लुम्बिनीमा करार कर्मचारी नियुक्त नगरिने, विशेष अवस्थामा गरिने नियुक्तिमा स्थायी सरह सुविधा

Image
रुपन्देही – लुम्बिनी प्रदेशमा करार कर्मचारी नियुक्त नगरिने भएको छ । प्रदेश लोकसेवा आयोगले आफूले सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेदवारबाट आवश्यकताअनुसार अस्थायी नियुक्ति गरिने भएको हो । शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा यस्तो कुरा उल्लेख छ। त्यसका लागि आयोगले छुट्टै योग्यताक्रम अनुसारको सूची तयार गर्नेछ । प्रदेश निजामती सेवाको रिक्त पदमा अस्थायी नियुक्त गर्नुपर्ने भएमा सम्बन्धित मन्त्रालयले लोकसेवा आयोगसमक्ष लेखी पठाउनुपर्नेछ । सोहीअनुसार लोकसेवाले अस्थायी कर्मचारी नियुक्तिका लागि नाम सिफारिस गर्नेछ । यो विपरीत करार कर्मचारी नियुक्त गरे खाइपाइ आएका सबै सुविधा असुलउपर गर्न सकिनेछ । यद्यपि स्वीकृत दरबन्दीभित्रको कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, माली, स्वीपर, पलम्बर, इलेक्ट्रिसियन र सवारी चालकजस्ता पद रिक्त भएमा भने करार वा ज्यालादारीमा नियुक्त गर्न सकिने बताइएको छ । त्यस्तै स्वास्थ्य सेवाको चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन, असाधारण वा लामो बिदामा रहेका कारण स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ परेमा वा चिकित्सक पद स्थायी वा अस्थायी पदपूर्ति हुन नसकेमा न्यूनतम योग्यता भएका चिकित्सक वा स्वास्थ्यकर्मीलाई करार सेवामा काम लगाउन सकिनेछ । त्यसरी नियुक्त भएका करार कर्मचारीलाई पनि सामाजिक सुरक्षा योजनामा समेटिने भएको छ । साथै करार कर्मचारीले निजामती कर्मचारीले पाएसरह सुविधा पाउनेछन् । करार कर्मचारीले पनि भैपरी र पर्व बिदा, घर बिदा, बिरामी बिदा, काजकिरिया बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, महिनावारी बिदा पाउनेछन् । त्यस्तै पोशाक भत्ता, चाडपर्व र महँगी भत्ता पनि पाउनेछन् । साथै सरकारले आवश्यक परेका खण्डमा योजना, विकास र सार्वजनिक प्रशासनलगायत क्षेत्रमा पारिश्रमिक तथा सुविधा दिइ काममा लगाउनसक्ने व्यवस्था ऐनमा उल्लेख छ ।
Tags: