सरकारी कर्मचारीले व्यवसायीलाई आतंकित पारे– रायमाझी
काठमाडौं – राजनीतिक विश्लेषक तथा भ्रष्टाचार विरुद्धको अभियानका संयोजक प्रकाश रायमाझीले सरकारी कर्मचारीबाट व्यवसायी आतंकित भएको आरोप लगाएका छन्।
उद्योगी व्यवसायीमाथि दशै तिहारजस्ता चाड पर्वको मौका छोपी फेरि पनि सरकारी कर्मचारीले आर्थिक लाभका लागि आतंकित पार्न थालेको उनको आरोप छ । ‘बैंक तथा वित्तीय संस्थाको मिटरब्याजी पीडाबाट आक्रान्त बनेका व्यवसायीमाथि राष्ट्र सेवक भनिएका भ्रष्ट माफिया कर्मचारीहरूले व्यक्तिगत लाभका लागि पसलहरुमा गएर जवरजस्ती पैसा माग्ने नदिए कारवाही गर्छु भनेर थर्काउने जस्ता कार्य भइरहेको छ, ’ उनले भने, ‘ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अविलम्ब अनुगमन तथा निरीक्षण गर्ने र त्यस्ता कर्मचारीहरु माथि कारवाही गर्न सीसीटीभीमार्फत पनि पहिचान गरि कारवाही अगाडि बढाउन आयोगको ध्यानाकर्षण गराउँदछु।’
राजश्व अनुसन्धान विभागका कर्मचारीदेखि कर कार्यालय र महानगरपालिका साथै सुरक्षाकर्मी समेतले व्यवसायीमाथि अनेकौं बहाना बनाएर हप्ता असुली गरिरहेको उनको आरोप छ।
सामानमा चर्को भन्सार महसुल अनि आर्थिक मन्दीले घरभाडा समेत तिर्न नसकेको व्यवसायीको अवस्थामा राज्यको करआतंकले व्यवसाय पूर्णरुपमा धरासायी बनेको उनको भनाइ छ। ‘राज्यलाई कर तिरेर उद्यम व्यवसाय गर्नेहरुमाथि हुने अन्याय अत्याचारलाई रोक्न निकम्मा सरकारले सक्दैन भने जनताले पनि कानून हातमा लिन बाध्य हुनेछन्, ’ उनले भने, ‘बन्द व्यवसाय गरेर बस्ने सृजनशील उद्यमीलाई आतंकित पारेर विदेश पलायन गराउने यो कर्मचारीतन्त्रको अराजक प्रवृत्तिलाई हामीले मुखदर्शक सहन सकिन्नौं।’ सरकारले समयमै नियन्त्रण नगरेर नागरिक आन्दोलित हुने उनको चेतावनी छ।