अदितीको क्रियटिभ आइडियाले जन्माएको, ‘क्रियटिभ नेपाल प्रडक्ट्स’

Image

नेपाली खास्टोको कपडाको व्यापार विदेशसम्म

दीपा रेग्मी । विश्व कोरोना महामारीले आक्रान्त थियो। लामो समयको महामारीको चपैटाले हरेकको दैनिकी बदलिदिएको थियो। विशेष गरी प्रविधिको प्रयोग गरी अनलाइनमार्फत गरिने व्यवसायले खुबै गति लियो । त्यही छेकोमा अदिती सिंह शाह र उनको टिमले जन्माएको हो – क्रियटिभ नेपाल प्रडक्ट्स । क्रियटिभ नेपाल प्रडक्ट नाम जस्तै क्रियटिभ उद्देश्यका साथ खोलिएको हो। विशुद्ध नेपाली प्रडक्ट जसलाई खास्टो प्रडक्ट भनिन्छ, क्रियटिभले त्यो समयमा त्यसकै प्रमोशनका लागि खास्टोका कपडा विक्री अभियान चलाएको थियो, त्यो पनि अनलाइनबाटै । क्रियटिभले खास्टोबाट कपडा बनाउने काम गर्दै आएको छ, पछिल्लो समय आयातित प्रोडक्टलाई हाम्रै डिजाइनमा पनि बनाउने काम गर्दै आएका सञ्चालक अदिती बताउँछिन्। कोरोनाको समयमा बाहिर हिँड्दा लगाउने भन्दा घरमा बस्दा लगाउने लुगाको माग बढी थियो, त्यही मागलाई मध्येनजर राखेर साथीहरूबीच आइडिया लगाएर व्यवसाय शुरु गरेको उनको भनाइ छ । ‘शुरुका ६ महिना त हामीले अनलाइन व्यापार नै गर्यौं, विस्तारै आउटलेटमा आएका हौै,’ उनले भनिन्। क्रियटिभ कोरोना कालमै ३ वर्ष अगाडि खुलेको हो। नेपाली प्रडक्टलाई फरक शैलीमा प्रस्तुत गर्ने हाम्रो प्रयास स्वरुप क्रियटिभको सञ्चालन गरिएको अदितीको भनाइ छ। कोरोनाको समय त्यसमा पनि अनलाइन व्यापारको बढ्दो प्रचलन त्यसले नै व्यवसाय गर्न ऊर्जा थप्यो । ‘यसको शुरुआत गर्दा लकडाउनको समयमा अनलाइनको माध्यमबाट हामीले शुरु गरेका थियौं । शुरु शुरुमा राम्रै थियो, अहिले सबैतिरको अवस्था कमजोर बन्दा हाम्रो व्यवसायमा पनि केही फरक परेको छ, तथापि त्यति नराम्रो नै भन्ने अवस्था छैन,’ उनले भनिन्। बजारमा क्रियटिभका प्रडक्टको माग बढ्दो छ। ग्राहकको प्रतिक्रिया राम्रो रहेको अदितीको भनाइ छ। ‘विशेषगरी बच्चा जन्मिएदेखि नै यो कपडा चाहिने भएर पनि यसको माग बढी नै छ,’ उनले भनिन्। क्रियटिभले आफ्ना उत्पादनलाई विदेश निर्यात पनि गर्दै आएको छ । खासगरी विदेशमा गिफ्टको रूपमा पठाउने गरिएको उनको भनाइ छ। खासगरी लंडन, अष्ट्रेलिया, अमेरिका, भारतसम्म पठाउँदै आएको उनको भनाइ छ। कच्चा पदार्थको लागि आवश्यक पर्ने मलमलको कपडा नेपाली उत्पादन नै भएको र बाँकी कच्चा पदार्थ बाहिरबाट पनि आउने उनको भनाइ छ। उनीहरूको आफ्नै कारखाना भने छैन, कच्चा पदार्थ कारिगरलाई दिने र कपडा लिएर बजार पठाउने काम उनीहरूले गर्दै आएका छन्। ‘हामीले यहाँबाट कपडा दिन्छौं, हाम्रो आफ्नै कारखाना नभएका कारण त्यसलाई घरमा लगेर कारिगरले बनाएर ल्याउने काम गर्नुहुन्छ,’ अदितीले भनिन्। क्रियटिभका कपडाको काम गर्ने १० जना र अन्य ३ जना कर्मचारीले रोजगारी पाएका छन्। भ्रखरै मात्र क्रियटिभका नयाँ शाखा पनि सञ्चालनमा आएको छ। आफूहरूले गुणस्तरमा ध्यान दिएकै कारण ग्राहकको रोजाइमा परेको अदितीको भनाइ छ। ‘अहिलेसम्म ग्राहकहरू सन्तुष्ट हुनुहुन्छ, हाम्रो कपडाको गुणस्तर र सेवाको कारण ग्राहकहरू हाम्रा उत्पादनमा आकर्षित हुुनुभएको हो,’ उनले भनिन्, ‘किनकी हामी गुणस्तरमा सम्झौता गर्दैनौं, जसले हाम्रो गुणस्तर बुझ्नु भएको छ, उहाँहरूको प्रतिक्रिया राम्रो छ।’ धेरै कपडाको व्यापार काठमाडौं केन्द्रित भए पनि अनलाइनको माध्यमबाट उपत्यका बाहिर पनि क्रियटिभका कपडाको माग बढी छ। व्यवसाय राम्रो चलेको भएपनि सोचेजस्तो गतिभने लिन सकेको छैन,किन त ? अदिती भन्छिन्, ‘कच्चापदार्थ, मेन पावर, भाडा, कर धेरै छ, यही प्रडक्ट घरमै बनाएर अनलाइन बेच्नेहरू पनि छन्, हामी व्यवस्थित किसिमले चल्दा लागत बढी छ।’ अनलाइन मार्केट बढ्दो क्रममा रहे पनि उपभोक्ताले हम्मेसी विश्वास नगर्ने समस्या त रहन्छ नै तर हाम्रो सामान प्रयोग गरेपछि एकअर्कामा सिफारिस गर्दै जाँदा पनि उपभोक्ता बढ्दै गएको उनको भनाइ छ। जोखिम भए पनि सम्भावना देखेरै हामीले यसमा लगानी गरेको व्यवसायको शुरुआती लगानी २०–२५ लाख रुपैयाँ जतिको भएको उनको भनाइ छ। गर्यो भने गर्न नसकिने केही नभएको अदितीको अनुभवले भन्छ । ‘इच्छा हुनुपर्यो, काममा लगाव हुनुपर्यो,समय दिनसक्नसपर्यो, जोखिमलाई थेग्न सक्नुपर्यो, ’ उनी भन्छिन्, ‘प्रतिस्पर्धा बढी छ, लेवर चार्ज बढी छ, व्यवसाय डाउन भएको अवस्था पनि छ, म हरेक पटक काममा रमाउँछु, शुरुआती चरणबाट आजसम्म आउँदाको प्रगतिबाटै उत्साह मिलेको छ।’ व्यवसाय पनि जोखिमको कुरा हो। यसबाट नाफा हुने नहुने निश्चित हुँदैन। यसमा परिवारको साथ सहयोग आवश्यक पर्ने अदितीको बुझाइ छ। उनी उमेरले ३५ वर्षकी मात्र भइन् तर यसबीचमा प्रदर्शनी, इभेन्टको आयोजना गर्नेदेखि स्कुल सञ्चालन गरेको अनुभव समेत उनमा छ। २५ वर्षको उमेरदेखि व्यवसायी बनेकी अदिती व्यवसायमा धेरै अघि पुग्ने हुटहुटी र सपना छ।  

Tags: