‘बीवाइडी डल्फिन’ सार्वजनिक

Image
काठमाडौं – नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारिक आयातकर्ता एवं वितरक साइमेक्स इंकले विद्युतीय गाडी ‘बीवाईडी डल्फिन’ सार्वजनिक गरेको छ । कम्पनीले सोमवार एक कार्यक्रममार्फत ‘बीवाईडी डल्फिन’ सार्वजनिक गरेको हो । कम्पनीले यसको शुरुआती मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकेको छ । डल्फिन ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी भएको बताइएको छ । यो ह्याचब्याग बीवाइडीको ओसियन सिरिजको पहिलो गाडी भएको बताइएको छ । डल्फिनमा ४४ दशमलव ९ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको र एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ । बीवाइडी डल्फिनको विक्री शुभारम्भले सवारीसाधन व्यवसायको क्षेत्रमा कोशेढुंगा सावित भएको कम्पनीको दाबी छ । सोमबार भएको कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले सबै सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै ग्राहकहरूलाई अत्यन्त सन्तुष्टी र नेपालमा विद्युतीय गतिशीलताको अनुकूलन सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन् । साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बिवाइडी विद्युतीय गाडी अटोमोबाइलको रूपमा मात्र विक्री नगरी यसलाई समाधानको रूपमा गर्दै आएको बताए । ‘यो भनेको देशको घरेलु ऊर्जा खपत र दिगो विकासको आवश्यकतालाई पूरा गर्ने जीवनशैली हो, हामी हाम्रा ग्राहकका प्रत्येक सीमामा ग्राहक अनुभव बढाउन र इको प्रणाली निर्माण गर्न केन्द्रित छौं,’ उनले भने । कार्यक्रममा बोल्दै नेपाली बजारका लागि जिम्मेवार मुख्यालयका बिवाइडी प्रतिनिधि एडम हुले बिवाइडी डल्फिनको बहुमुखी प्रतिभा र विश्वसनीयताबारे बताए । उनले भने, ‘यो नेपालका लागि निकै विशेष क्षण हो । बिवाइडी अट्टो ३ ले नेपाली बजारमा निकै राम्रो बजार पाएको थियो । यसपछि डल्फिनले पनि बजार पाउनेमा निकै सकारात्मक र आशावादी छौं। यसबाहेक भविष्यमा हामी नेपाली बजारका लागि हाम्रो लाइनअपमा थप विविधतायुक्त गाडी थप्न प्रतिबद्ध छौं ।’ बीवाइडीको अत्याधुनिक प्रविधिले विश्वव्यापी रूपमा चमत्कार सिर्जना गरिरहेको उनले बताए । यसै आधारमा हामीले ५० लाख बढी नयाँ ऊर्जा सवारीसाधनहरू वितरण गरिसकेको उनको भनाइ छ ।
Tags: