एनआरएनए महाधिवेशन : ‘एनसीसी केन्द्रीत आईसीसी’ मेरो प्रतिबद्धता - सुवेदी

Image

दीपा रेग्मी । काठमाडौं – आगामी अक्टुबर १७ देखि गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी)को ११औं महाधिवेशनमा काठमाडौंमा सम्पन्न हुँदैछ। महाधिवेशनको संघारमा विभिन्न जिम्मेवारीमा पुग्नको लागि प्रतिस्पर्धा हुँदैछ । यही मेलोमा राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी वर्ष २०२३–०२५ को कार्यकालका लागि योजना र प्रतिबद्धतासहित सुवेदीले आफूलाई महासचिवको रूपमा अगाडि सारेका छन्। सुवेदी आफू संस्थाको लागि लामो समयदेखि काम गर्दै आएको र महासचिवको दाबी पनि संस्थाभित्र भूमिकाको खोजी भएको बताउँछन्। उनी भन्छन्, ‘अर्कोतर्फ मेरो जहिल्यै एनआरएनएलाई सबैले गर्व गर्न लायक संस्था बनाउनुछ, त्यो अभियानलाई साथ दिन मैले आफूलाई महासचिवको रूपमा अगाडि सारेको हुँ।’ संस्थालाई संस्थागत बनाउन महासचिवको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ । ‘एनआरएनए आज जुन अवस्थामा आएको छ, त्यसका पछाडि दुई दशक लामो यसको इतिहासमा धेरैको योगदान छ। यो संस्थाप्रतिको धेरैको अपेक्षा छ, सपना जोडिएको छ, यो संस्था हाम्रो हो भन्ने बनाउनु छ,’ उनले भने,‘ महासचिवको रूपमा मैले जिम्मेवारी पाएको अवस्थामा अध्यक्ष ज्यूको नीति तथा योजनाको कार्यान्वयन गर्दै एनआरएनएको सचिवालयलाई हाँक्नको लागि मेरो भूमिका रहन्छ।’ पछिल्लो समय आईसीसीमा देखिएको विवादका कारण संस्थाले राम्रोसँग काम गर्न नपाएको उनको बुझाइ छ। उनले आईसीसीको विवाद समाधानका लागि विश्वभरका एनसीसीका प्रेसिडेन्टमध्येबाट उनलाई समन्वयकारी भूमिकाको लागि जिम्मेवारी पाएका थिए। उनी एनआरएनए अमेरिकाको अध्यक्षको जिम्मेवारीमा रहँदा धेरै काम भएको बताउँछन्। ‘झोलामा सञ्चालन भइहेको संसारकै सबैभन्दा ठूलो एनसीसी अमेरिकाको आफ्नै भवन बनेको छ, ’ उनले भने, ‘म एनसीसीमा पुग्दा विभिन्न च्याप्टरका जिम्मेवारी पूरा गर्दै आएको हुँ। एनसीसी अमेरिकाको प्रेसिडेन्ट हुँदा ७०० भन्दा गतिविधि मेरो कार्यकालमा भएका छन्। यी सबै अनुभव र मेरो ऊर्जालाई आईसीसीमा पनि लगाउनको लागि महासचिवमा मेरो उम्मेदवारी हो।’ उनी आफूसँग क्लियर भिजन रहेको, पद र नाम लेखाउनको लागि मात्र जिम्मेवारीमा दाबी नगरेको बताउँछन्। उनी महत्वकाक्षी बनेर एनसीसी पछि सिधै आईसीसीको महासचिवमा जान खोजेको भन्ने आलोचना पनि सुनिन्छ । सुवेदी भन्छन्, ‘एनआरएनए स्वमसेवी संस्था हो। यसमा जिम्मेवारी पाउन र नेतृत्व लिनको लागि यो चरण पार गर्नुपर्नेभन्दा पनि काम गर्ने क्षमता, भिजन र समय दिनुपर्ने महत्वपूर्ण कुरा हो। मेरो जिम्मेवारीमा सबैले मेरो भूमिका माथि सबैले गर्व गर्र्न लायकको काम गर्ने मेरो प्रतिबद्धता रहन्छ।’ एनआरएनएलाई चुनावमूखी र बाहिर हेर्ने दृष्टिकोण हेर्दा संस्था राजनीति गर्ने थलो हो भन्ने मात्र बुझाइ भएको उनको भनाइ छ । ‘मेरो भूमिका राजनीति, चुनावमूखी भन्दा बाहिर लगेर एआरएनएलाई एनसीसीमूखी बनाउन मेरो प्रयत्न रहनेछ,’ उनले भने । एनसीसी केन्द्रित बनाएर तलबाट माथि लिएर गयौं भने मात्र एनआरएनएमा प्रभावकारीता आउने उनको तर्क छ । उनले भने, ‘यसलाई राजनीतीकरणबाट बाहिर ल्याउनको लागि हामी सच्चिन जरुरी छ। हामीहरू कुनै न कुन राजनीतिक पृष्ठभूमि र आस्थाका हौंला तर त्यसलाई एनआरएनए भित्र ल्याउनु हुँदैन।’ सुवेदीले आफ्ना प्रतिबद्धतामा एनआरएनलाई आमुल परिवर्तन गर्नको लागि आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने उल्लेख गरेका छन् । एजेण्डा स्थापित गर्न र वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग आवश्यक संवाद मार्फत कार्यान्वयन गर्न, महिला, युवा लगायत दोश्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने उनको प्रतिबद्धता छ । नेपाली कला संस्कृति, संस्कार अनि परम्परालाई नेपाली डायस्पोरामा पुर्याउन, गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिहरुको पारदर्शितारूपमा सुरुवात गर्दै सचिवालय सञ्चालन गर्ने र अनावश्यक आर्थिक चलखेल र अनियमितालाई रोक्ने र नियन्त्रणको निम्ति पारदर्शीरुपमा सार्वजनिक गर्न, अनावश्यक कर्मचारी समेत कटौती गर्न आफ्नो उमेद्धवारी रहेको उनकोे भनाइ छ ।  

Tags: