पत्रकारितामा विश्वसनीयता कायम राखौं – अध्यक्ष बस्नेत

Image
काठमाडौं–प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले परम्परागत माध्यमलाई डिजिडल माध्यमले चुनौती दिएको भन्दै पत्रकारितामा विश्वसनीयता कायम राख्न सक्नुपर्ने बताएका छन् । डिजिटल पत्रकारिताका (विशेषगरी मोबाइल जर्नालिज्म)तालिम प्राप्त पत्रकारलाई प्रमाणपत्र वितरण कार्यक्रममा आम जनताले जुनसुकै माध्यमलाई पत्रकारिता मान्ने धारणा विकसित भएकाले त्यस्ता भ्रमलाई हटाएर जान सक्नुपर्ने बताए । डिजिटल पत्रकारिताको ज्ञानले पत्रकारलाई प्रतिष्पर्धामा आउन सहज हुने भएकाले सम्बोधन गर्न काउन्सिल तत्पर रहेको उनको भनाइ छ । नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष तीर्थ कोइरालाले पत्रकारितामा सैद्धान्तिक ज्ञानले मात्र नपुग्ने भएकाले व्यावहारिक ज्ञान पनि उत्तिकै आवश्यक हुने बताए। पत्रकारिता सिकेर कहिल्यै नसकिने विषय भएकाले हरेक पटकको समाचारमा लेख्दा पत्रकारको लागि नयाँ सिकाइ उनको भनाइ थियो । नेपाल प्रेस इन्ष्टिच्यूटका प्रशिक्षक कपिल काफ्लेले मिडिया प्राविधिक विषय भएकाले प्रविधिमैत्री पत्रकारिता आजको आवश्यकता भएको बताए । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गरेको कार्यक्रममा अनलाइन (न्युज पोर्टल र युट्युब सञ्चालन, मोजा) पत्रकारिता, डिजिटल मिडियाका लागि समाचार लेखन सीप र आचारसंहिताका विषयमा तालिममा सहभागी पत्रकारलाई प्रमाणपत्र वितरण गरिएको हो । सहभागी मध्येका मिलन खालिङ र सुनिता आचनर्यले तालिम उपलब्धिपूर्ण भएको र सिकेको सीप प्रयोग गरेर पत्रकारिता गरिरहेको बताएका थिए । गत असारमा काउन्सिलको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले डिजिटल पत्रकारिता गर्दै आएका पत्रकारको लागि तालिम दिएको थियो । दूरशिक्षा प्रणालीका माध्यमबाट सञ्चालन गरिएको प्रशिक्षण ५ दिनसम्म दैनिक ४ घण्टा सञ्चालन भएको थियो । तालिममा न्यु मिडियाविज्ञ करुण थापा र सहना बज्राचार्यले प्रशिक्षण दिएका थिए ।
Tags: