निमोनियाबाट वडाध्यक्ष रिजालको निधन

Image
काठमाडौं – काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। उनको निमोनियाका कारण निधन भएको हो। वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल भर्ना गरिएको थियो। अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद विजुक्छेले राससलाई जानकारी दिए। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए।
Tags: