काठमाडौं मेरियट धेरै डलर भित्र्याउने होटल

Image
काठमाडौं– काठमाडौंको पाँचतारे काठमाडौं मेरियटले एक वर्षमा करिब साढे ५० लाख अमेरिकी डलर भिœयाएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मेरियटले सन् २०२२ अगष्ट १ देखि २०२३ को अगष्ट १ सम्ममा ५० लाख ४१ हजार २ सय ३७ डलर आर्जन गरेको हो । जुन होटल क्षेत्रमै सबैभन्दा बढी हो । सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेसँगै मेरियटलाई पर्यटन मन्त्रालयले सम्मान गरेको छ । मन्त्रालयले ४४ औं विश्व पर्यटन दिवसको अवसरमा मेरियटसहित सबैभन्दा विदेशी मुद्रा आर्जन गर्ने ८ वटा क्षेत्रलाई सम्मान गरेको छ । बुधबार आयोजित एक कार्यक्रमको अवसरमा पर्यटनमन्त्री सुदन किराँतीले पर्यटनमार्फत सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने कम्पनीहरुलाई सम्मान गरेका हुन् । ८ वटा क्षेत्रमध्ये सबैभन्दा बढी अमेरिकी डलर आर्जन गर्नेमा सरकार स्वामित्वको नेपाल वायुसेवा निगम रहेको छ । जसले समीक्षा अवधिमा ८ करोड ४५ लाख डलर आर्जन गरेको छ । त्यस्तै, मेरियट होटल सबैभन्दा बढी विदेशी मुद्रा भिœयाउनेको दोश्रो सूचीमा परेको छ । मन्त्रालयको विवरणअनुसार ट्रेकिङ र पर्वतारोहणतर्फको साहसिक खेलतर्फ पोखरा अल्ट्राले ४४ हजार ३ सय ८८ डलर, सेभेन समिटले ४३ लाख २२ हजार ६४ डलर र ट्राभल एण्ड टुर्सतर्फ सीता वल्र्डले ३३ लाख ६१ हजार १ सय ३६ डलर आर्जन गरेका छन् । यस्तै, कृषि फार्ममा कपिलवस्तको लुम्बिनी ग्रीन रिसोर्ट शिवराज पनि सम्मानित भएको छ । ३ बिगामा रिसोर्ट सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, आफ्नै रिसोर्ट परिसरमा उत्पादित माछा, तरकारी, सागपात, कुखुरापालन गरी एग्रो टुरिजमलाईसमेत विकास गरेको भन्दै मन्त्रालयले कपिलवस्तुको उक्त रिसोर्टलाई सम्मान गरेको हो । सरकारले होमस्टेमा अमलटारी मध्यवर्ती सामुदायिक कावासोती र पर्वतारोहीतर्फ तेन्जेन शेर्पा (लामा) र नर्वेकी महिला आरोही क्रिस्टिन हेरिलालाई सम्मान गरेको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु ९२ दिनभित्र आरोहण गरी कीर्तिमान कायम गरेको भन्दै लामा र नर्वेकी हेरिलालाई सम्मान गरिएको हो ।
Tags: