‘अहिलेको एनआरएनएले विदेशमा रहेका नेपालीको सही प्रतिनिधित्व गर्दैन’–एनआरएनए अभियान्ता

Image
काठमाडौं– एनआरएनएका अभियान्ताहरूले सिण्डीकेटबाट घोषणा गरिएका पदाधिकारीले एनआरएनएको सही प्रतिनिधित्व गर्न नसक्ने बताएका छन्। एनआरएनएका केही अभियान्ताहरूले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। विगत कैयन वर्षदेखि गैह्रआवासीय नेपालीको वास्तविक प्रतिनिधित्वका वारेमा प्रश्न उठिरहेको पृष्ठभूमि र दुई दुई वर्षमा काठमाण्डौंमा हुने अधिवेशन/सम्मेलन/जमघट तथा त्यहाँबाट घोषणा गरिने सिण्डीकेटेड पदाधीकारी र बन्ने/बनाइने समितिले सन्सारभर छरिएका नेपाली आप्रवासीको सही प्रतिनिधित्व गर्न नसक्ने उनीहरूको दाबी छ। ‘विश्वभरका देशहरुमा वर्षौंदेखि बिभिन्न इलम, अध्ययन, पेसा र ब्यवसायका शिलशिलामा रहेका लाखौं नेपालीको मातृभूमीप्रतिको माया, सद्भाव र सहयोगलाई दलीयकरण, व्यापारीकरण र नगदीकरण गर्ने एनआरएनए भन्ने संगठन्, त्यसका मतियार र स्वघोषित नेतागणप्रति घोर आपत्ती जनाउदै उक्त संस्था प्रति नेपाल सरकार एवं थरिथरी राजनितिक दल, ब्यापारिहरुको स्वार्थी अभिष्टप्रति दुःख प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। विभिन्न मुलुकमा रहेका नेपालीमूलका आप्रवासीहरु मध्य दुई प्रतिशतले पनि स्वेच्छाले सदस्यता नलिएको एनआरएनए को वास्तविकता भएको अभियान्ताहरूको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्को सदस्य, उम्मेद्वार बन्ने/बनाउने, जित्ने÷जिताउने, यावत कर्महरु अपारदर्शी मात्रै होइन कि निर्वाचन को प्रकृया नै खरिदबिक्री र लीलामी हुने गरेको सार्वजनिक भैरहन्छ । मुद्धा–मामिला, घिनलाग्दा गतिविधि निरन्तर चर्चाका विषय भैरहन्छन । यस संस्थाको प्रादुर्भाव नै अपारदर्शी र कतिपयको अबैध कर्मलाई बैधता दिलाउन भएको देखिदै आएको अहिले सरोकारवालाहरुलाई स्पष्ट हुँदैछ । त्यसकै चपेटामा गैरआवासीय नेपाली नागरिकता समेत परेको छ ।’ एनआरएनएका नाममा सिमित व्यक्तिले चटकसहित नैतिकताविहिन र लाज लाग्ने गतिविधिले अधिकांश आप्रवासी नेपालीको प्रतिष्ठा र साखमा धक्का पुग्ने काम भएकोले आफूहरूको चासो र चिन्ता अभिव्यक्त गरेको उनीहरूको भनाइ छ। ‘विदेशमा नेपाली मूलका आप्रवासीका नाममा दलीय झण्डा, दलीय भाषा, दलीय भक्ती र व्यक्ती विशेषहरुको साथै केही व्यापारीको सेवा गर्ने, नेपालीहरु बीचमै फाटो र झगडा गराउने यस्तो एनआरएनए, यस्तो संरचना र खेलोमेलो आप्रवासी नेपालीको चाहना होइन । विदेशमा रहेका नेपाली र नेपालका बीचको सम्बन्ध बारेमा जुन भाष्य निर्माण गर्न खोजिदै छ, साथै देश भित्र र बाहिरका नेपाली नेपालीबीचको भ्रातृत्व र भावनामा खेलबाड गर्ने र आपसमा विभाजन गराउने किसिमका गतिविधि प्रति चनाखो रहन सबै नेपालीलाई आग्रह गर्दछौं ,’ विज्ञप्तिमा उल्लेख छ । ‘बलियो नेपाल, एकिकृत नेपाली, आप्रवासी नेपालीको परिष्कृत सहकार्य – हाम्रो आह्वान हो’ भन्ने मान्यताका साथ उनीहरूले विज्ञप्ति जारी गरेका छन्। विज्ञप्ति जारी गर्नेमा सुरेन्द्र राज देवकोटा, पीएचडी, अमेरिका, राजेन्द्र ब. राउत, अमेरिका, रमेश पन्त, पीएचडी, अमेरिका, सुमन पराजुली, पीएचडी, अमेरिका, आमोद पोख्रेल, पीएचडी, अमेरिका, महेश भण्डारी, पीएचडी, अष्ट्रेलीया , घनश्याम भट्ट, पीएचडी, अमेरिका र तरुण पौडेल, अमेरिका छन्।
Tags: