बनाउने हैन त ? टिकटक बनाउँदा ५० हजार पुरस्कार

Image
काठमाडौं – नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज २५ गते अर्थात अक्टोबर १२ तारिखमा परेको विश्व दृष्टि दिवसको अवसरमा संघले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद रू. ५० हजार सहित संघले सम्मान गर्नेछ । प्रतियोगिले आँखा स्वास्थमा केन्द्रित भई जनचेतनामुलक भिडियो निर्माण गर्नुपर्ने बताइएको छ। पछिल्लो समय युवा देखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिमाझ लोकप्रिय भइरहेको टिकटक मार्फत आम नागरिकलाई आँखाको महत्व र आँखा स्वास्थ्यका बिषयमा जनचेतना जगाउने उद्देश्य यो प्रतियोगिता आयोजना गरिएको नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्र बताउँछन्। संघका महासचिव भरत बहादुर चन्दका अनुसार सन् २०२१ मा भएको आरएएबी सर्वेले समेत नेपालमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतनाको कमि रहेको देखाएको र अहिले पनि नेपालका धेरै नागरिकहरु आँखा उपचार हुन्छ भन्ने जानकारीकै अभावमा दृष्टिविहिन जिवन बिताइरहेका छन् । उनीहरुलाई वा उनिहरुको परिवारमा पनि आँखा स्वास्थ्यसम्बन्धी जनतेचना जागृत होस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको महासचिव चन्दको भनाइ छ। स्थापनाकाल देखि नै संघले आँखा उपचार सेवासंगै आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कामलाई पनि निरन्तरता दिईरहेको र अहिले पछिल्लो समय मानिसहरुमा आएको सामाजिक सञ्जालको बढ्दो लोकप्रियतालाई मध्यनजर गरेर जनचेतनाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको बताउछन् संघका अध्यक्ष प्रा.डा चेतराज पन्त बताउँछन्। आईकेयर फाउन्डेशनको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगीले निर्माण गरेको भिडियोको विषयवस्तु मौलिक हुनुपर्नेछ भने भिडियोमा सामाजिक सद्भावमा खलल पार्ने तथा कुनै पनि किसिमको समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा विषयबस्तु समावेश गर्न नपाइने बताइएको छ। प्रतियोगीले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्नेछन् त्यसपछि प्राप्त लिंकलाई प्रतियोगितामा समावेश नगरिने संघका कार्यक्रम व्यवस्थापक रञ्जन साहले जानकारी दिए । विजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ र सोको जानकारी नेपाल नेत्रज्योति संघको टिकटक तथा फेसबुकमार्फत गराइने बताइएको छ।  
Tags: