अलबिदा सुवास नेम्वाङ !
ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को पार्टी कार्यालयमा मङ्गलबार संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
–जयदेश श्रेष्ठ
मृत्यु अकाट्य सत्य हो । हामीले बाँचेको जीवनमा मिठास भरेर मृत्युको दिन कुरिरहेका छौं । मृत्यु अन्तिम सत्य हो त्यसलाई स्वीकार्नु पनि छ । जिन्दगीको अन्तिम पलमा तुलसीपत्र र गङ्गाजल हाम्रो मुखमा हाली दिने, राम नाम भनी शंख फुकी नारायण नारायण भन्ने, दुःखका आँसु झार्ने फगत सबै मृत्युमा साक्षी बस्नेहरूका लोकाचारलाई देखाउने प्रक्रिया मात्रै हुन् ।
मानिसको जीवनको अन्त्य उसको मृत्यु कसरी हुन्छ ? अपवाद बाहेक मृत्यु अप्रत्यासित हुन्छ, साँच्चै एक पटक जानै पर्ने चोला किन स्वाभाविक र प्रत्यासित नभएको होला ? कोही कसैलाई थाहा हुँदैन । संविधानसभा अध्यक्ष तथा नेकपा(एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको को अप्रत्याशित निधनले फेरि झस्काएको छ । सामान्य शारीरिक अस्वस्थका बीच रहेका नेता नेम्वाङ भौतिक देह गुमाएर ब्रह्मलिन भए । निधनको कारण जेसुकै होस्, उनको निधन अकल्पनीय र राजनीतिको लागि महत्वपूर्ण क्षति हो ।
नेपाली समाजमा देश, राष्ट्रको लागि असली योगदानको कदर भनेको उसको मृत्यु पछिको सम्मान हो । जीवनमा कति धन कमायो, भन्दा पनि मरेपछि कति मलामी कमायो । कसैको मृत्युमा कतिले पीडा महसुस ग¥यो । यो मुख्य कुरा हो । आज राष्ट्रले एउटा शालीन, आदर्श पुरुष गुमाएको महसुस गर्दै छ । मानिसको जिन्दगी अजम्बरी कोही हुँदैन । त्यसैले हरेक समयले राष्ट्र यस धर्तीले यस्ता महान व्यक्ति गुमाउँदै गएको हुन्छ । यो सबैले स्विकार्नु पर्ने मृत्यु सत्य हो ।
विचारको नाममा विभक्तपार्टी, नेतामुखी समाजमा कुनै व्यक्तिको योगदानको कदर हुन गाह्रो छ । बाँचुञ्जेल खोइरो खन्ने व्यक्तिहरू पनि मृत्यु पछि गुणगान र सहयोगी भूमिका निभाउन पछि पर्दैन । यो हाम्रो समाजको विशेषता हो । मरेपछि सम्मान संस्कारमा खर्च गर्नु हाम्रो परम्परा पनि हो । जब मान्छे मर्छन् त्यसको दुस्मनी हुँदैनन् । पक्ष विपक्ष सबै पार्टी उच्च व्यक्तिहरूले पनि सम्मान गर्छन् । समवेदनाका वक्तव्य दिन्छन् । राष्ट्रिय झन्डा, पार्टीको झन्डा ओढाउँछन्। राजकीय सम्मान अथवा कुनै न कुनै खालको सम्मानका साथ अन्त्यष्टि गरिन्छ । नेम्वाङको सम्मान मृत्युपछिको लोकाचारमा मात्र सिमित छैन । इतिहासमा महत्वपूर्ण राजनीतिक अवसर पाएका नेम्वाङ पाएको जिम्मेवारीलाई निभाउन सक्ने हैसियत भएका र भूमिका निभाएका व्यक्तित्व हुन् । एउटा जनजातीको छोरा, राजनीतिमा हुने जटिलतालाई पार गर्दै त्यो उचाई हासिल गर्नु चानचुने कुरा थिएन ।
देश विभिन्न परिस्थितिका कठिन मोडमा नेम्वाङले केही महत्वपूर्ण योगदान पुर्याएका छन् । अत्यन्त फोहोरी मानिने नेपालको राजनीति, जहाँ एउटै पार्टी भित्र पनि गुटउपगुटले ग्रसित छ तर नेम्वाङ त्यस्ता राजनीतिक पात्र हुन् जसले संविधान निर्माणका ऐतिहासिक अवसरमा सर्वसम्मत संविधानसभा अध्यक्ष रहे । हामीले पाएको संविधानभित्रका धेरै संघर्ष छन् । दाउपेच छन् । कुनकुन स्वार्थ समूहका चंगुलबाट बाहिरिएको हो संविधान धेरैलाई थाहा छ । संविधानसभाको अध्यक्षको हैसियतमा नेम्वाङले मिलाएको सन्तुलन र धैर्यताका कारण आज हामीले संविधान पाएका छौं । संविधानभित्रका केही विमती होलान्, कतै कतै अहिले पनि सुनिन्छ तर सक्दो सबैलाई समेट्ने प्रयास गरिएको छ ।
जसले राष्ट्रको विषम परिस्थितमा पनि गति दिन सफल भए । दश तिर फर्किएका दललाई एउटै लयमा लिएर उनले संविधान बनाउन खेलेको समन्वयकारी भूमिकालाई देशले जहिल्यै संझिइरहनेछ । माओवादीलाई युद्ध विराम, सेना समायोजन, शान्ति प्रक्रियामा सभामुखको रुपमा गरेको भूमिका नेम्वाङको राजनीतिक जीवनको सफल पक्ष हो । नेपाली राजनीतिकको महाभारत महासङ्ग्राममा पनि एउटा सच्चा कर्मशील भूमिका निभाएर विवाद रहित विद्धान विदुरको जस्तो भूमिका निभाउन सफल व्यक्तित्वको रूपमा नेम्वाङलाई चिन्न सकिन्छ । कोही कसैको राजनिती स्वार्थले राज्य विखण्डनबाट जोगाउन अडिग रहेर सुवास नेवाङ्गको राजनीति जीवनलाई धेरैले कदर गर्ने गरेका छन् ।
देशलाई आमूल परिवर्तन गर्ने लक्ष्य लिएर अगाडी बढेको माओवादी एजेन्डा , भीष्म प्रतिज्ञा विपीको बचनमा कांग्रेसको देश बचाउने जिम्मेवारी र देशलाई कायापलट गर्ने के.पी.ओली दुर्योधनको अभियानमा एउटा आदर्श र नैतिकवान् भूमिकामा सुवास नेम्वाङ कर्णको भूमिका निभाउन सफल राजनीतिक योद्धाको रूपमा नेपाली राजनीतिको इतिहासमा उनको नाम अमर रहने छ । संविधान बाँच्दासम्म कहिल्यै पूर्व नहुने ‘संविधानसभा अध्यक्ष’ मा सुवास नेम्वाङको नाम युगौं इतिहासले पढ्ने छ ।
अलबिदा संविधानसभा अध्यक्ष सुवास नेवाङ । हार्दिक समवेदना श्रद्धा सुमन !