पनि थिएन, हामीले व्यवस्थापनको पाटोलाई अलि बढी जोड दिएका छौं।’ उनले हप्ता हप्तामा डोनेसन बक्सको भिजिट गरेर कपडा कलेक्सन गर्ने र त्यसको हिसाव पनि डोनेसन बक्सकै आधारमा राखिँदै आएको बताए। सप्पै राम्रा कपडा आउँछन् त ? ‘रियुज गर्ने खालका कपडा स्वीकार गर्ने हाम्रो उद्देश्य हो तर डोनेसन गर्नेले जस्ता कपडा पनि गर्ने भएकाले त्यसलाई छनोट गर्न सकिएको छैन, थाहा नभएर होला कति डोनेसन बक्समा त फोहोर पनि भेटिन्छ,’ उनले भने। धेरैलाई लाग्न सक्छ, कसैले प्रयोग गरी सकेका कपडा लगाउनमा कसको चासो होला र ? तर त्यस्तो होइन् ,सुखावतीमा दैनिक सयभन्दा बढीले भिजिट गर्छन्, नियमित ग्राहकमात्रै ३० हजारभन्दा बढी छन्। दाहालले सम्झना गरे, ‘एक पटक एकजना ग्राहक आउनुभयो, कोट, पाइन्ट, जुत्ता हेर्नुभयो, ३०० रुपैयाँमा खरीद गरेको ती जुत्ता, कपडाले उहाँले बिहे गर्नुभयो र पछि आएर आफ्नो काम बनेको भन्दै कसैलाई सहयोेग हुन्छ भनेर फेरि ल्याएर छाडिदिनुभयो।’ खाली खुट्टा आएर १० रुपैयाँमा जुत्ता खरीद गरेर लगाएर गएको दाहालले धेरै देखेका छन् । उनी भन्छन्, ‘यसले डोनरलाई कसैले प्रयोग गर्दा आत्मसन्तुष्टि र ग्राहकका लागि पनि निःशुल्क पाएको छु भन्नु भन्दा पनि केही लगानी गरेको छु भन्दा फरक अनुभूति भएको पाएका छौं। अहिले ३० हजारभन्दा बढी ग्राहक र करीब ३५ सय डोनर छन्। ग्राहक, डोनर दोहोरिएर आउने गरेका छन्।’ स्टोरमा केही खेर जान्न..... संकलन भएका कपडा धोएर सिधै लगाउन नमिल्ने अवस्थाका भए कपडालाई रिडिजाइन गर्ने, अपसाइकल प्रडक्ट बनाउने गरिएको छ। दाहाल भन्छन्,‘जस्तो साडी आयो, प्रयोग गर्न नमिल्ने अवस्थाको साडीलाई काटेर सपिङ ब्याग बनाइन्छ। जिन्सको झोला, टेवल पोस, त्रिपाललाई काटेर ब्याग बनाइन्छ। कुनै प्रडक्ट नै नबन्ने अवस्थाका कपडालाई ३ रुपैयाँ केजीको दरमा सिरक डसना बनाउन पठाइन्छ।’ अपसाइकल युनिटमा त्यस्ता धेरै आकर्षक कपडा बनाइएका थिए। त्यसलाई प्रयोग जो कोहीले गर्न सकिने देखिन्थ्यो। उनले भने, ‘हामीले हरेक स्तरका ग्राहकलाई लक्षित गर्दैछौं, झम्सीखेलमा अपसाइकल गरिएका कपडा, ब्याग, टेवल पोस लगायतमा विदेशी र यस्ता कपडामा रुचि भएका जोकेहीले पनि लिने गरेको पाएका छौं, त्यहाँ मूल्य केही बढी पर्ने कपडा पनि छन्।’ स्टोरले कपडा, जुत्ता मात्र होइन, किताब, भाँडाकुडा, फूलसहितका गमला, हातले सिंगारेका बोतलसम्म लिने गरेको छ। स्टोरमा पेयपदार्थका बोतललाई सिंगारेर कलमदानी , फूल रोप्ने भाँडो बनाएको पनि पाइयो। व्यवस्थापक दाहालले भने,‘हाम्रोमा सोसल वर्कका विद्यार्थी इन्टर्नसीपमा आउने गर्नुभएको छ, उहाँहरूले हातले डिजाइन गरेका सामग्री बनाउनुहुन्छ।’ १४ जनालाई रोजगारी, ४ जना अपांगता भएका सुखावती स्टोरमा १४ जनाले रोजगारी पाएका छन्। १४ जनामध्ये ४ जना बोल्न र सुन्न नसक्ने क्षमताका छन्। ती मध्ये २ जना सिलाई र २ जना आउटलेटमा छन्। व्यवस्थापक दाहालले भने,‘उहाँहरूलाई विलिङ गर्न समस्या देखिन्छ, तर हामीले परीक्षणको रुपमा जिम्मेवारी दिएका छौं, केही पर्दा उहाँहरू भिडियो कलमार्फत सम्पर्क गर्नुहुन्छ, हामीले त्यहीबाट रेस्पोन्स गर्छौं।’ करोडभन्दा बढी आम्दानी, लाख किलो कपडा सामान्यतया एक पटक प्रयोग गरेका कपडा दान गर्ने प्रचलन नेपालीमा कम छ तर पनि पछिल्लो समय सुखावतीले त्यसको प्रचलन बढाएको छ । डोनेसन गर्न कति हात खुला गर्छन त? व्यवस्थापक दाहाल भन्छन्, ‘अगाडिदेखिको त धेरै भए होला तर सन् २०१६ देखिको तथ्यांक राखिएको छ। त्यसयता ८७ हजार केजी कपडा संकलन भएको छ। त्यसबाट १ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ।’ कपडा दान गर्न विदेशी पनि इन्छुक देखिएपनि बाहिरबाट पनि डोनेसनको इच्छा देखाएका छन् तर नेपाल सरकारको कानूनी अड्चनका कारण बाहिरबाट सेकेन्ड ह्याण्ड कपडा ल्याउन नसकिएको दाहाल बताउँछन्। यसै सामाजिक सेवा त्यसमा पनि सामाजिक सहयोगका क्रियाकलाप यसरी आवश्यकता भएका र न्यून आय भएकाका लागि कपडा उपलब्ध गराउनु आफैमा सामाजिक सेवा हो, त्यसमाथि संस्थाले हाल विभिन्न च्यारिटियवल क्रियाकलाप पनि गर्दै आएको छ। त्रिपुरेश्वरमा बागमती नदी किनारका सुकम्बासी बस्तीका २५ जना बालबालिकालाई सहयोग गर्दै आएको व्यवस्थापक दाहालले बताए । ‘उनीहरूलाई कक्षा १० सम्म अध्ययनका लागि स्टेशनरी, ड्रेस, कम्युनिटी लर्निङ सेन्टर र एक जना शिक्षिका राखिएको छ। यसको व्यवस्थापनका लागि त्यही क्षेत्रको गुठीले गर्दै आएको छ,’ उनले भने। संस्थाले वर्षेनि नियमित रूपमा ३ ओटा क्रियाकलाप गर्दै आएको छ। ‘हाम्रो पनि दशैं’, ‘न्यानो माया’ र ‘इभेन्ट रिलिफ’ नियमित रुपमा गरिँदै आएको हो। त्योसँगै आकस्मिक गतिविधि त भइनै रहन्छ। ‘हाम्रो पनि दशैंमा नियमित डोनरको सिफारिसमा निम्न आय भएको परिवारलाई ४ हजार रुपैया बराबरको सहयोग गर्ने गरिएको छ। एक बोरा चामल, नुन, तेल, दाल लगायत अत्यावश्यक खाद्यान्न उपलब्ध गराइदै आएको छ,’ दाहालले भने, ‘त्यस्तै न्यानो माया इभेन्टले चिसोको समयमा तराई र पछिल्लो समयमा मुुुगुमा न्यानो कपडा उपलब्ध गराइदै आएको छ। रिलिफ अन्तर्गत टर्कीमा ४५० पिस ज्याकेट सहयोग गरेको छ।’ संस्थाले १ देखि डेढ लाख रुपैयाँसम्मको सहयोग गरिदै आएको छ। फण्ड व्यवस्थापन स्टोरबाटै भएको छ। संस्थाको सोसल इन्टरप्राइजको मोडलबाट सञ्चालनमा जाने योजना छ। आफै व्यवसाय गर्ने, त्यसबाट नाफा आर्जन गर्ने र त्यसलाई सामाजिक काममा खर्चने योजना छ। त्यस्ता मोडलको परिकल्पना गरिएको पनि छ। दाहालले भने, ‘सुखावती स्टोर्ससँगै कम्युनिटी लन्ड्री सञ्चालनको योजनामा छौं। यसले अहिले निम्न आय भएका ग्राहकलाई समेटिएको छ भने कम्युनिटी लन्ड्रीको माध्यमबाट जान सके मिडिल क्लासका ग्राहकलाई पनि तान्न सकिन्छ कि भन्ने छ। अर्को साना साना क्याफे सञ्चालन (पिटी ट्रेडर्स) गर्ने र त्यसमा बोल्न नसक्नेहरुका लागि लगानी तथा व्यवस्थापनमा सघाउने नाफा सेयर गर्ने ।’ सुखावतीमा रमाएका आईएनजीओकर्मी सुखावतीका व्यवस्थापक चित्र दाहाल ले सुखावतीको व्यवस्थापन सम्हालेको २ वर्षमात्र भएको छ। त्यसभन्दा अगाडि उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थामा लामो समय काम गरेको अनुभव संगालेका छन्। त्यसो त उनका दिमागमा सुखावती जस्तो संस्थाको परिकल्पना पहिले देखि नै थियो। सन् २००९ मा अक्सफामका काम गर्दा लाउराभन्ने एकजना अक्सफामको हेडक्वार्टरबाट आएकी कर्मचारीले यस्तै प्रकृतिको कामको बारेमा भनेको सुनेका उनले त्यसलाई गम्भीरताका साथ लिएनन् पछि चिज गुरुङको सम्पर्कमा पुगेका उनले आफूलाई त्यसमा जोडिन मन लाग्यो र जोडिए। ‘ग्राण्ड मोडलमा का म गरेको अहिले ग्राण्ड र विजनेश मोडलको काम भएकोले रमाएको छु, आईएनजीओमा जस्तो कमाई छैन होला तर आत्मसन्तुष्टि बढी छ,’ संस्थालाई धेरै माथि लैजान सकिने योजना सुनाउँदै यी दैलेखी दाहालले कुरा टुंग्याए।

चिजमानले ‘ब्युटिफुल स्टोर्स’मा टेकेर देखेको सुखावती सपना

सुखावती सन् २०१४ देखि सञ्चालनमा आएको हो। संस्थापक अध्यक्ष चिजमान गुरुङले कोरियामा ‘ब्युटिफुल स्टोर्स’मा काम गरे, त्यही मोडलमा सुखावती स्टोर्स गैरनाफामुलक संस्थाको रुपमा स्थापना गरिएको हो। पोखरामा नयाँ साखा खोल्न पोखरा पुगेका गुरुङ फोनमै गफिए, ‘शुरुआतमा ८ जना संस्थाका सदस्यले आफूसँग भएका कपडा लिएर बाटोमा बसेर शुरू गरिएको हो। सामाखुसीमा एउटा ग्यारेज बाहिरबाट शुरु गरेको संस्था अहिले व्यवस्थित कार्यालयका साथ सञ्चालनमा छ।’ उनी कुनै समय राहतको लागि घरदैलो गर्दै हिँडेका थिए, त्यही बेलामा केही कपडा पनि संकलन गरे पछि कास्कीमा बाढी पीडितलाई दिन थाल्दा त्यसलाई उनीहरूले खुसी साथ लिएनन् । गुरुङले भनुभव सुनाए, ‘हिजो हाम्रो स्थिति राम्रै थियो, अहिले किन अरुको कपडा लगाउने भन्ने खालको उहाँहरूबाट प्रतिक्रिया पाइयोे।’ पछि उनी रोजगारीको सिलसिलामा कोरियामा गए, त्यहाँ जाँदा सोसल इन्टरप्राइज मोडलमा ‘ब्युटीफुल स्टोर्स’ सञ्चालनमा आएको देखे। ‘म आफैले त्यसमा साढे २ वर्ष काम गर्ने मौका पाएको थिएँ। सन् २०१२ मा नेपालमा आएँ, त्यसै समयमा सिंगापुरे लाहुरे परिवारका दिदीहरूसँग भेट भयो र हामीले बसुन्धरामा बाटोबाट यसको शुरुआत गरेका हौं,’ उनले भने। कोरियाको ‘ब्युटीफुल स्टोर्स’को उद्देश्य संसारलाई सुन्दर बनाउनुपर्छ भन्ने थियो, उनले त्यसैबाट प्रभावित भएरै सबैलाई सुखको अनुभूति दिलाउनु पर्छ भन्ने मान्यताका साथ ‘सुखावती स्टोर्स’ खोले । उनी सम्झन्छन्, ‘शुरुमा कपडा कसले देला र कसले किन्ला भन्ने एक खालको चुनौतीको विषय थियो।’ विदेशतिर धेरै देशमा यस्ता अभियान चलाइदै आएको छ र नेपालमा यसको संस्कृति अझै विकास भएको नभएको उनको भनाइ छ। ‘हाम्रोमा दानप्रथा विद्यमान छ नै। जसरी मन्दिरमा गएर दान गरिन्छ, त्यसलाई परिवर्तन गरेर कपडा दान दिने,लिने अभियान हामीले चलाएका हौं। हाम्रोमा नभए पनि हुनेखाने देखाउने प्रवृत्ति छ,’ उनले भने, ‘आफूलाई आवश्यकता छ तर पुरानो कपडा किन्दा कसैले केही भन्छ कि भन्ने खालको बुझाई छ। अर्को कुरा विदेशमा दिइने कपडाको गुणस्तर केही राम्रो हुन्छ। हाम्रोमा दिँदा पनि आर्थिक स्थिति कमजोर भएकाले किन्छ भनेर दिइने प्रचलन छ। विदेशमा आफूलाई बढी भएको कपडा अरुलाई आवश्यकता हुनसक्छ भनेर दिइने चलन छ।’ शुरु शुरुमा बुझाउन धेरै गाह्रो भएको उनले अनुभव सुनाए,‘हाम्रोमा लिएका कपडालाई मरेको मान्छेको लिएको हो कि, रोग लागेको मान्छेको लिएको हो कि भन्ने गलत मान्यता विद्यमान छ।’ समाजको सोच जस्तोसुकै भएपनि त्यसलाई परिवर्तन गर्नुपर्छ भन्ने मान्यताका साथ सुखावतीले यसलाई निरन्तरता दिएको उनले बताए। ‘हामीले काम गर्दै जाँदा थाहा पाएको कुरा यहाँ डोनेसन गर्नेभन्दा आवश्यकता भएका को संख्या बढी छ। यसबाट लाभ लिनेको संख्या बढी छ। शुरुमा डोनेसन आएर पनि कपडा लिन आउनेको संख्या कम थियो। लकडाउन पछि, ग्राहकको संख्या पनि बढी छ। दिनमा १५ देखि २० हजार रुपैयाँको विक्री भएको छ। ३० हजार रुपैयाँको लक्ष्य छ। पुरानो सामान मात्र नभएर अन्य कृषिजन्य उत्पादनको विक्री गर्ने सोंच छ,’ गुरुङले भने। उनले सातै प्रदेशमा शाखा विस्तारको अनुभव सुनाए। रेष्टुरेन्ट व्यवसायी गुरुङ सुखावतीमा अनवरत स्वयमसेवा गर्दै आएका छन्। (यो सामग्री तयार पार्दा सम्म सुखावतीको शाखा पोखरामा विस्तार भइसकेको छ, पोखरामा अक्टुबर १ देखि शाखा सञ्चालनमा आएको हो।) - तस्वीर सुखावतीको फेसबुक पेजबाट पनि लिइएको हो है ।  

Tags: