स्थानीय तहको निर्वाचन : सामूहिक प्रदर्शनसँगै राजनीतिक

Image
काठमाडौं– “यो मेरो र मेरो पार्टीको मात्रै उम्मेदवारी होइन, हाम्रो हो । म भन्ने कुरा त्यागौँ, हामी भन्ने कुरालाई आत्मसात गरौँ”, कास्कीको पोखरा महानगरमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका धनराज आचार्यको भनाइ हो यो । नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डेलाई दायाँबायाँ राखेर आचार्यले सामूहिकतामा विश्वास गर्न तथा म र मेरो भन्ने मान्यता त्याग्न आग्रह गरे । उनले महानगरका लागि दिइएको उम्मेदवारी सत्तागठबन्धनको सामूहिक भावनाको उपज भएको बताए । आचार्य नेकपा९एकीकृत समाजवादी०को प्रस्तावमा गठबन्धनको साझा उम्मेदवार हुन्। यसबाट सत्ता गठबन्धनमा देखिएका केही तितामिठा विषयलाई मिलाएर जानुपर्छ भन्ने मनोविज्ञान चित्रित भएको छ । गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलले देशव्यापी रुपमा नै साझा उम्मेदवार तय गरेका छन् । केही स्थानमा कुरा मिल्न नसकेको भए पनि उम्मेदवारी फिर्ता लिने दिनसम्म सबै असन्तुष्टिलाई सम्बोधन गर्ने शीर्ष नेताहरुको भनाइ छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजै बसेको सत्ता गठबन्धनको बैठकले पनि केन्द्रीय नीतिअनुसार नै उम्मेदवारी दर्ता गराउन निर्देशन दिएको थियो । बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको निर्णयअनुसार नै उम्मेदवारी दर्ता गराउन सबैलाई आग्रह गरिएको जानकारी दिएका थिए । निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवारी मनोनयनका लागि छुट्याएको छ । संविधानसभाबाट संविधान जारी भएपछि हुन लागेको दोस्रो निर्वाचन आफैँमा महत्वपूर्ण र ऐतिहासिक पनि छ । विसं २०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन गरिएको थियो । यही वैशाख ३० गते हुने निर्वाचन भने एकै चरणमा गर्ने तयारी आयोगले गरेको छ । प्रमुख राजनीतिक दलले उत्साहका साथ निर्वाचनमा सहभागिता जनाएका छन् । उम्मेदवारी दर्ताका क्रममा देखिएको स्थानीय भाषा, संस्कृति तथा प्रचारले पनि त्यही देखाएको छ । काठमाडौँ उपत्यकामा उम्मेदवारी दर्ता गराउन पुगेका उम्मेदवारको स्वागतमा बजाइएका धिमे बाजा, स्थानीय संस्कृतिसँग जोडिएका भेषभूषासहितको प्रस्तुतीले पनि निर्वाचन लोकतन्त्रको सर्वोत्तम साधन हो भन्ने देखाएको छ । निर्वाचनले राजनीतिक दललाई मात्रै नभई, नागरिकलाई एक प्रकारको उत्साह पैदा गरिदिन्छ । यसपटक पनि त्यस्तै भएको छ । काठमाडौँ महानगरमा गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउन पुगेकी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहको अघिपछि बजेको धिमे बाजा, पञ्चेबाजाले पनि नेपालीको विविधतालाई झल्काइदिएको छ । भरतपुरमा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराउनुभएका रेणु दाहाल र उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीको समर्थनमा पनि पञ्चेबाजासहितको नेपाली संस्कृति र सामूहिकताको प्रदर्शन भएको टिप्पणी गरिएको छ । देशभर ६ महानगर, ११ उपमहानगरपालिकासहित ७५३ वटै स्थानीय तहमा आज उम्मेवादी दर्ता गराउने अन्तिम दिन हो । गठबन्धनका तर्फबाट अधिकांश उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय जाँदा सामूहिकताको प्रदर्शन गरेको देखिन्छ । गठबन्धनमा आबद्ध सबै दलका झण्डा, तुल व्यानर पनि त्यस्तै प्रदर्शन गरिएको थियो । गठबन्धनका दलबीच देखिएका विवादका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्रमा यस्तो विषयले सुन्दरता नै थप्ने टिप्पणी गरे । उनले गठबन्धनमा आबद्ध रहेका दलहरुबीच नै गठबन्धन र तालमेल गर्ने नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न पार्टीका सबै समितिलाई निर्देशन दिइएकोसमेत जानकारी दिए । केही स्थानमा गठबन्धनको नीति विपरीत गठबन्धन भएको भए त्यसलाई उम्मेदवारी फिर्ता हुने दिनसम्म फिर्ता गराउने नीति गठबन्धनको रहेको प्रवक्ता महराको भनाइ छ । “एउटा उद्देश्यका लागि गठन भएको गठबन्धनको मर्म र भावना विपरीत जाने छुट कोही कसैलाई छैन । यसमा आबद्ध सबै दलको एउटै धारणा छ । त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्छौ”, प्रवक्ता महराले भने । उनले देशभर ६० प्रतिशत स्थानमा गठबन्धन भएको जानकारी दिँदै बाँकी ४० प्रतिशत स्थानमा पनि मिलाइने विश्वास व्यक्त गरे। एउटै पार्टीमा त एउटाले टिकट पाउँदा अर्को रिसाउने र असन्तुष्टि व्यक्त गर्ने हुँदा गठबन्धनमा यस्तो देखिनु लोकतन्त्रको सुन्दर पक्ष रहेको भन्दै उनले असन्तुस्टिलाई उचित तरिकाले सम्बोधन गरिने उल्लेख गरे ।
Tags: