नक्साल शक्तिको ‘फेस्टिभल एक्स्पो’, ४० स्टलको सहभागिता

Image
काठमाडौं– रोटरी क्लब अफ नक्साल शक्तिको आयोजनामा ‘फेस्टिभल एक्स्पो’ शुक्रवार शुरु भएको छ । काठमाडौंको कालिकास्थानमा रहेको ‘अमृतभोग ब्याङ्केट’मा एक्स्पोको उद्घाटन रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्र धोजुले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा गभर्नर धोजुले सामाजिक क्षेत्रमा रोटरीले गर्दै आएको कामको बारेमा रोटरीमा संलग्न नभएकाहरूले पनि जानकारी राख्नुपर्नेमा जोड दिए। एक्स्पो जस्ता आर्थिक क्रियाकलापसँग जोडिएका गतिविधिबाट रकम संकलन गरी सामाजिक काममा खर्चने रोटरीको अभ्यास रहेको भन्दै नक्साल शक्तिले एक्स्पोको आयोजना गरेको प्रति प्रशंसा गरे। क्लबका चार्टर प्रसिडेन्ट डा.लुना अर्यालले क्लबले एक्स्पोमा ४० स्टलको सहभागिता रहेको जानकारी दिइन्। फरक फरक सामग्रीको स्टल रहेको कारण अवलोकनकर्ताले एक्स्पोबाट धेरै लाभ लिन सक्ने उनको भनाइ छ। फरक फरक व्यवसाय र उत्पादनसँग जोडिएका स्टल भएकाले पनि एक्स्पोको प्रभावकारिता बढी देखिएको उनले बताइन्। उनले रोटरी र रोटरीसँग जोडिएका अवलोकनकर्ताको उपस्थिति बढी देखिए पनि तुलनात्मक रूपमा अन्य अवलोकनकर्ताको उपस्थिति कम देखिएको बताइन्। ‘हामीले आयोजना गरेको एक्स्पो विशेष गरी रोटरीयन केन्द्रित छ, त्यसमा पनि केही सामाजिक दायित्व पूरा गर्ने उद्देश्यका साथ सामान्य सहभागी र लक्ष्यका साथ एक्स्पोको आयोजना गरेका हौं, ’ उनले भनिन्, ‘यस्ता एक्स्पोमा आर्थिक कारोबार कम भएपनि व्यवसायी र रोटरीयनबीचको सम्बन्ध विस्तार तथा व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्छ ।’ एक्स्पोबाट उठेको रकम दुर्गम भेकका विद्यालयमा छात्रामैत्री शौचालयमा खर्चने योजना रहेको उनको भनाइ छ । ‘जहाँ शौचालयको सुविधा छैन र जसको कारण छात्राहरू आफूलाई स्वास्थ्यका दृष्टिले असुरक्षित महसुस गर्दैछन् , हामीले त्यस्तो ठाउँमा सहयोग गर्दैछौं,’ उनले भनिन्, ‘केही रकम समुदायस्तरमा गएर घरेलु हिंसा र कानूनी अधिकारका सन्दर्भमा सहयोग पुग्ने गरी सूचनाको हकको क्षेत्रमा अभिमुखीकरण गर्छौं ।’ एक्स्पो शनिवारसम्म चल्नेछ ।  
Tags: