नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई चेम्बरको आग्रह

Image
काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण अघि चेम्बरले चिनियाँ निजी क्षेत्रसंग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्वन्धबारे छलफल गरेको हो । जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत, कृषि , सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गरे। अध्यक्ष मल्लले भने, ‘नेपाल चीनबीचको सम्वन्ध कुटनीतिक र आर्थिक दृष्टिकोणले निकै महत्वपुर्ण छ । पछिल्लो समय चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादनवृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपुर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु, ।’ लगानीका लागि हुने नीतिगत कठिनाई अन्त्यका लागि सरोकारवाला सरकारी निकायमा नेपाल चेम्बर अफ कमर्सले पहल गर्ने उनको भनाइ छ। उनले नेपाल चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्षा पुनरावलोकन गरेर ब्यापार सहजीकरण गर्नुपर्नेमा जोड दिए। नेपाल चीनबीच यसअघी भएको पारवहन सम्झौताको प्रभावकारी कार्यन्वयन एवं उत्तरी छिमेकीसंगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्नेमा उनको जोड छ । अध्यक्ष मल्लले भने, ‘चीनसंगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर तातोपानी, केरुङ जस्ता भन्सार नाकाहरुमा स्तरोन्नती गरिनुपर्दछ ।’ मल्लले भन्सार नाकाहरुमा अन्तराष्ट्रियस्तरको क्वारेन्टीन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिए । नेपालबाट चीनमा बार्षिक २ खर्व रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसको लाभ लिनुपर्ने उनको भनाइ छ। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई मुलुकबीच ब्यापार सहजीकरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने गरी चेम्बरले सुझाव समेत दिएको छ । चेम्बरसंगको छलफलका क्रममा चिनियाँ निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधीले नेपालमा लगानीका लागि भइरहेको नीतिगत कठिनाईबारे जिज्ञासा राखेका थिए । दुई मुलुकबीच आर्थिक र कुटनीतिक सम्वन्ध उच्चस्तरीय रहेको उनीहरुको भनाइ छ । हेन इन नेतृत्वमा चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली नेपाल भ्रमणमा आएको थियो ।    
Tags: