दिनको १० लाख खर्चिएर सदनमा नाटक मञ्चन हुन्छ : सांसद तिवारी

Image

नारायण न्यौपाने ।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ लक्ष्मी तिवारीले मुलुकमा अहिले उठिरहेका प्रमुख एवं समसामयिक मुद्दालाई सदनमा निरन्तर प्रवेश गराउन कोसिस गरिरहेको बताउँछिन्। तर सदनको प्रभावकारीता नाटक मञ्चन जस्तै लाग्छ । ‘हामीलाई समय दिइन्न, पाइनुपर्ने समय पनि घटाइन्छ, प्रश्नको जवाफ आउन्न, अहिले सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ , ’ सांसदसँग रासस संवादमा नेतृ तिवारीले भनिन्, ‘सदनका नाममा राज्यको ढुकुटीबाट दैनिक रु १० लाख खर्च भए पनि त्यहाँ हुने सबै गतिविधि बजेट सक्न गरिएको नाटक मञ्चनजस्तो भान भएको छ।’ उनले उठाइएका सवालको पनि सुनुवाइ नभएको बताइन्। ‘नियत ठीक भए हामीले बोल्नै पर्दैन, उठाइएका विषयको सुनुवाइ छैन, एक दिन बैठक हुन्छ, पाँच दिन खाली ! यो बीचमा जिल्ला पुग्न पनि गाह्रो छ । यहाँ बसौ विजनेस दिइन्नँ, सदन चल्दैन,’ उनले भनिन्। भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गर्दै सुशासन प्रवर्द्धनलाई मुख्य मुद्दा बनाएर छोटो राजनीति अभ्यासबाट सदनमा प्रवेश गरेको रास्वपालाई सरकारका काम र अहिले सदनमा भइरहेको अभ्यास चित्त नबुझेको सांसद तिवारीको भनाइ छ । सामाजिक अभियन्तासमेत रहेकी उनले १५ वर्षदेखि व्यक्तिगत तथा सङ्घसंस्थामा आबद्ध भई सामाजिक विकास, सचेतना, मानवअधिकार तथा महिला अधिकार र विविध मुद्दामा पैरवी गर्दै आएकी छिन् । आमाको नामबाट नागरिकता दिलाउने व्यवस्थाका लागि लामो समय सङ्घर्ष गरेकी उनी यतिबेला भने त्यही कानून बनाउने प्रमुख थलो सदनमा छिन्। मुलुकमा भएका संविधान र कानुनको पहिले कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै नेतृ तिवारी भनिन्, ‘विद्यमान कानून कार्यान्वयनमा जाँदा कुन जाति, भाषा, धर्म, व्यक्ति र समुदायलाई अप्ठेरो पर्यो, त्यसका आधारमा नयाँ कानुन बनाएर जान सकिन्छ, तर पहिले भइरहेका कानून त कार्यान्वयन गरौँ ।’ संसद्मा प्रवेश पाएको विधेयक संसदीय समितिमा गहन छलफल गरी सदनमा लैजानुपर्नेमा स्वाभाविक प्रक्रियाका चरण नै उल्लङ्घन भएको आरोप लगाउँदै नेतृ तिवारीले नयाँ कानून बनाउँदासमेत आवश्यक छलफल र बहस हुन नसकेको प्रतिक्रिया दिइन् । सदनमा रास्वपाका सांसदहरूले राष्ट्र, राष्ट्रियता र जनहितका मुद्दालाई प्रखररूपमा उठाइरहेको दाबी गर्दै उहाँले आफूहरूले जनताका आवाज उठाएकाले त्यसलाई सम्बोधन गर्नु राज्यको प्राथमिक दायित्व भएको धारणा राखिन्। पहिलोपटक सदनमा पुगेकाले अभ्यासका क्रममा आफूहरूबाट पनि कतिपय कमी–कमजोरी हुनसक्ने उल्लेख गर्दै सांसद तिवारीले प्रारम्भिक दिनको तुलनामा अहिलेसम्म आइपुग्दा अनुभवले धेरै निखारपन आएको विचार प्रकट गरिन्। उनले भनिन्, ‘हामी चाहन्छाँै, जनता र देशको सर्वाेत्तम हित होस्, त्यसका लागि प्राप्त हुने सबैको सहयोग, सुझाव र असल अभ्यासलाई ग्रहण गर्छाँै, निरन्तर आवाज उठाउँछौँ ।’ भ्रष्टाचार र सुशासनका मुख्य एजेण्डा कार्यान्वयन गराउन पार्टी अडिग रही आवाज बुलन्द गरिहेको बताउँदै सांसद तिवारीले नागरिक पनि राज्यबाट प्राप्त हुने सेवा–सुविधा लिने प्रक्रियाबारे जानकार हुन आवश्यक रहेको धारणा राखिन्। उनले एउटा जनप्रतिनिधिका रूपमा आफूले निरन्तररूपमा सामाजिक मुद्दा, मानवअधिकार, महिला अधिकार तथा न्यायका लागि आवाज उठाइरहने बताइन्। संविधानले महिलाको हक तथा अधिकारका लागि सकारात्मक व्यवस्था गरे पनि कार्यान्वयन चरणमा अझै समस्या रहेको बताउँदै नेतृ तिवारीले महिलालाई बोल्न दिइए पनि अवसरबाट बञ्चित गरिँदै आएको घटना सुनाइन्। महिला, बालकालिका, ज्येष्ठ नागरिक र युवासमेत आधारभूत र असल शिक्षाको अभावमा जीवन नै बर्बाद हुने गलत बाटोमा संलग्न भइरहेका उदाहरण प्रस्तुत गर्दै नेतृ तिवारीले सामाजिक अभियानका माध्यमबाट पनि त्यसमा सुधार ल्याउन सकिने अनुभव सुनाइन्। उनले भनिन्, ‘देशले अवलम्बन गरेको हालको शिक्षा नीति ठीक छैन, मुलुकमै बसेर राष्ट्रसेवा गर्नेभन्दा विदेश पलायनका लागि युवा विद्यार्थीलाई प्रेरित गरिरहेको छ, यसमा व्यापक सुधारको खाँचो छ।’ जनताले विकल्पसहितको परिवर्तन खोजेकाले पुराना दलकै कारण युवाले राजनीतिमा प्रवेश पाएका प्रसङ्ग उल्लेख गर्दै उनले साँच्चिकै देश निर्माणको अभियानमा जुट्ने हो भने युग सुहाउँदो कानुन निर्माणका साथ पुरानाका अनुभव र नयाँपुस्ताको गतिलाई पक्रनुपर्ने बताइन्।

Tags: