सामसुङले नेपालमा गरेको लगानी, उत्पादन र रोजगारीका सन्दर्भमा राष्ट्रपतिको चासो

Image
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरीयाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले सोमवार शिष्टाचार भेट गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका थिए । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराएका थिए । सो अवसरमा उनले नेपालमा सञ्चालन गर्न सकिने उद्योग, नेपाली विद्यार्थीलाई उच्चस्तरको सूचना प्रविधिसम्बन्धी तालीमका सम्भावनाका विषयमा प्रष्ट पारेका थिए । भविष्यमा सामसुङ कम्पनी र नेपालबीच हुनसक्ने सहयोग योजना र सूचना प्रविधि तथा औद्योगिक उत्पादन सम्बन्धीका योजनाबारे पनि पार्कले सो अवसरमा जानकारी गराएका थिए । सो अवसरमा सामसुङका उपाध्यक्ष द्वय ह्युङ वु ली र सुङ जुन पार्क , प्रवन्ध निर्देशक ह्यून ली, नेपालका लागि कोरियन राजदूत थेयङ पाक र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा लगायतको उपस्थिति थियो ।   स्वदेशमै टीभी उत्पादन र रोजगारीको अवसर    सामसुङ कम्पनीको प्रविधिमा आधारित रहेर गोल्छा समूहले नवलपरासीको भूमहीमा पूर्ण टीभी जडान उत्पादन कारखाना सञ्चालनमा ल्याएको पनि सो अवसरमा जानकारी दिइयो । गत अप्रिलबाट सो कारखाना सञ्चालनमा आएको जनाइएको छ । सो कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक एक लाख ओटा टीभी तयार हुने तथा एक हजार जनाले रोजगारी पाउन सक्ने बताइएको छ । राष्ट्रपति पौडेललाई सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट पार्कले उक्त कुराको जानकारी गराएका थिए । साथै सामसुङको प्रविधि हस्तान्तरण कार्यक्रमअन्र्तगत पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा सामसुङ इन्नोभेसन क्याम्पस सञ्चालनअन्र्तगत सयजना विद्यार्थीलाई सहभागी गराई दुई वर्षे कार्यक्रम सञ्चालनमा रहेको सो अवसरमा जानकारी दिइएको थियो । राष्ट्रपति पौडेलले प्रविधि हस्तान्तरण सम्बन्धी कार्यक्रम, कारखानामा तयार हुने टिभी तथा त्यसबाट यहाँ सृजना हुने रोजगारीप्रति प्रसन्नता प्रकट गरेका थिए ।
Tags: