तीज, धार्मिक मान्यता र मौलिकता
–विष्णु भट्टराई सालको पात टिपेर न लाउ आमा टपरी मैले बिहे गर्ने छैन आईए नपढी....... सामाजिक जीवनसँग जोडेको यो गीतको सानो टुक्रा गीतमात्र होइन हाम्रो नेपाली संस्कृति बनेको तीजको पहिचान पनि हो। शब्दै काफी छ, यसले महिलाको स्वतन्त्रता र माइतीले गर्ने दायित्ववोधलाई स्मरण गराएको छ । तीज धार्मिक, सांस्कृतिक सहित सामाजिक जागरणको अंश बनेर सदियौंदेखि समाजमा विद्यमान छ । तीजको धार्मिक तथा सांस्कृतिक महत्व हरितालिका तीज पर्व महिलाको विशेष चाड मानिन्छ। पौराणिक कालको धार्मिक महत्वसहित आधुनिककालसम्म यसपर्वले धार्मिक, सामाजिक, सांस्कृतिकसहित ऐतिहासिक महत्व बोकेको छ। परापूर्व कालमा देवी पार्वतीले आफ्नो विवाह भगवान विष्णुसँग गरिदिने जानकारी पाइन् । उनले भगवान शिवलाई आफ्नो पति स्वीकारेकी थिइन् । पार्वतीले भगवान शिव नै पति स्वीकार गर्ने अठोटसहित भाद्र शुक्ल तृतियाका दिन आफ्नो घरबाट भागेर जङ्गलमा गई बालुवाको शिवलिङ्ग तयार पारी शिव भगवान पतिको रूपमा पाउँ भनी अखण्ड निराहार पूजा गरी ब्रत बसिन् । यही ब्रतको प्रतिफलले उनले भगवान शिवलाई आफ्नो पतिको रुपमा पाएको धार्मिक मान्यता छ।
हरेक चाडपर्वबाट हामीले चाडपर्व मनाउनुसँगै आफ्नो जीवनमा पनि जीवन जिउने सिकाइ सिक्न सकिन्छ। देवी पार्वतीले आफ्नो चाहाना प्राप्तिका लागि गरेका दृढ संकल्प र प्रयासलाई हाम्रो जीवनसँग जोडेर हेर्नुपर्छ।
विशेष गरी विवाहिता श्रीमतीले आफ्नो पतिको सु–स्वास्थ्य र दीर्घायूको कामनासहित सो दिन निराहार ब्रत बसी भगवान शिव पार्वती र गणेशको पूजाआजा गर्दै आएको पाइन्छ । प्राचिनकालदेखि मनाउँदै आएको यस पर्वमा विवाह भई वर्षौसम्म कर्मघरबाट माइतीघरमा आउन नपाएका विवाहित छोरीवेटीलाई दर खान लिन गई ल्याउने र घरमा भएका मिठा मिठा परिकार पकाई खुवाउने गरिन्छ। हरितालिका तीजको अघिल्लो दिन दर खाने र अर्को दिन तीजको दिन श्रृंगार र सजावटसहित रातो साडीमा तीजको भाकामा आफूले कर्म घरमा पाएका दुःख बुवाआमा र साथीलाई प्रत्यक्ष भन्न नसकेका कुरा मौलिक गीतमार्फत वह पोखी दिनभर गीत गाउँदै नाँच्दै निराहार ब्रत बस्ने गरिन्छ । साथै ऋषि तर्पणीका दिन बिहानै रजस्वला सुरुवात भईसकेका महिलाहरुले नजिकैको खोला वा पोखरीमा गई दतिवन चपाई अमला जस्ता बोट बिरुवाको माटोले आफ्नो शरीर नुहाई शारीरिक सरसफाई गरी ऋषिको पूजाआजा गरी ब्रतको समापन सहित तीज पर्व सम्पन्न गर्ने प्रचलन रहेको छ। केही संस्कृति केही विकृति खोलाको ढुङ्गा टपक्कै टिपी चौतारी चिनाैंला गएको जोवान फर्की आउँछ भने पैसाले किनौंला हो नी वरिलै पैसाले किनौंला........। मौलिकता हरेक चिजको गहना हो । मौलिकताको महत्व आफैमा फरक हुन्छ। मौलिकतालाई हाम्रो दैनिकीमा जोड्यौं भने त्यो व्यवहार बन्छ। व्यवहार अनुकुलताले गर्ने कुरा हो तर मौलिकता निरन्तरतासँग जोडिएको कुरा हो । हामी मौलिकतामा जुन मजा लिन्छौं त्यसलाई अनुुकुलतामा ढाल्दा त्यसको महत्व हराउँदै जान्छ । धार्मिकसहित सांस्कृतिक महत्व बोकेको महत्वपूर्ण पर्वमा पछिल्लो समय हिन्दु नारी मात्र नभएर देशविदेशमा रहनुभएका जुनसुकै धर्मका वा जातजातीका अविवाहित युवतीसहित पुरुषको पनि संलग्नता बढ्दै गरिरहेको पाइन्छ, जसले हरितालिका पर्वको महत्व अझ बढेको देखिन्छ। तथापि तीज मनाउने परिपाटीमा आधुनिकता भित्रिँदै गएको देखिन्छ। दर खाने र तीज पर्व मनाउने परम्परा र मान्यता परिष्कृत गर्ने निहुँमा महिना दिनदेखि दर खाने प्रचलन तथा सरसजावटमा देखिएको देखावटीपनले पर्व मनाउने संस्कृतिमा विकृतिसँगै तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो तथा असभ्य बनाउने क्रम बढेको छ। त्यस्तैगरी संगीतका रूपमा विभिन्न भाका तथा विभिन्न अर्थ दिने खालका गीत संगीतको प्रयोजनका साथै सुन्दरताको देखासिकीपन र प्रतिष्पर्धा पनि बढिरहेको देखिन्छ, जसले गर्दा सामाजिक विखण्डनका साथै आर्थिक भार पनि बढिरहेको हुन्छ।
हिजोजस्तो गीतमा बेदनै पोख्नु नपर्ला तर महिलाका समस्या परिस्कृत बन्दै गएका होलान्, महिलाले सामाजिक न्याय खोज्नुपर्ने होला, परिवारमा उत्पीडन होलान् । हिंसा होलान्, विकृति होलान्, आखिर हामीले सदियौंदेखि आफ्ना समस्या बिसाउने थलो तीजलाई बनाउँदै आएका रहेछौं, परिस्कृत नै सही तीजलाई तीजकै महत्वमा कायममा राख्न त सकिन्छ होला नि है ?
आफूमा शिक्षित, सुखी र स्वावलम्वी हुँ भनी गर्व गर्ने प्रत्येक महिलाले अन्यसँग तुलना नगरी आफ्नो संस्कृति जोगाउने उद्देश्यका साथ साधारण र सहजताका साथ पर्व मनाइएमा यसको महत्व अवश्य बढ्दै जाने छ, जसको फलस्वरुप धार्मिक र सांस्कृतिक जगेर्ना र विकृति विफल हुनेछन्। आत्मियताका साथै भावना साटासाट गर्ने यस पर्वमा हिजोआज सामाजिक सन्जालको प्रयोगले सामूहिक भन्दापनि स्व–रमाइलोमा वढी मानिसको चासो बढेको छ। एउटा कोठामा सीमित रही एक्लै कला प्रदर्शनसहित रमाइलो गर्ने प्रचलन बढेसँगै मानिसमा सामूहिक नाचगानको परिपाटी लोप हुदै गएको महसुस गर्न सकिन्छ। टिकटक जस्ता सामाजिक सन्जालले मानिसमा लुप्त रूपमा रहेको कला प्रदर्शन गर्न सकिने सकारात्मक पक्ष रहेको भएता पनि अपनत्व र सद्भावमा भने देखावटीपन सृजना गरेको देखिन्छ। हिजोजस्तो गीतमा बेदनै पोख्नु नपर्ला तर महिलाका समस्या परिस्कृत बन्दै गएका होलान्, महिलाले सामाजिक न्याय खोज्नुपर्ने होला, परिवारमा उत्पीडन होलान् । हिंसा होलान्, विकृति होलान्, आखिर हामीले सदियौंदेखि आफ्ना समस्या बिसाउने थलो तीजलाई बनाउँदै आएका रहेछौं, परिस्कृत नै सही तीजलाई तीजकै महत्वमा कायममा राख्न त सकिन्छ होला नि है ? हरेक पर्वको आ–आफ्नै महत्वसहित विशेषता पनि रहेको हुन्छ भने जीवन जिउने सकारात्मक बाटोको पनि पहिचानमा सहयोग गरिरहेको अवश्य हुन्छ। हरेक चाडपर्वबाट हामीले चाडपर्व मनाउनुसँगै आफ्नो जीवनमा पनि जीवन जिउने सिकाइ सिक्न सकिन्छ। देवी पार्वतीले आफ्नो चाहाना प्राप्तिका लागि गरेका दृढ संकल्प र प्रयासलाई हाम्रो जीवनसँग जोडेर हेर्नुपर्छ। आफ्नो चाहाना प्राप्ति गर्न भगवानलाई त संघर्ष गर्नुपरेको थियो भने हामी त मानिस हौं भन्ने भावना जागृत गराइ आफूमा एउटा दृढ संकल्पसहित सकारात्मक भावना सृजना गर्न पनि सकिन्छ।