राष्ट्रपतिद्वारा विभिन्न पुरस्कार प्रदान

Image
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जननायक बीपी कोइराला स्मृति ट्रस्टले वर्सेनि प्रदान गर्ने बीपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमललाई पुरस्कृत गरेका छन् । सो पुरस्कारको राशि १ लाख १ रुपैयाँ र सम्मानपत्र रहेको छ । त्यस्तै राष्ट्रपति पौडेलले ट्रस्टले प्रदान गर्ने बीपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपानेलाई पुरस्कृत गरेका छन् । सो पुरस्कारको राशि रू. ५१ हजार नगद र सम्मानपत्र रहेको छ । ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रवार राष्ट्रपति भवन शीतलनीवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सो पुरस्कार प्रदान गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासनसहितको लामो संघर्षपूर्ण जीवन यात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तराष्ट्रिय जगतमा रहेको चर्चा गरे । विश्वमा उत्कृष्ट मानिएको उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरणमा आधारित लोकतान्त्रिक सिद्धान्तप्रतिको बीपीको विचार ‘सबै नेपालीको आधारभूत आवश्यकता र सबै नेपाली परिवारको मध्यम वर्गीय हैसियत’ भन्ने उनको धारणा समानताको सिद्धान्तलाई मुर्तरूप दिने व्यवहारिक र ठोस दृष्टिकोण भएको बताउँंदै राष्ट्रपति पौडेलले अहिले पनि सो दृष्टिकोण उत्तिकै सान्दर्भिक रहेको बताए । ‘बीपिले देखाउनुभएको आदर्शमा हामी हिड्न सकेमात्र उहाँंप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने पनि म ठान्दछु,’राष्ट्रपति पौडेलले भने । उनले स्वतन्त्रतालाई मानिसको अविच्छिन्न अधिकारका रुपमा स्थापित गरेर लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने बीपीको मान्यता रहेको उल्लेख गरे । ‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँंदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौं,’ राष्ट्रपति पौडेलले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा पर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न बीपीले अघि सार्नुभएको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन् ।’ राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अहिलेको संविधान बीपी विचारकै सार भएको धारणा व्यक्त गरे । उनले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बीपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको धारणा व्यक्त गरे । उनले बीपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गरे । ‘उहाँ राजनीति र साहित्यका एक अनुपम पुञ्ज हुनुहुन्थ्यो, राजनीतिको कुनै प्रभाव साहित्यमा पर्न नदिइकन आफू दुवै क्षेत्रमा उत्तिकै अब्बल देखिनसक्ने बीपीको जस्तो यस्तो गुण विश्वका विरलै व्यक्तिमा पाइन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘त्यस्तो व्यक्तित्व पाउनु नेपालीका लागि गर्वको विषय हो ।’ राष्ट्रपति पौडेलले नेपालको राजनीतिमा सदैव उच्चस्थानमा रहनुहुने बीपीमा रहेको साहित्यिक प्रतिभाले समेत उनको बहुआयामिक व्यक्तित्वलाई प्रष्टयाएको पनि बताए । कार्यक्रममा ट्रस्टका सदस्य एवम सांसद डा शशांक कोइरालाले धन्यवाद ज्ञापन गर्दै बीपीको लोकतन्त्रप्रतिको निष्ठा, विचार र दर्शनलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले बीपीको समग्र व्यक्तित्वको अध्ययन अनुसन्धानका लागि ट्रस्टले आफ्नै भवन निर्माण गरी अनुसन्धान केन्द्र बनाउन लागेको जानकारी गराए । सम्मानित व्यक्तित्व बिमलले बीपी सदैव स्वतन्त्रता र समानताका पक्षधर भएको भन्दै लोकतान्त्रिक समाजवादनै बीपीको राजनीतिको चेतनाको प्राण भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, सांसदहरु तथा विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।
Tags: