लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा चार स्रष्टा सम्मानित

Image
काठमाडौं – लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरबाट राष्ट्रका ख्यातिप्राप्त चार स्रष्टा सम्मानित भएका छन् । साहित्यकला मन्दिरद्वारा आज यहाँ आयोजित ३०औँ स्रष्टा–सम्मान समारोहमा इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, नारायणगोपाल सङ्गीत सम्मान र सरस्वती सम्मानबाट राष्ट्रका ख्याति प्राप्त चार स्रष्टालाई सम्मान गरिएको हो । संस्थाले स्थापनाकालदेखि हरेक वर्ष व्यक्तिका नाममा दुई वटा र साहित्य कलाकी आराध्यदेवी सरस्वतीका नाममा एउटा गरी तीन वटा सम्मान प्रदान गर्दै आएको छ । इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान इतिहासको क्षेत्र, साहित्य, कला र संस्कृतिका क्षेत्रमा गहकिलो खोज–अनुसन्धान गर्ने व्यक्तिलाई प्रदान गर्दै आएको छ । यो वर्ष तन्त्र विद्याका वरिष्ठ साधक एवं प्राध्यापक विद्यानाथ उपाध्याय भट्ट सम्मानित भएकाछन् । त्यस्तै, साहित्यलगायत जुनसुकै सिर्जनाका विधामा विशेष योगदान पु¥याउने व्यक्तित्वलाई सरस्वती सम्मान प्रदान गर्दै आएको छ । यस वर्ष वरिष्ठ कवि डा विष्णुविभु घिमिरे र मोफसलमा बसेर साहित्य–सेवामा आबद्ध वरिष्ठ कवि तथा व्यङ्ग्यकार लक्ष्मण नेवटिया सम्मानित भएकाछन् । संस्थाले शास्त्रीय, आधुनिक र लोक–सङ्गीतका क्षेत्रमा आफ्ना सिर्जनामार्फत उल्लेख्य योगदान पु¥याउने प्रतिभालाई नारायणगोपाल सङ्गीत सम्मानद्वारा सम्मानित गर्दै आएको छ । यस वर्ष लोकगायिका एवं सङ्गीत साधिका झुमा लिम्बूलाई सम्मान गरेको छ । प्रत्येक सम्मानबाट सम्मानित व्यक्तिलाई ताम्रपत्रसहित नगद रु एक लाख ५१ हजार प्रदान गरिएको छ । समारोहमा संस्थाका अध्यक्ष मेघा चौधरीले सबैको सहकार्यबाट साहित्यकला मन्दिरले थप सिर्जनात्मक कार्य गर्दै जाने र तीन दशकको लामो यात्रालाई थप नयाँ ढङ्गले परिष्कृत गर्दै लैजाने बताए। त्यस्तै संस्थाका संरक्षक वसन्त चौधरीले संस्थाले हालसम्म एक सय २० भन्दाबढी स्रष्टालाई सम्मान गर्नु नै यस संस्थाको औचित्य रहेको बताए। कार्यक्रममा सामाजिक अभियन्ता तथा नायिका मनिषा कोइरालाले साहित्य, कला, सङ्गीतले समाजलाई सुसज्जित गर्नाले सबैले यसको संरक्षण गर्नुपर्ने बताइन् । सम्मानित स्रष्टाकातर्फबाट व्यङ्ग्यकार नेवटियाले समाजका विसङ्गतिलाई आफ्ना रचनाबाट समाजमा ल्याउन साहित्यले ठूलो सहयोग पु¥याउने बताउँदै काठमाडौँ केन्द्रित साहित्यलाई यस संस्थाले मोफसलका साहित्यलाई पनि ध्यानमा राखेको बताए । सोही समारोहमा प्रा डा उषा ठाकुरद्वारा लिखित पुस्तक ‘विचार र विश्लेषण’ र लक्ष्मण नेवटियाद्वारा लिखित ‘व्यङ्ग्यधाम’ कृति लोकार्पण भएको थियो । वरिष्ठ पत्रकार तथा समालोचक रमण घिमिरेले विचार र विश्लेषणमाथि प्रकाश पार्दै लक्ष्मीप्रसाद देवकोटा, सत्यमोहन जोशीलागायतका स्रष्टालक्षित लेखकले कलम चलाएको बताउँदै नेपाली साहित्यको अध्ययन गर्नेका लागि पठनीय रहेको बताए । त्यस्तै मंगलवारै लोकापर्ण गरिएको अर्को पुुस्तक ‘व्यङ्ग्यधाम’ माथि प्रकाश पार्दै समाजका विकृति विसङ्गति, राजनीतिक विसङ्गतिविरुद्ध साहित्यका माध्यमबाट उजागर गरेको बताए। स्व लुनकरणदास चौधरी व्यापार–व्यवसायमा अथक परिश्रम गरी चौधरी गु्रपलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा प्रतिष्ठित र समृद्ध बनाउन कर्मयोगी व्यक्ति हुन्।
Tags: