लायन्समा ‘डिस्ट्रिक्ट ३२५ आई’ विश्वकै उत्कृष्ट घोषित, सबैको साथले सम्भव : गभर्नर केसी

Image
काठमाडौं – लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आईले विश्वकै उत्कृष्ट डिस्ट्रिक्ट घोषित भएको छ। विश्वभरका ८०० भन्दा धेरै डिस्ट्रिक्ट मध्ये डिस्ट्रिक्ट ३२५ आई उत्कृष्ट भएको हो। डिस्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीले लायन्स अन्तरराष्ट्रियको मिसनमा उत्कृष्ट भूमिका खेलेबापत उत्कृष्ट घोषित भएको बताए। लायन्स अन्तरराष्ट्रियले यो वर्षलाई ‘मिसन १.५’ भनेर शुरू गरेको छ। ‘जति धेरै सदस्य भयो त्यति धेरै सर्भिस गर्न सकिन्छ भन्ने मान्यताका साथ लायन्सले १५ लाख सदस्य थप्ने योजना अनुसार यो मिसन शुरू गरेको हो। नेपालमा पनि हामीले ‘मोर एण्ड मोर सर्भिस’को अवधारणा अनुसार काम गर्दै आएका छौं, ’ गभर्नर केसीले भने। विश्वभर रहेका लायन्सका ८०० भन्दा धेरै डिस्ट्रक्ट मध्ये डिस्ट्रिक्ट ३२५ आईले ३० भन्दाबढी क्लब खोलेर विश्वमा सबैभन्दा बढी क्लब खोल्ने डिस्ट्रिक्टमा परेका उनको भनाइ छ। ‘सर्भिस र रिर्पोटिङमा पनि विश्वभरका अन्य डिस्ट्रिक्टभन्दा हामी अगाडि छौं। लायन्सले सर्भिसलाई प्राथमिकता दिन्छ, सदस्यता विस्तारसँगै हाम्रो क्लबले गरेका गतिविधि पनि उत्कृष्ट भएका छन्,’ उनले भने,‘फण्ड रेइजमा हाम्रो जस्तो मुलुकले गति लिन सकेको छैन, त्यसबाहेकमा हाम्रो उत्कृष्ट मूल्यांकन छ।’ पहिलो प्राथमिकता देश र त्यसपछि मात्र लायन्स भएको भन्दै उनले विश्वभरका १४ लाख लायन्सका सदस्यलाई नेपाल उत्कृष्ट भनेर चिनाउन सफल भएको बताए। ‘यो मेरो एक्लो प्रयासभन्दा पनि डिस्ट्रिक्टको टिम, हाम्रा क्लबको सक्रियता र सुभेच्छुकको साथ र सहयोगबाट सम्भव भएको हो, उपलब्धिका हिसावले यो नेपालकै उपलब्धि हो,’ उनले भने। डिस्ट्रिक्ट ३२५ आईअन्तर्गताके क्लब लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिनकी चार्टर प्रेसिडेन्ट कल्पना बस्नेतले यो उपलब्धीमा क्लबहरू पनि गर्व गर्न पाइएको भन्दै आगामी दिन थप सक्रिय बन्न ऊर्जा मिलेको बताइन्। उनले भनिन्, ‘डिस्ट्रिक्ट गभर्नरको सक्रियता र अभिभावकत्वले हामीलाई सक्रिय रहन हौसला मिल्दै आएको छ, डिस्ट्रिक्ट ३२५ आईको यो उपलब्धीले थप हौसाएको छ।’
Tags: