‘लिच्छिविकालीन सम्पदालाई संरक्षण गर्न दीर्घकालीन योजना’

Image
विरेन्द्र प्रजापति अध्यक्ष वडा नं ५ को कार्यालय काठमाडौं महानगरपालिका काठमाडौं महानगरपालिक वडा नं ५ एउटा छुट्टै पहिचान भएको हाँडीगाउँ क्षेत्र हो। पूर्व लिच्छिविकालीन शहर चिनिने हाँडीगाउँ क्षेत्रलाई पुरातात्विक महत्वलाई सुरक्षित राख्दै आधुनिक बनेको काठमाडौं शहरबीच रुपान्तरित बन्ने चुनौती कायमै छ। स्थानीय तहको दोस्रो कार्यकालको समयमा वडामा प्रमुखको जिम्मेवारीका गएका अध्यक्ष विरेन्द्र प्रजापति वडाले हाँडीगाउँको महत्व जिवित राख्दै थप संरक्षणका कार्य हुँदै आएको बताउँछन्। वडाका एक वर्षभन्दा बढी समय कसरी बिते? वडाले कसरी काम गर्दै आएको छ ? चुनौती र सम्भावना के के छन्? यी विषयमा सबल नेपालका लागि दीपा रेग्मीले गरेको कुराकानीको साराशं : वडा प्रमुखको रूपमा निर्वाचित भएर आएको एक वर्षभन्दा बढी भएको छ, एक वर्षमा कस्ता कस्ता काम भए ? उम्मेदवार भएर हामी जनतामाझ जाँदा निर्वाचित भएपछि के गर्छौं भनेर प्रतिवद्धता गरेका छौं, त्यसकै कार्यान्वयनमा हामी लागेका छौं। निर्वाचित भएपछि हामी टोल टोलमा गएर भेटघाट गरेका थियौं। टोलमा पुग्दा हामीले स्थानीयको समस्या र आवश्यकता पहिचान गरेका थियौं, त्यसका आधारमा कार्ययोजना बनाएर क्रमिक रूपमा काम गर्दै आएका छौं। वडाले कस्ता कस्ता कामलाई प्राथमिकता दिँदै आएको छ ? प्राथमिकताको कुरा गर्दा नागरिकको प्रत्यक्ष सरोकारका विषयमा हामीले प्राथमिकता दिँदै आएका छौं । मुख्यगरी फोहोर मैला, खानेपानी, ढल, सडक, बत्ति लगायतमा काम गरेका छौं। अर्कोतिर काठमाडौंको ५ नम्बर वडा लिच्छविकालीन शहर भएको कारण ऐतिहासिक र पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छ। यसको महत्वलाई जिवित राख्न स्थानीयसँगको समन्वयमा इट्टा, ढुंगा ओछ्याउने काम गर्दै आएका छौं। सडक मर्मतका कार्यक्रम आवश्यक टेण्डर प्रक्रिया र विभिन्न निकायसँगको समन्वयमा गर्नुपर्ने भएको हुनाले त्यसको प्रक्रिया मिलाएर काम गरिरहेका छौं। हाम्रो हाँडीगाउँ क्षेत्रको आफ्नै मौलिकता छ। नेपालमा अन्यत्र कतै नभएको जात्रा हाँडीगाउँमा हुन्छ, यहाँका सांस्कृतिक बाजाहरू पनि छन् त्यसको संरक्षणमा पनि हामीले काम गरिरहेका छौं। हाँडीगाउँ शहरभरीको मौलिकता संरक्षण र लिच्छिविकालीन कलाको पहिचानको लागि वडाले लगत स्टिमेट निकाल्ने काम गरिरहेको छ। यो मेरो कार्यकालमा सकिनेभन्दा पनि दीर्घकालीन योजनाको रूपमा काम अगाडि बढ्छ। हाँडीगाउँको कोर एरियामा उत्खनन गर्ने, पुराना इनारको संरक्षण गर्ने लगायतका काम भएका छन्। कोर एरियामा ५० फिटभन्दा अग्लो घर बनाउन पाइदैन र घरको अगाडिको भाग मापदण्ड बमोजिम बनाइनुपर्छ। काम गर्दा के के चुनौती महसुस गर्नुभएको छ? केही समन्वयका पाटोमा अफ्ठ्यारो छ, जस्तो विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी लगायतले हामीसँग समन्वय नै नगरी काम गर्दा हामीलाई योजना बनाएर काम गर्न गाह्रो छ। ती योजना अन्तरगतका ठेक्का फरक फरक ठेकेदारले पार्ने र तिनीहरूको काम गर्ने शैली पनि फरक फरक भएकोले हामीले समन्वय गर्दा गर्दै पनि त्यसमा प्रभावकारिता आउन सकेको छैन। त्यसलाई मिलाउँदा मिलाउँदै पनि हाम्रो समय खर्च भएको छ। बल्ल तल्ल त्यो ट्रयाकमा आउँदैछ। मेयर स्वतन्त्रबाट प्रतिनिधित्व गर्नुुहुन्छ, यहाँहरू दलबाट जितेर जानुभएको छ, काम गर्न सजिलो अफ्ठ्यारो के छ ? कार्यपालिकामा हामी ४२ जना छौं। को कताबाट प्रतिनिधित्व भन्दा पनि हामी जनताको समस्यामा पनि प्राथमिकता दिएर काम गर्दै आएका छौं। महानगरका समर्ग योजना र मापदण्ड अनुसार काम गर्न सहकार्य गरेका छौं। योजना बनाउँदा र त्यसको कार्यान्वयन गर्दा मनग्ये छलफल गर्दै आएका छौं। वडाको आन्तरिक स्रोत के के छन् र यसको व्यवस्थापन कसरी गर्दै आउनुभएको छ ? मुलुक संघीयतामा गइसके पछि स्थानीय तहले पनि केही अधिकार पाएको छ। त्यसमा निश्चित कर उठाउने कुरा पनि यस अन्तरर्गत पर्छ। व्यावसायिक कर, घरबहाल कर, मालपोत कर लगायतका घर हामीले उठाउँदै आएका छौं। यसबाट राम्रै कर संकलन भएको छ। वडाले बजेट बनाउँदा कुन कुरालाई प्राथमिकता दिएको छ? हामी वडास्तरमा भएका स्वास्थ्य इकाईमा डाक्टरसहितको क्लिनिकको योजना बनाएका छौं। सुविधासम्पन्न स्वास्थ्यप्रवद्र्धन केन्द्र स्थापनाकोले लागि महानगरका सबै वडा सक्रिय भएका छौं। शिक्षाको कुरा गर्दा छात्रवृत्तिदेखि शिक्षाको गुणस्तर विकासमा हामीले अनुगमन बढाउँदै आएका छौं। युवा स्वरोजगार कार्यक्रमको लागि आफ्नो योग्यता, क्षमताका आधारमा वडामा आवेदन आह्वान गरेका छौं। यसले उहाँहरूलाई आवश्यक अनुदान उपलब्ध गराएर थप योजना बनाएर उद्यमशीलतामा काम गर्नको लागि सहयोग पुर्याउँछ। स्थानीय तहबाट नागरिककले कति सहज रूपमा सेवा पाएका छन् ? हामी नागरिककै सेवाको लागि निर्वाचित भएर आएका छौं, प्रभावकारी र सहज सेवा नदिने भन्ने कुरै भएन। हामी सेवाग्राहीका काम कुनै पनि रोकेर राख्दैनौं, प्रक्रिया नपुगेका र लामो प्रक्रिया पूरा गर्नुपर्ने काममा पनि आवश्यक सहजीकरणको लागि हामीले प्राथमिकताका साथ काम गर्दै आएका छौं। तपाईको कामबाट वडावासी कति सन्तुष्ट छन् ? त्यो त मैलेभन्दा पनि वडावासीले भन्ने कुरा हो। पहिलो वर्ष बितेको छ। मेरो प्राथमिकता वडावासी र वडाको विकास नै रहेको छ। भावी योजना के छन् ? मेरो कार्यकालमा हामी माताहतका सबै भित्री सडकमा कालोपत्र गर्छौं । पुरातात्विक क्षेत्रको संरक्षण सहित सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनका योजनालाई प्राथमिकता दिन्छौं । त्यस्तै मेरो कार्यकालमा योजनावद्ध तरिकाले बाँकी रहेका अन्य काम पनि सम्पन्न गर्छौं।  
Tags: