बजारमा हुने विकृति नियन्त्रण गर्न सरकार क्रियाशिल छः मन्त्री रिजाल

Image
काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा, कृतिम अभाव, गुणस्तर अभाव लगायतका समस्या न्यूनीकरण गर्ने सरकार सधैं तयार रहने बताएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती कार्यालयले आइतवार काठमाडौंमा आयोजना गरेको सुपथ मूल्य पसल उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकाहुन्। उनले भने, ‘सुपथ मूल्य पसल यही प्रयासको निरन्तरता हो, चाडपर्वमा खाद्यान्नको खपत बढी हुने र यही समयमा विकृति समेत बढ्ने भएकाले यसलाई नियन्त्रण गर्न सुपथ मूल्य पसल सहयोगी बन्छन्।’ उनले सरकारले चाडपर्व लक्षित अनुगमनलाई पनि अगाडि बढाइरहेको र गलत कार्य गर्नेलाई सरकारले निमर्म भएर कारबाही गर्ने बताए। उनले सुपथ मूल्य पसलले सरल, सहुुलियत र सर्वसुलभ खाद्यान्नको उपलब्धतालाई प्राथमिकता राखेको बताए। सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले राज्यले सुपथ मूल्य सञ्चालन गर्ने अभ्यास अन्तरराष्ट्रिय अभ्यास रहेको र यसले बजार नियन्त्रणमा सहयोग गर्ने बताए। दुर्गम क्षेत्रमा आपूर्ति व्यवस्था मिलाउनको लागि सरकारले पहल गरेको बताए। उनले मूल्य नियन्त्रणलाई ध्यानमा राखी उपभोत्तालाई प्राथमिकता दिन आग्रह गरे। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द ४३ जिल्लाका ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको बताए। चिउरा, चामल लगायत खाद्यान्नमा प्रतिकिलो ७ रूपैयाँ, कर्णालीको सिमी लगायतका गेडागुडीमा प्रति किलो १० रूपैयाँ र खसी, च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छूट दिने उनको भनाइ छ। ‘यो सिम्बोलिक मात्र हो, राज्यले नागरिकलाई सेवा दिन र लोककल्याणकारी राज्यको उपस्थिति सुनिश्चितताको लागि यो सुपथ मूल्य सञ्चालनमा ल्याएका हौं। अहिले हामीले पसलको दायरा पनि बढाएका छौं,’ उनले भने,‘पोर्टलबाट अर्डर लिने र सेवा प्रदायकसँगको समन्वयमा सामग्री डेलिभरी गर्छौं, आवश्यकतालाई हेरेर घुम्ती पसल सञ्चालन गर्छौं।’ खाद्य बागमती कार्यालयकी प्रमुख ज्ञानु थापाले नागरिकलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन र मूल्य स्थिरीकरणमा सहयोग गर्ने बताइन्।
Tags: