आज देखि महानगरले फोहोर छुट्याउने

Image
काठमाडौँ । काठमाडौँ महानगरले आज (आइतबार) देखि कुहिने र नकुहिने फोहोरलाई छुट्याएर संकलन गर्ने भएको छ । यसको लागि कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा र छुट्टाछुट्टै सवारी साधनमा संकलन गरिने भएको हो । यसका लागि फोहोर उत्पादकले तोकिएको दिनमा तोकिएबमोजिम प्रकृतिको फोहोर मात्र निकाल्नु पर्नेछ । यदि कसैले मिसिएको फोहोर निकाल्यो भने एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना हुने विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि ऐनलाई प्रभावकारी बनाउन लागिएको हो । ऐनमा फोहोरलाई स्रोतमै छुट््याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ । यसको जानकारीको लागि शनिबार सचेतना कार्यक्रम समेत गरिएको छ । त्यस क्रममा वडा १८, १९, २०, २४ र २५ वडामा पुगेर नागरिकहरुलाई महानगरको फोहोर बर्गीकरण सम्बन्धी कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । यस क्रममा इन्द्रचोक, मखन, यट्खा, नरदेवी, बाङ्गेमुढा, क्षेत्रपाटीलगायत क्षेत्रमा माइकिङ्सहितको सचेतना ¥याली पुगेको थियो । ¥यालीको समापन गर्दै वडा २५ का अध्यक्ष राजेश डंगोलले सहरी सभ्यताका लागि स्वच्छता अभियानमा साथ दिन वडाबासीलाई आग्रह गरे । विभागले शुक्रबार वडा १२, २१, २२, २३ लगायत क्षेत्रमा सचेतना कार्यक्रम सम्पन्न गरेको विभाग प्रमुख राईको भनाइ छ । जैविक फोहोरबाट गड््यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न सकिन्छ । पुन चक्रिय फोहोर कवाडी संकलकलाई बेचेर आय आर्जन गर्न सकिन्छ । महानगरले नागरिक दायित्वका विषयमा भनेको छ, ‘भान्छामा फोहोर उत्पादन हुने बेलामै कुहिने र नकुहिने गरी २ भागमा बाँड्न सकिन्छ । यसो ग¥यो भने त्यसपछि व्यवस्थापनका पक्षमा सजिलो हुन्छ । अब प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोग बढाउनुपर्छ ।’
Tags: