अरुण – ३ को अवरोध हटाउ– इप्पान
काठमाडौं–संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको ‘अरुण ३ जलविद्युत आयोजना’ निर्माणमा भइरहेको अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ध्यानाकर्षण भएको बताएको छ। विदेशी लगानीमा निर्माणाधिन आयोजनामा भइरहेको यस प्रकारको अवरोधले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित हुने इप्पानले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
‘आयोजना निर्माणका क्रममा निस्किएका कुनै पनि विवादलाई वार्ता र छलफलका माध्यमबाटै समाधान गरेर जान सकिन्छ । आयोजना र स्थानीयबीचमा सरकारले मध्यस्थता गरेर भएपनि वार्ताबाटै निकास दिन र आयोजनाको काम यथाशक्य चाँडो सुचारु गराउन आग्रह गर्न चाहन्छौ,’ विज्ञप्तिमा भनिएको छ।
विगतमा पनि आयोजनाको विषयलाई लिएर विवाद हुँदा आयोजना बनाउन अघि सरेको विश्व बैंकले हात झिकेको कुरा इप्पानले स्मरण गराएको छ। इप्पानले भनेको छ, ‘अहिले भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन) ले द्रुत गतिमा काम अघि बढाइरहेको बेला भएको अवरोधले ऊर्जा क्षेत्रमा सक्रिय रुपमा लागेका स्वदेशी तथा विदेशी प्रवर्द्धकहरुलाई दुखी बनाएको छ ।’
आयोजना निर्माणमा भइरहेको अवरोध हटाइ काम सुचारु गराउनका इप्पानले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ।