आज जनप्रतिनिधिको मनोनयन, यस्तो छ निर्वाचनको इतिहास

Image
काठमाडौं– नेपालमा पहिलोपटक विसं २००४ मा संविधान जारी भएपछि गाउँ तथा नगरपञ्चायतको चुनाव भएको थियो । त्यसको सात वर्षपछि अर्थात् २०१० सालमा दोस्रोपटक र २०१४ सालमा तेस्रोपटक स्थानीय निकायको चुनाव भएको इतिहास छ । विसं २०१४ मा गाउँपञ्चायत र २०१८ मा नगरपञ्चायतको निर्वाचन भएको आयोगले जनाएको छ । विसं २०१० को निर्वाचनमा काठमाडौँ–८ बाट साधना प्रधान जनप्रतिनिधि निर्वाचित भएकी थिइन् । प्रधान नै पहिलो निर्वाचित महिला जनप्रतिनिधिका रुपमा स्थापित छिन्। आयोगका अनुसार नगरपञ्चायत निर्वाचन २०१९ जेठदेखि विभिन्न मितिमा, जिल्लासभा र जिल्ला पञ्चायत निर्वाचन २०१९ सालदेखि विभिन्न मितिमा, अञ्चलसभा र अञ्चल पञ्चायत निर्वाचन २०२० सालदेखि विभिन्न मितिमा सम्पन्न भएका थिए । विसं २०३९ वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते गाउँपञ्चायत तथा नगरपञ्चायत, २०३९ साल असार २ गते जिल्ला पञ्चायत, २०४३ साल चैत ७ र १० गते गाउँ पञ्चायत तथा नगरपञ्चायत एवं २०४४ साल वैशाख २६ गते जिल्ला पञ्चायतको चुनाव भएको थियो । प्रजातन्त्रको पुनःस्थापनापछि स्थानीय निकायको निर्वाचन २०४९ जेठ १५ र १८ गते गाउँविकास समिति तथा नगरपालिका निर्वाचन भएको थियो । विसं २०४९ असार १३ गते जिल्ला विकास समिति निर्वाचन, २०५४ जेठ ४ र १३ गते गाउँपालिका र नगरपालिका निर्वाचन तथा २०५४ असार २७ गते जिल्ला विकास समितिको चुनाव भएको थियो । विसं २०६२ माघ २६ गते पनि नगरपालिका निर्वाचन गरिए पनि त्यसले राजनीतिक रुपमा वैधानिकता पाउन सकेन । संविधानसभाबाट संविधान बनेपछि २०७४ सालमा स्थानीय तहको निर्वाचन गरियो । विसं २०७४ को वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा निर्वाचन गरिएको थियो । सो निर्वाचनमा ५७ राजनीतिक दलले भाग लिएका थिए जसमध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रहेको थियो । स्थानीय तहको निर्वाचनमा २३३ स्वतन्त्रसहित ३५ हजार ४१ जनप्रतिनिधिको निर्वाचित भएका थिए । त्यस निर्वाचनका लागि एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता कायम भएकामा एक करोड चार लाख ८९ हजार २०४ ले मतदान गरेको आयोगको विवरणमा उल्लेख छ । मुलकमा हाल छ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तह र छ हजार ७४३ वडा छन् । यही वैशाख ३० गने हुन लागेको निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । कूल मतदातामध्ये पुरुष ८९ लाख ९२ हजार १०, महिला ८७ लाख ४१ हजार ५३० र अन्य १८३ जना छन् । जनप्रतिनिधि चयन गर्ने सबैभन्दा उत्तम विकल्प मानिएको निर्वाचन आफैँमा राजनीतिक उत्सव र सामूहिक भावना अभिव्यक्त गर्ने महत्वपूर्ण चाडसमेत हो ।
Tags: