देश कहिले र कसले बनाउने ?

Image
‘स्वर्ग जस्तो देश नेपाल’ आज आफ्नै देश बिरानो हुने परिस्थिति बन्दैछ । नेताले भोलिको नेपालको भविष्यको बारेमा आज सोच्न सकेनन् भने भोलिको परिस्थितिको जिम्मेवार को हुने हो?
जयदेश श्रेष्ठ देशमा एउटा चिकित्सक, इञ्जिनियर, चार्टर एकाउन्टेन्ट (सिए), नर्स, भेटेरिनरी डाक्टर, कृषि विज्ञ, प्राध्यापकदेखि भौतिक शास्त्र, रसायनशास्त्र, जीवविज्ञान लगायतका अन्य विषय पढेका, दक्षता हासिल गरेका जनशक्ति उत्पादनमा राज्यको लगानी, घर परिवार र स्वयं व्यक्तिको योगदान कति हुन्छ ? कसैले अनुमान गर्न सक्छ ? राष्ट्रको लागि अमूल्य युवा पिँढी फल दिने परिपक्क उत्पादक बोट उखेलेर विदेश पठाउँदैछौं। नेपाल सरकारसँग विदेशिएका नेपालीको सही तथ्याङ्क छ न त युवा पिँढी विदेशिएकोमा पश्चाताप छ। दिनहुँ एयरपोर्टबाट पलायमान हुने युवाको भीड देख्दा भोलिको नेपालको कल्पना गर्दा पनि दिक्दारी हुन्छ। लोकतान्त्रिक व्यवस्थासहितको गणतन्त्र स्थापना, त्यसमाथि जनताको सुदिन ल्याउन जनयुद्ध लडेको माओवादीका हातमा राज्य व्यवस्थाको साँचो, किन यो अवस्थामा पनि आफ्नो देशमा युवाहरूलाई काम गरि खाने वातावरण छैन ? योग्यता र क्षमता अनुसार काम राज्यले दिन सकेको छैन, पाएकै अवसरमा पनि सम्मानजनक र जीविकोपार्जन हुने तलव सुविधा सरकारले व्यवस्थापन गर्न सकेको छैन । विदेशिएका युवा पिँढीहरू देख्दा, देशमा भएको परिवर्तन र लोकतन्त्रसहितको गणतन्त्र के को लागि भन्ने प्रश्न उठिरहेको छ। भाषण गर्दा नेताहरूले देशमा परिवर्तन ल्यायौं, लोकतन्त्र ल्यायाैं, जन अधिकार ल्यायौं, संविधान बनायाैं , भनिरहेका छन् । खास देशमा परिवर्तनको प्रत्याभूति कसले गरिरहेका छन्? आज गरीब निमुखा नेपालीले शान्ति सुव्यवस्थाको अनुभूति गर्न सकेका छैनन् । हामी सबैले देखेका भोगेका अनगिन्ती उदाहरणहरू हुन यी । निर्मला पन्त जस्तै कयौँ नाबालिका, महिला दिन दहाडै बलात्कृत गरेर हत्या हुन्छन् । गरीब निमुखाहरू न्याय नपाएर अदालतमा नै आत्महत्या गर्छन् । गरीबीले दिन दिनै मानिसहरू झुन्डिएर मर्छन् । खोलानालामा डुबेर मर्छन् । छतबाट हाम फालेर आत्महत्या गर्छन् । ऋण तिर्न नसकेर मानिसहरू सडकमा आत्मदाह गर्दैछन् तर यस्तो अवस्थामा पनि सरकार देखेर पनि नदेखे झैं गर्छ । सरकारले समस्या समाधानको जिम्मेवारी र दायित्व महसुस गरेको छैन । देशमा भएको वौद्धिक व्यक्तित्वहरू विदेश पलायमान गराएर देशमा बेथितिको भाँड भैलोमा राजनीतिक प्रतिसोधको नाममा जस्तो सुकै घटना परिस्थितिलाई ढाकछोप गरी सरकार र नेताहरू आफ्नो सत्ता टिकाउन व्यस्त छन् ।
विदेशिएका युवाहरूमा आफ्नै कथा, व्यथा र पीडा छ । तिनीहरूले आफ्नो देश, राष्ट्र खोजिरहेका छन् । तिनीहरूले अरू देश बुझेर हाम्रो देशमा फर्केर विकास गर्ने वातावरण छैन ।
जनताको छोराले आमाबुबा घर परिवारका लागि ल्याएको ૪ , ५ तोला सुन एयरपोर्टमा खानतलासी र यान्त्रिक मेसिनको सहायताले पक्रिन्छ । तर त्यही एयरपोर्टबाट कसरी क्विन्टलका क्विन्टल सुन तस्करी हुन्छ ? उल्टोबाटो चलेको यो देशमा ठूला ठूला अनेकौँ घोटाला काण्डहरूमा सबै घटनाको दोषी आखिर ठूला नेताहरू र तिनहरूको सन्तान, परिवारको नाम जोडिन्छ अनि अनुसन्धानको दायरा, कारबाहीको प्रक्रियाहरू यत्तिकै टुङ्गिन्छ । यो कस्तो देश हो ? जुन नेता र पार्टीको सरकार हुन्छ उसले आफ्नो मान्छे र कार्यकर्ताहरू दोषी देख्दैनन् । तिनीहरूलाई उन्मुक्ति दिन्छ । अनि अरू पार्टी र अन्य व्यक्तिहरूको अपराध देख्छ कारबाही गर्छ । न्याय अदालतबाट हेर्ने होइन? देशमा कुनै पनि निकाय प्रशासनले निर्भीक भएर स्वतन्त्र रूपमा निष्पक्ष भएर काम गर्न सक्दैनन्। पार्टी नेताहरूको आदेशमा प्रशासन निरीह भएर कारबाही गर्छन् । बिकाऊ र भागबण्डाको कोटामा नियुक्ति हुने उच्च पदस्थ व्यक्तिहरूले कसरी जनताको लागि निष्पक्ष भएर काम गर्न सक्छन् ? प्रजातन्त्रको नाममा आएको लोकतन्त्रमा जनताले देशमा शान्ति सुव्यवस्थाको प्रत्याभूति नेपाली जनताले गर्न सक्दैनन् भने लोकतन्त्रको के अर्थ ? ‘स्वर्ग जस्तो देश नेपाल’ आज आफ्नै देश बिरानो हुने परिस्थिति बन्दैछ । नेताले भोलिको नेपालको भविष्यको बारेमा आज सोच्न सकेनन् भने भोलिको परिस्थितिको जिम्मेवार को हुने हो? राज्य ढुकुटी सखाप पारेर विदेशी सहयोग इसारा सरकार चलाउँछ भने यो देशको भोलि भविष्य सुखमयको कल्पना गर्न सकिँदैन । आफ्नो सरकार हुँदा नेताहरू देशलाई सिङ्गापुर , मलेसिया, अस्ट्रेलियाको दाँजोमा पुर्याउन्छौ भनेर भाषण गर्छन् । अझै पनि तिनीहरूको कुरा कति सुन्ने ? आफ्नो सरकार टिकाउन जस्तो सुकै पार्टी पार्टी बिच सहकार्य र सम्झौता गर्छन् भने पार्टी नेता र सरकार नेपाली जनताको हुन सक्दैन ।
आज विदेशिएका आफ्ना सन्तान भेट्न पासपोर्ट बनाएर चाडवाड मनाउन विदेश जान परेको अवस्था छ । आफ्ना सन्तान जहाँ पुगे पनि जे जस्तो ठाउँमा पुगे पनि तिनीहरूको प्रगति होस् भन्ने कामना बाहेक आम नेपाली आमाबुवाले अरू केही गर्न सक्दैनन् ।
विदेशिएका युवाहरूमा आफ्नै कथा, व्यथा र पीडा छ । तिनीहरूले आफ्नो देश, राष्ट्र खोजिरहेका छन् । तिनीहरूले अरू देश बुझेर हाम्रो देशमा फर्केर विकास गर्ने वातावरण छैन । तर पनि आज विदेशका धेरै ठाउँहरूमा नेपालको झल्को आउने परिवेश बनाएको छ । विदेशमा पनि नेपालको अनुभूति आउने नेपाली कला भेषभुषा हाम्रो संस्कृति जोगाउने पर्वहरू पनि विदेशमा गर्दै आएका छन् । नेताहरूले देश बिर्से तर विदेशिएका नेपालीहरूले आफ्नो देश र घर सम्झिने काम गर्दै आएका छन् । नेपालीको महान चाड विजया दशमी र तिहार मनाउनको लागी विदेशमा रहेका नेपालीहरू लालायित छन् । देश परिस्थितिले उनीहरू नेपाल आउन नसकिरहेको बेला आफ्ना अभिभावकहरू विदेशमा बोलाएर चाडवाड मनाउने क्रम बढ्दो छ । यो देशको माया हो । ‘जननी जन्मभूमि स्वर्गादपि गरियसी’ यसको अर्थ यहाँ भनि रहनु पर्दैन । जब देश छोडेर विदेशमा रहन्छ तब यो शब्दहरूको मार्मिक अर्थ बोध गराउँदछ । आज विदेशिएका आफ्ना सन्तान भेट्न पासपोर्ट बनाएर चाडवाड मनाउन विदेश जान परेको अवस्था छ । आफ्ना सन्तान जहाँ पुगे पनि जे जस्तो ठाउँमा पुगे पनि तिनीहरूको प्रगति होस् भन्ने कामना बाहेक आम नेपाली आमाबुवाले अरू केही गर्न सक्दैनन् । आफ्ना सन्तानको खुसीको लागि जस्तो सुकै पीडा सहेर ऋण खोजेर दिन प्रति दिन आफ्नो सन्तान बिदाइ गरी रहेको अवस्था छ । नेपालीहरूको पारिवारिक कथा व्यथा कस्तो हुने हो ? भोलिको भविष्य कस्तो हुने हो, अब कसले बनाउने हो नेपाल ? प्रश्न अनुत्तरित छ । अस्तु !
Tags: