स्थानीय तहलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने संकल्प

Image
बुटवल– रुपन्देहीका निर्वाचित पालिका प्रमुखहरुले स्थानीय तहलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने संकल्प गरेका छन्। बुटवल उपमहानगरसहितका नगरपालिका र गाँउपालिकाका प्रमुख उपप्रमुखहरुले बिगतमा जस्तो स्थानीय सरकारमा बेथिति र अनियमितता यसपाली हुन नदिने बताएका हुन्। नेपाल प्रेस युनियन रुपन्देहीले निर्वाचित जनप्रतिधिसंग शुक्रबार बुटवलमा गरेको अन्तरसंवाद कार्यक्रममा बोल्ने नगरप्रमुख तथा गाँउपालिका अध्यक्ष उपाध्यक्षहरुले स्थानीय सरकारबाट कुनै कमिकमजोरी भएपनि त्यसलाई ढाकछोप नगर्न पत्रकारहरुलाई आग्रह समेत गरे। प्रमुख उपप्रमुखहरुले आफुहरुबाट अनियमितता र बेथिति हुन नदिने प्रतिवद्धता जनाउँदै कतै कमीकमजोरी भएको जानकारी पाए त्यसलाइ ढाकछोप नगरी तुरुन्त औल्याइदिन पनि पत्रकारहरुलाई आग्रह गरे। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवलको भौतिक र मानविय विकास गर्दै नगरलाइ सुशासनमा उत्कृष्ट नगर बनाउने बताए। नगरको विकास संगै नगरबासीले भोग्नु परेका बिभिन्न समस्यामा आफुले निरन्तर चासो दिएर कामहरु गरीरहेको भन्दै उनले संघीय सरकारबाट भइरहेका बुटवल गोलपार्क सडक बिस्तार,ज्योतीनगरको पहिरो नियन्त्रणकालागि सम्बन्धित निकायलाइ झकझकाउने काम पनि गरीरहेको बताए। उनले सुशासनलाई पहिलो प्राथमिकता दिएर जनताको माग र आवश्यकताका आधारमा योजना छनौट गरी सोही अनुरुपको बजेट पारित गरेको जानकारी गराए। तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले निर्वाचित हुँदा नेपाली काँग्रेसबाट भएपनि हाल नगरबासीको साझा जनप्रतिनिधिका रुपमा काम गरीरहेको बताए। यसअघिको स्थानीय सरकारले गरेका अनियमितता र बेथितिका कारण नगरबासीमा निरासा धेरै देखिएको भन्दै उनले त्यसलाइ चिरेर नगरलाइ सुशासनयुक्त बनाउने बताए। नगरमा कानुन विपरितका कुनै कार्य आफूले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने भन्दै उनले भ्रष्टाचारलाई रोक्न सके नगरलाइ सुन्दर,समुन्नत र विकसित बनाउने अभियान पनि सफल हुने बताए। सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले पत्रकारहरुलाई जनप्रतिनिधिबाट कमिकमजोरी भए त्यसप्रति बेलैमा खबरदारी गरिदिन आग्रह गरे। सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अघिल्लो सरकारका पालामा भएका बेथितिको अन्त्य गर्दै सिद्धार्थनगरलाई समुन्न र समृद्ध नगर बनाउने बताए। जनताको सेवकको रुपमा राम्रो काम गर्दा पनि राजनीतिक प्रतिशोध साँध्ने प्रवित्ति देखिएको भन्दै उनले त्यस्ता गलत प्रबृत्तिलाई निस्तेज पार्दै नगरबासीको पक्षमा काम खुट्टा नकमाउने बताए। सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जनप्रतिनिधिबाट कुनै गलत काम भए त्यसलाइ तत्काल औल्याइदिन र भएका राम्रा कामलाइ प्रोत्साहन गर्न संचारकर्मीहरुलाई आग्रह गरे। सुद्धोधन गाँउपालिकाका अध्यक्ष बिष्णु बस्याल,सम्मरीमाइ गाँउपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तव,सियारी गाँउपालिकाका उपाध्यक्ष तारा चौधरी लगायतले बोल्दै सुशासनलाई पहिलो प्राथमिकतामा राखेर आफूहरुले जनताको माग र आवश्यकता अनुरुप अगाडी बढेको बताए। स्थानीय तहरुलाइ जिम्मेबार र जवाफदेखि बनाउन संचार क्षेत्र सधै प्रतिपक्षको भुमिकामा रहने भन्दै पत्रकारहरुले जनताको माग र आवश्यकता अनुरुपका योजना र कार्यक्रम ल्याउन र भ्रष्टाचार बिरुद्ध सुन्य शहनसिलताको नीति कार्यान्वयन गर्न जनप्रतिधिहरुलाई सुझाव दिएका थिए।
Tags: