अर्थमन्त्री डा. महतद्वारा आएएफसी उपाध्यक्षसँग भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल

Image
मोरक्को – मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसंग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन् । उक्त बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भएको बताइएको छ । उक्त बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तिय उपकरण (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना विकास गर्न आइएफसिले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ । अर्थमन्त्री डा. महतले नविनतम वित्तीय उपकरणमार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पूँजी आकर्षित गर्न आईटी, कृषि–व्यवसाय, पर्यटन र अन्य स्टार्टअपहरू जस्ता क्षेत्रमा लगानी विविधिकरण गर्न नवीन वित्तिय उपकरणहरू परिचालन गर्नुपर्ने विषयमा जोड दिएका थिए। खासगरी विदेशी विनिमय जोखिमको कारणले आइएफसीमार्फत प्रवाह हुने कर्जाको विद्यमान लागत न्युनिकरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आएएफसिले आइडिएको सहुलियत विन्डो (निजी क्षेत्र विन्डो) लाई ब्लेन्डिङ फाइनान्सको रूपमा उपयोग गर्न साथै इक्वीटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए । बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसदमा पेश गर्न लागेको जानकारी गराउदै कर्जा सूचना व्यवस्थापन सम्बन्धी कानून निर्माणमा आएएफसिको चासोलाई सम्बोधन गर्ने उनले प्रतिवद्धता जनाए । साथै स्थानीय मुद्रामा आधारित बन्डमार्फत थप पुँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहल सम्बन्धमा जानकारी गराए । अर्थमन्त्रीले आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण बिषय समावेश हुने विश्वास व्यक्त गरे । आइएफसीका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रवद्र्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको विषयमा सह्राना गरे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमार्फत बाह्य पूँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानूनी आधार रहेको बताउँदै नेपाल राष्ट्र बैंकले सो प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरे । उक्त अवसरमा अर्थमन्त्री महतले आइएमएफ तथा विश्व बैंक दक्षिण पूर्व एसिया क्षेत्रका कार्यकारी निर्देशक विम्वी सायुगा र याटी कुर्नियाटीसँग द्विपक्षीय हितका विषयमा वार्ता गरेका थिए ।
Tags: