मंगलवारदेखि गोदावरी फूलको प्रर्दशनी, नेपालमा कति हुन्छ फूलको कारोबार ?

Image
काठमाडौं– फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले ‘१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८०’ को आयोजना गर्ने भएको छ। आइतवार यससम्बन्धी जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा फ्यानका उपाध्यक्ष तथा मेलाका संयोजक सिताराम पन्तले कात्तिक १४ देखि १८ सम्म ललितपुरको जावलाखेलमा मेला आयोजना हुने जानकारी दिए। फ्यानले २०५१ सालदेखि पुष्प व्यवसायको व्यावसायिक विकास विस्तार तथा प्रवद्र्धनका लागि नियमित रुपमा मेला आयोजना गर्दै आएको उनले बताए। नेपालीहरुले महत्वका साथ मनाउने चाड तिहार पर्व नजिकिँदै गर्दा घर आगन बगैचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि मेला आयोजना गरिएको उनको भनाइ छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरी’ भन्ने नाराका साथ आयोजना हुन लागेको १६ओं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८० को सह–आयोजक संस्थाको रुपमा पुष्प विकास केन्द्र, सहयोगी संस्थाको रुपमा कृषि पुर्वधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रायोजक संस्थाको रुपमा सेवा कोकोपिट र बैकिङ साझेदार संस्थाको रुपमा कृषि विकास बैंक रहने आयोजकको भनाइ छ। प्रदर्शनीमा व्यवसायिक स्टल ५५ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ५ गरि जम्मा ६२ वटा प्रदर्शनी कक्षहरु रहने संयोजक पन्तले जानकारी दिए। यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको उनको भनाइ छ । यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहेको उनको भनाइ छ। मेलामा नेपालमा विगत वर्ष देखि नै व्यवसायीक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाको साथै यस वर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा विक्री वितरण हुने पन्तले जानकारी दिए। यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समावेश हुने उनले बताए। उनले भने, ‘यस मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुचि राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास हामीले लिएका छौं । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्रदान गरिने छ ।’ प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको फ्यानका अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिए। मेलाको थप आकर्षणको रुपमा यस वर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन विक्री हुने गेट टिकट नम्बरको आधारमा सोही दिन बेलुकी लक्की ड्र गरी विजेता हुन सफल एक जना मेला अवलोकनकर्तालाई गमलासहितको ५ ओटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार प्रदान गरिने आयोजकको भनाइ छ। मेला अवधी भर मेला अवलोकन गर्न आउने दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरुको शुन्य मौज्दातमा खाता खोली ३०० रुपैयाँ खातावालाको नाममा कृषि विकास बैक लि. ले जम्मा गरि दिने साथै खाता खोल्ने ग्राहकहरुलाई मेलामा जुनसुकै फूल बिरुवा खरीदमा १०% छुट को व्यवस्था पनि मिलाइने जानकारी दिइएको छ। कृषि क्षेत्रको एक उद्योगकै रुपमा अगाडि बढीरहेको पुष्प व्यावसायको दिगो संस्थागत विकास, गुणस्तरीय उत्पादन आन्तरिक बजार व्यवस्थापन आयात प्रतिस्थापन तथा निर्यात प्रबर्द्धन आदिमा सम्बन्धित संघ संस्था तथा संचार जगतले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको अध्यक्ष तामाङको भनाइ छ । नेपालमा २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको इतिहास रहेको छ। २०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को स्थापना भए पश्चात मात्र पुष्पको व्यावसायिक विकास, विस्तार र प्रवद्र्धनले गति लिएको उनको भनाइ छ । हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको हरेक वर्ष पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहँदै आएकोमा विगत केही वर्षको भीड महामारीका कारण नकारात्मक असर पर्न गई खुम्चिन पुगेको अध्यक्ष तामाङले बताए। तर पुनः आ.व. २०७९/८० देखि पुष्प व्यवसायले गति लिएको व्यवसायीको भनाइ छ।

कति छ, उत्पादन र कारोबार ?

फ्यानका अनुसार हाल ४८ जिल्लामा लगभग २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । १ हजार ११६ भन्दा बढि (नर्सरी ५०५ कट फेलावर उत्पादक–८०, कट फ्लावर खुद्रा व्यवसायी–१३७, पुष्प थोक व्यवसायी– ४, इनपुट सप्लायर्स २५ र लुज फ्लावर उत्पादक –३६५) पुष्प व्यवसायीमा संलग्न छन् । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ४४ हजारभन्दा बढी जनशक्ति रोजगार रहेको फ्यानको तथ्यांक छ । आ.ब. २०७५/७६ मा पुष्पको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ रहेकोमा आ.व.२०७६/७७ र आ.व.०७७/७८ मा वर्षैभरि कोभिड–१९ महामारीको कारण भएको निषेधाज्ञा र लकडाउनले गर्दा व्यावसायिक कारोबारमा कमी आई जम्मा १ अर्ब ६३ करोड रुपैयाँ मात्र भएको थियो । तथापि आ.व.२०७८/७९ मा कोभिड १९ को असर केही कम हुदा समग्र व्यावसायिक तथा आर्थिक क्षेत्र केही चलायमान र सुधारउन्मुख हुँदा आ.व.२०७७/०७८ को तुलानामा करिब ३० प्रतिशतले पुष्पको वार्षिक कारोबारमा वृद्धि भई २ अर्ब ३० करोड रुपैयाँ हाराहारीमा कारोबार भएको अध्यक्ष तामाङले जानकारी दिए। उनका अनुसार गत आ.वमा २०७९/८० मा ३ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आ.व.२०७८/७९ को तुलनामा यस आर्थिक वर्ष ०७९/८० मा करिब ३३ दशमलव ६३ प्रतिशतले वार्षिक कारोबारमा वृद्धि भएको छ । गत आ.व. ०७९/८० मा पुष्प तथा पुष्पजन्यवस्तुको निर्यात ६८ लाख १८ हजार रुपैयाँ र आयात तर्फ भने ३३ करोड बराबरको कारोबार भएको भन्सार विभागको तथ्याङ्क रहेको छ । अध्यक्ष तामाङले भन्सार छलेर अवैध तरीकाले फूल भित्रिने क्रम अहिले पनि बढी नै रहेकोले यो तथ्यांकमा शंका गरे। उनले भने, ‘हामीले अवैध आयात नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं तर भारतीय फूल छ्यापछ्यापी पाइन्छ, हाम्रो लागत बढी हुने तर भारतीय फूल सस्तोमा आयात हुँदा हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो छ,’ उनले भने। उनले सरकारले प्लास्टिकका फूल आयात,उत्पादन तथा विक्री वितरणमा रोक लगाउने नीति लिएको भएपनि यसका नियन्त्रण नआएको दुखेसो गरे।
Tags: