रुपान्तरणको एजेण्डासहित एसिया प्यासेफिक संयोजकमा भिड्दै डिपी कँडेल

Image
काठमाडौं–गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी)को ११औं महाधिवेशन मंगलवारदेखि काठमाडौंमा शुरू हुँदैछ। यो महाधिवेशनले आगामी कार्यकाल सन् २०२३ –२०२५ का लागि नेतृत्व चयन गर्दैछ। महाधिवेशनबाट विभिन्न जिम्मेवारी लिने प्रतिस्पर्धी यतिबेला आफ्ना प्रतिबद्धता सहित मतदाता माझ पुगिरहेका छन्। जापानमा व्यवसाय गर्दै आएका एनआरएनए अभियन्ता डिपी कँडेल एसिया प्यासेफिक संयोजक पदमा उम्मेद्वारी दिने घोषणासहित आफूलाई प्रस्तुत गर्दैछन्। ‘रुपान्तरण सहितको साझा संस्था,परिवर्तनको लागि मेरो आवश्यकता’ भन्ने थिमका साथ उनले एसिया प्यासेफिक संयोजक पदमा आफ्नो उम्मेद्वारी दिएका हुन्। एनआरएनए आईसीसीले अख्तियारी गरेका कार्यक्रमहरु एसिया प्यासिफिक क्षेत्रमा रहेका एनसीसी समक्ष पुर्याइ पूर्ण कार्यान्वयन गर्नेतर्फ लाग्ने उनको प्रतिबद्धता छ।एसिया प्यासिफिक क्षेत्रभित्र रहेका एनसीसीमा रहेका समस्यालाई समाधान गर्न आफूले पहल गर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘यस क्षेत्रमा धेरै समस्या छन्, ती समस्या समाधाना लागि मेरो प्रयास रहनेछ, जटिल विषयलाई सुचीकृत गरी एनआरएनएमार्फत सम्बन्धित निकायसम्म पुर्याउन मैले पहल गर्नेछु।’ उनले थाइल्याण्ड र म्यानमारमा रहेका पिएनओका मागलाई पूर्ण कार्यान्वयनका लागि अहिले सम्बन्धित ठाउँमा कुरा पुर्याइसकेको र अब त्यसलाई पूर्ण कार्यान्वयनका लागि पुनः पहल गर्ने उनी बताउँछन्। सामाजिक सुरक्षा कोषलाई अझै थप प्रभावकारीरुपमा वास्तविक आवश्यकीय वर्गसम्म पुग्नेगरी कार्यन्वयनमा ल्याउन एसिया क्षेत्रको तर्फबाट पहल गर्ने उनी बताउँछन्। एसिया प्यासेफिक क्षेत्रको आफ्नै सचिवालय र बैंक खाता संचालन गर्ने, एसिया प्यासिफिक फण्ड स्थापना गर्ने, भइपरी आउने र अति विकट तथा विपन्न क्षेत्रका शिक्षा र स्वास्थ्यका लागि टेवा पुर्याउन प्रभावकारी पहल गर्ने उनको भनाइ छ। विदेशमा हुर्किँदै गरेका दोस्रो पुस्ताका एनआरएनएका रुपमा परिचित बालबालिकालाई मूलभूमी नेपालको भाषा÷कला तथा संस्कृतिबारे आवश्यक ज्ञान प्रदान गरि नेपालसंग जोड्ने विविध प्रभावकारी कार्यक्रमहरु संचालन गर्ने उनी बताउँछन्। सन २००८ देखिनै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएका कँडेलले विभिन्न समय र परिस्थितिमा पद सहित तथा पद भन्दा बाहिरै रहेर पनि एनआरएनए अभियानमा आफूले सकेको भूमिका निर्वाह गर्दै आएको उनी बताउँछन्। सन् २०१० – २०११ को एनसीसी जापानको केन्द्रीय कार्यसमिति सदस्य पदबाट औपचारिक संस्थागत जिम्मेवारीमा प्रवेश गरेका कँडेलले पुनः सन् २०११ –२०१३ कार्यसमितिमा पनि सोही पदमा दोहोर्याए। त्यसपछि सन् २०१७–२०१९ को एनआरएनए जापानको कार्यसमितिमा सल्लाहकारका रुपमा सक्रिय रहेका उनी सन् २०१९ –२०२१ मा निर्विरोध रूपमा आईसीसी सदस्य पदमा चयन पनि भए । कँडेल सन् २०२१–२०२३ कार्यसमितिमा एसिया प्यासेफिक संयोजकका रुपमा छन्। अघिल्लो पटकको अधिवेशनबाट प्राप्त अवसरले एसिया प्यासेफिक तथा समग्र एनआरएनए तथा त्यस भित्रका गतिविधि र आवश्यकताहरुलाई नजिकबाट बुझ्ने अवसर मिलेको र अब आउने कार्यकालमा आफ्ना योजनाहरु कार्यन्वयन गरि एनआरएनए अभियानमा केहि उपलब्धिहरु थप्न चाहेको उनको भनाइ छ।
Tags: