चोरी पैठारी नियन्त्रण तथा राजस्व चुहावट विषयमा छलफल

Image
काठमाडौं– चोरी पैठारी नियन्त्रण तथा राजस्व चुहावटका साथै राजस्व विभागसँग सम्बन्धित समसामयिक विषयमा उद्योगी व्यवसायी र विभागका महानिर्देशक नवराज ढुंगानाबीच उद्योग संगठन मोरङमा छलफल भएको छ । छलफलमा संगठनका अध्यक्ष राकेश सुरानाले नियतवश हुने कसुर तथा भुलवश हुने गल्ती छुटयाई अनुसन्धानपश्चात मात्र कारवाही अगाडी वढाउन विभागका महानिर्देशकलाई आग्रह गरे । शंका कै आधारमा व्यवसायीमाथि भइरहेको धरपकडले व्यवसायीको सामाजिक प्रतिष्ठामा आँच आई डर र त्रासको वातावरण सिर्जना भई लगानी संकुचित हुदै गएको उनले वताए । राज्यले गैर कानुनी कारोवारलाई निरुत्साहित गर्दा कानुनको अधिनमा रही व्यापार व्यवसाय गर्दै आएकाहरुको प्रोत्साहित गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । विभागका महानिर्देशक नवराज ढुंगानाले राजस्व चुहावट तथा चोरी पैठारी नियन्त्रणका लागि सरकार र नीजि क्षेत्रको सामुहिक प्रयास र विश्वासको वातावरण हुनुपर्ने वताए । आगामी दिनमा आन्तरिक व्यापार वित्तीय क्षेत्रको सुधारको अपेक्षा गर्दै कानुन सम्मत व्यसायक गरी राजश्वको लक्ष्य प्राप्तीमा सबै क्षेत्रको सहयोगका लागि अनुरोध गरे । उनले व्यापार र उत्पादन लागत घटाउन सुधारको आवश्यकता औल्याउँदै यसका लागि सरकार र निजी क्षेत्र दुवै जिम्मेवार हुनुपर्ने धारणा राखे । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भन्सारबाट सबै प्रकृया पुरा गरी छुटेका सामानलाई बिच बाटोमा चेकजाँच गर्ने परिपाटीको अन्त्य गरी एउटै स्थान र निकायबाट सम्पूर्ण प्रकृया पुरा हुने व्यवस्था गर्न आग्रह गरे । संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले गैरकानुनी कृयाकलापमा संलग्न र कानुनसम्मत कारोवार गर्नेलाई राज्यले समान प्रकृतिको व्यवहार गर्दा निजी क्षेत्रको मनोवल घटदै गएको प्रति ध्यानाकर्षण गराउदै व्यवसायमैत्री वातावरण वनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष पवन शारडा, संगठनका उपाध्यक्ष, कार्यसमिति सदस्य, मोरङ व्यापार संघ, इनरुवा, ईटहरी, झुम्का, सुनसरी उद्योग वाणिज्य संघ अध्यक्ष एवं राजस्व अनुसन्धान विभागका प्रतिनिधि र उद्योगी व्यवसायीको उपस्थिति थियो ।        
Tags: