नख्खु बीले जित्यो ‘तेस्रो दशैं खसी कप’

Image
ललितपुर –झमेल रक्सद्वारा घटस्थापनाका दिन आयोजित तेस्रो दशैं खसी कप फुटसल नख्खु बी ले जितेको छ । ललितपुर महानगरपालिका वडा नं २ को मुख्य सहयोगमा सम्पन्न तेस्रो दशैं खसी कपको पहिलो सेमिफाइनलमा नख्खु (बि)ले सरस्वती युवा परिवार,युलाखेललाई हराएर फाइनल पुगेको थियो भने दोस्रो सेमिफाइनलमा नख्खु (ए) ले फिल्ड फुटसल, सानेपालाई हराएर फाइनल पुगेको थियो। फाइनलमा नख्खु (बि)ले नख्खु (ए)लाई हराएर प्रथम भएको हो । कार्यक्रमका विजयीलाई प्रमुख अतिथि लपुमनपा २ नम्बर वडाका अध्यक्ष राजेश कुमार महर्जनले खसी हस्तान्तरण गरेका थिए। सो अवसरमा वडा सदस्यहरू सुजिता नेपाली, अनिता विष्ट, वडाका सल्लाहकारहरू चिरञ्जीवी विष्ट, कपिल घिमिरे, मनोज गिरि, प्रहरी प्रभाग सानेपाका प्रहरी निरिक्षक पुरुषोत्तम कार्की, नेप्सेम्याक सेवा प्रालिका लक्ष्मीप्रसाद गेलाल, सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाका अध्यक्ष दान बहादुर थापामगर लगायतले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए। करिब ९ घण्टा सम्म चलेको खेलमा १९ टिम सहभागी थिए। प्रतियोगितामा प्रथम हुनेले ३० केजीको खसीसहित नगद रू. १० हजार र प्रमाणपत्र तथा मेडल प्राप्त गरेको छ, भने दोस्रो हुनेले २८ केजीको बोकासहित नगद रू. ५ हजार र प्रमाणपत्र एवम् मेडल प्राप्त गरेको छ । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई एक एक क्रेट अण्डा र नगद रू. १ हजार उपलब्ध गराइएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा वडा अध्यक्ष महर्जनले खेलाडीहरू विदेश पलायन हुनु अत्यन्तै दुखद भएको बताउँदै खेलाडीले देशमै जीवन गुजारा गर्न सक्ने गरी तीनै तहमा सरकारले योजना बनाएर काम गर्नुपर्ने बताए।
Tags: