सुरेन्द्रराज रेग्मी ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत

Image
काठमाडौ – ग्लोबल आइएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले रेग्मीलाई सोमवारदेखि लागू हुने गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आइएमई बैंकमा विगत १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनीसँग बैंकिङ क्षेत्रको करीब ३५ वर्षको अनुभव रहेको बताइएको छ । रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन् । उनले ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, शाखा सञ्चालन, एसएमई तथा खुद्रा व्यापार, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङको सुपरिवेक्षण तहमा काम गरिसकेका छन् ।
Tags: