चौधरी र अदानी ग्रुपले सिमेन्ट व्यवसायमा साझेदारी गर्ने

Image
काठमाडौं - नेपालको व्यावसायिक घराना चौधरी ग्रुप र भारतको व्यावसायिक घराना अदानी ग्रुपबीच दुई देशबीच सिमेन्ट व्यवसायको अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सहमति भएको छ । नेपाल र भारतवीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यले दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्ट व्यवसायमा नयाँ अध्याय शुरू गरेको बताइएको छ ।   नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले सझेदारी गरिएको चौधरी ग्रुपले जानकारी दिएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले सहमतिले दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।   सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउँदै दुवै व्यापारिक समूह सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेको बताइएको छ । साझा मूल्य मान्यता र आकांक्षा प्रतिबिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्वीपक्षीय सम्बन्धको भविष्यकालागि प्रतिबद्ध रहँदै थप आर्थिक सम्बन्धलाई बढावा दिनेतर्फ सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समूहले लिएका छन् ।
Tags: