आठ वर्षदेखि सडक निर्माण अलपत्र

Image
सुरेश छन्त्याल/बागलुङ गलकोट नगरपालिका –११ रिघामा रिघाको ठूलोचौरदेखि साउनेखोलासम्म मोटर बाटो मर्मत अलपत्र परेको छ । मल्म, रिघा, सिसाखानी, जलजला, रण्सिङकिटेनी हुँदै ढोरपाटन जोड्ने मध्यवैकल्पिक लोकमार्गको मर्मत कार्य ८ वर्षदेखि अलपत्र छ। रिघाको ठूलोचौरदेखि साउनेखोलासम्मको मोटरबाटो स्तरोन्नतिका लागि ढोरपाटन निर्माण सेवाले आर्थिक वर्ष २०७१÷७२ मा निर्माणको जिम्मा लिएको थियो । स्तरोन्नतिको जिम्मा पाएको लामो समयसम्म पनि अगाडि नबढेर अलपत्र अवस्थामा रहेको स्थानीय सोम श्रीसले जानकारी दिए । गलकोट नगरपालिका–११ का अध्यक्ष डम्मर श्रीसले सडक कार्यालयमा पुगी पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको बताए । बाटो मर्मतको जिम्मा पाएको ढोरपाटन निर्माण सेवाका सुरेन्द्र बुढाले बजेटको कारणले अगाडि बढ्न नसकेको र भएको कामको भुक्तानीको लागि पटक पटक आग्रह गर्दा पनि नपाएको गुनासो गरे । सडक विभाग बागलुङले सडक विभागमा दुई वर्षयता कुनै सम्झौता नभएको बताएको छ ।
Tags: