संस्थालाई बलियो बनाएर मातृभूमिलाई योगदान गर्न मेरो नेतृत्व : विनय अधिकारी

Image

काठमाडौं – आगामी अक्टुबर १७ देखि गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी)को ११औं महाधिवेशनमा हुने निर्वाचन प्रकृयाले चुन्ने नेतृत्व कस्तो आउला ? यसको जवाफ सजिलो छैन तर अध्यक्षका प्रत्यासी हेर्दा झन् रोचक बन्ने निश्चित छ। अध्यक्ष को दौडमा रहेका विनय अधिकारी तिनै बलिया उम्मेदवार हुन्, जसलाई प्रतिस्पर्धामा महत्वका साथ हेरिएको छ । नागरिकताको समस्या समाधानमा खरो रूपमा लागेका उनी अब एनआरएनएले नेपालमा लगानी भित्र्याउनु पर्ने कुरामा जोड दिँदै आएका छन्। उनले आफू नेतृत्वमा गए त्यसको सुनिश्चितता गर्ने भन्दै आफूसँग त्यसको योजना समेत रहेको बताउँछन् । उनले भने,‘मैले धेरै मुलुकमा पुगेर यस विषयमा छलफल चलाएको छु, एनआरएनएका पूर्व पदाधिकारी देखि वर्तमान कार्य समिति समेत यो कुरामा सहमत हुनुहुन्छ।’ एनआरएनएलाई राजनीतिक हस्ताक्षेपभन्दा बाहिर राख्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘अब संस्था र मुलुकको स्वार्थ ठूलो हो, कसरी मुलुकलाई योगदान दिन सकिन्छ, त्यो मेरो एजेण्डा हो, फरक गर्न कै लागि मैले नेतृत्व लिन खोजेको हो। एनआरएनएको हाल उपमहासचिव पदमा रहेका अधिकारीले अध्यक्ष भएपछी आफ्नो भूमिका कस्तो रहने नेपाली श्रमिकको हितलाई कसरी सिरोपर गर्ने भन्ने विषयलाई प्राथमिकतामा राखेको बताउँदै आएका छन्। उनले एनआरएनए सबैको साझा संस्था भएको अनुभूती गर्न पाउनु पर्नेमा जोड दिन्छन् । ‘ज्ञान सीप र नवप्रर्वधनका लागि, उत्तरदायी र पारदर्शीताका लागि, मुलुककालागि र गैर आवासीय नेपालीका लागि एनआरएनए आवश्यक छ,’ उनले भने। महिला, युवा, वैदेशिक रोजगारमा गएका नेपाली, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरू सहित आम गैरआवासीय नेपालीहरूले अपनत्व महसुस गर्ने संस्थाको रूपमा संघलाई रूपान्तरण गर्ने अभियान जारी राख्ने अधिकारीको प्रतिवद्धता छ । गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउने र सम्पूर्ण पंजिकृत सदस्यहरूलाई अनलाइनबाट मतदानको व्यवस्था गर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘आर्थिक दिगोपनका लागि प्रविधिमा आधारित वैकल्पिक स्रोतको पहिचान गर्ने तथा एनआरएनए फाउन्डेसन मार्फत युएन अन्तर्गतका संस्था र अन्तर्राष्ट्रिय परोपकारी संस्थासँग सहकार्य गर्नुपर्छ,जुन मेरो नेतृत्वमा सम्भव छ।’ सिमा समस्या, भुमण्डलीकरण र जलवायु परिवर्तनका विषयमा अन्तराष्ट्रिय मंन्चसम्म लैनाने संघको निर्वाचनलाई मर्यादित र मितव्ययी बनाउनेमा उनको जोड छ। उनी भन्छन्, ‘आर्थिक पारदर्शिता कायम गर्ने, अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनले राष्ट्रिय समन्वय परिषदलाई असर नगर्ने खालको निर्वाचन पद्दति अवलम्बन गर्नुपर्छ, म त्यसलाई कार्यान्वयनमा ल्याउछु।’

Tags: