भारतद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

Image
काठमाडौं – ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको रू. १ करोड ९२ लाख आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाट्न गरिएको छ । भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले बुधबार संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरी औपचारिक रूपमा हस्तान्तरण गरेका छन् । सो उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो । भारत सरकार र नेपाल सरकारबीच भएको एक सम्झौताअनुरुप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा निर्माण गरिएको हो । जिल्ला समन्वय समिति, काठमाडौंले यस परियोजनाको कार्यान्वयन गरेको हो । उद्घाटन समारोहमा बोल्दै दूतावासका नियोग उप–प्रमुख श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरे । साथै उनले दुई देशबीचको यो साझेदारीले पछिल्ला वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए । उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरुप र दुवै देशका जनताको हितका निमित्त दुई देशबीचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैं प्रतिबद्ध रहेको बताए । महेन्द्र राष्ट्रिय विद्यालयको स्थापना जागरुक शिक्षकहरुको संयुक्त प्रयासमा सन् १९५६ मा खुला मैदानमा प्राथमिक विद्यालयको रुपमा भएको थियो । यस विद्यालयमा हाल ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ५० प्रतिशत छात्रा छन् । सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकामा ४८३ वटा सम्पन्न भइसकेका छन् ।
Tags: