भदौ २८ मा आउँदै सबैले भर्न मिल्ने मिड सोलु हाईड्रोपावरको आईपीओ

Image
काठमाडौं – पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरेको मिड सोलु हाईड्रोपावर लिमिटेडले भदौ २८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासन गर्न लागिएको हो । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साउन १४ देखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ भबाँडफाँट गरिसकेको छ । त्यस्तै त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ देखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ सोमवार बाँडफाँट गरिएको छ । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्न बोर्डबाट अनुमति पाएको हो । सर्वसाधारणमा छिटो अवधि असोज १ गतेदेखि विक्रीमा रहने यो आईपीओ सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असोज ११ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओसमेत छिटो अवधिसम्म मात्र विक्रीमा रहने देखिन्छ । कम्पनीको आईपीओका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपाल लिमिटेडले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्युअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले सोलुखुम्बुमा ९ दशमलव ५ मेगावाट मध्य सोलु खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कूल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ छ भने प्रतिमेगावाट कूल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा छ ।
Tags: