बुवाले लामो सास तानेर बोल्नु भो, ‘खोइ मैले गरेको जस्तो बुवाआमाको सेवा तिमीहरूले गरेको छैनौ। म मरेपछि स्वर्ग जाने बाटो खुलाएको खोइ ? पण्डितहरूलाई दान दक्षिणा, पितृ तार्ने काम गरेको खोइ ?,’ बुवाले असन्तुष्टिका भाव ओकल्नुभयो, ‘शुद्ध शान्ति गर्नुपर्यो। छोइछाई गर्नु भएन। यस्तो तिमीहरूको तरिकाले हुन्छ ?’
–जयदेश श्रेष्ठ
उहिले सानो छँदा हामीलाई माथिल्लो घरे फुपू बजैले दन्त्यकथा सुनाउनुहुन्थ्यो। अहिले तिनै फुपु बजैका कुराहरू हामीलाई दन्त्य कथा जस्तै लाग्छन्। हाम्री फुपू बजै अलि धेरै नै सिकिस्त हुनुहुन्थ्यो। बेलाबेलामा उहाँ अहिले गयो , भरे जालाको अवस्थामा पुग्नु हुन्थ्यो र उहाँलाई तल सार्नु पर्थ्यो। उहाँको अवस्थाका कारण चाहे बिहानीको झिसमिसे होस्, साँझको पहर होस् या आधा रात, जुनसुकै बेलामा पनि एकाएक ‘नारायण, नारायण भन्नुस्, वैकुण्ठ बास होस्’ जस्ता वाक्यहरूको आवाज सुनिने ग¥थ्यो। हामी सानो छँदा देखेको कुरा, अहिले पनि हाम्रो मानसपटलमा अहिले पनि गुञ्जिरहन्छ। माथिल्लो घरे फुपूको घरतिर मात्र नभएर बेलाबेलामा छरछिमेकका बिरामी मानिस भएका घरहरूमा यसरी नै कराउने गर्दथे, एकछिन पछि कोलाहल सुनिन्थ्यो, आत्तिएर कराएका मानिसहरू केही समयपछि फेरि सामसुम हुन्थ्यो। त्यतिखेरको हाम्रो बाल सुलभ मनस्थितिमा लाग्दथ्यो , ‘मानिस मर्न निक्कै गाह्रो हुँदोरहेछ, सबै मानिस यसरी नै मर्दा रहेछन्।’
फुपू बजैलाई तल सारेर लिपपोत गरिएको आँगनमा परालमाथि सुताइएको थियो। फुपू बजैको सास मधुरो चल्दै थियो, नाडी बेलाबेलामा हराएर फेरि आउने गरिरहेको थियो। फुपू बजैको अर्धचेतन शरीरमा मान्छेहरू कहिले धड्कन जाँच्थे, कहिले नाडी छाम्थे, कहिले परेली उठाएर नानी हेर्थे र धुकधुकी छ, नाडी चल्दैछ, जालो लागेको छैन भन्दै बित्ने समयको बारेमा अड्कल लगाएर कुरा गर्थे। परिवारका सदस्यहरू भने कपास भिजाएर सुकेका ओठ भिजाइ दिन्थे र मुखमा अलिकति पानी हाली दिँदै ‘भगवानको नाम लेउ’ भनेर फुपू बजैको कानमा सुनाउँथे।
फुपू बजैको जस्तै टोल छिमेकमा महिनौंसम्मको यस्तो पीडादायी अवस्थाहरू हामीले अरूका पनि देखेका थिर्यौं। मानिसहरू वर्षौंसम्म बिरामी हुँदा पनि धामीझाँक्री वैद्य देखाउँथे। उनीहरूले जे भन्थे त्यही गर्थे। थाल ठटाएर कालो भाले काटेर, भूतप्रेत मन्साएर, बिरामी निको होस् भनेर कामना गर्थे। धामीझाँक्री या वैद्यले जे–जे भन्यो त्यही त्यही गर्दा पनि निको भएन भने अभागीको दोष लगाएर कस्तो दुःख पाएको भनेर उसको कर्मलाई धिक्कार्दथे। बिरामीलाई नछोइ उसको नाममा पूजाआजा गरेर बिरामी निको होस् भनी कामना गर्थे। बिरामीको माया मारेर गौदान, पूजापाठ गरेर पुरेत बाजेलाई खुसी पार्थे। अब वैतरणी तर्ने भयो, स्वर्गको बास होस् भन्ने सोचेर बिरामीको कान कानमा ‘अब चिन्ता लिनु पर्दैन नारायण भन्नुस् ’ भन्ने गर्थे।
फुपू बजै यी सबै कुराहरू गरे पनि प्राण छोड्न सकेकी थिइनन्। मानिसको हृदयमा अड्किएको कुनै धोको पूरा नभएसम्म प्राण जाँदैन भन्ने लोकोक्ति छ। फुपू बजैको प्राण किन नगएको होला। के कारण छ भनेर सबैले अड्कल लगाउन थाले। अन्तिममा कसैले फुपू बजैको सन्दुकको साँचो उनको छातीमा राखिदिने सल्लाह दिए र त्यसै गरियो र बल्ल त्यसपछि उहाँको प्राण गएको थियो। मानिस मरेपछि बैकुष्ठवास ! यो लोकबाट बिदा भएर स्वर्गलोकमा पुगोस् भनेर कामना गर्छन्।
मेरो बुवा जवानी यस्तो सामाजिक काममा निकै खटिने व्यक्ति हुनुुहुुन्छ। अहिले ८४ वर्ष पार गरेका मेरो बुवा गुनासो गर्नुहुन्छ, ‘हाम्रो पालामा बुढाबुढी बिरामी हुँदा महिनौंसम्म बिरामी मान्छेको वरिपरि बसेर स्याहारसुसार गर्थे। मैले मेरा बाआमाको वर्षसम्म दिसापिसाब उठाएर सेवा गरें। अन्तमा नवदशा शान्त गराए। गाईदान दिए। पूजापाठ गराए। मरेपछि स्वर्ग जाने बाटो खुलाए। अहिलेका मान्छे के भएका हुन् ? आफन्त इष्टमित्र नातेदार छोरा बुहारी नातिहरू पनि म बिरामी मान्छेको वरिपरि साथमा बस्दैनन्। म बिरामी पर्दा हेर्नसमेत कोही आउँदैन। मान्छेहरू सबैजना आफ्नै काम छ भन्छन्। ‘उ अगाडि भएकाहरू पनि सबै मोबाइलमा व्यस्त छन्,’ बुवा चर्को स्वरमा बोल्नुभयो, ‘तिमीहरूले मेरो सेवा गर्नुपर्छ कि पर्दैन ?’
बुवालाई मैले सम्झाउने प्रयास गरें, 'त्यो जमाना र अहिले फरक छ बुवा , त्यो बेलाको दृश्य मैले पनि देखेको छु। अहिले अवस्था मैले बेहोर्दैछु। बुवा दमको रोगी हुनुहुन्छ। हप्तामा दुई दिन सञ्चो, पाँच दिन बिसञ्चो, कहिले के हुन्छ, कहिले के हुन्छ , हामीले अक्सिजनको सबै व्यवस्था गरेका छौं। घरैमा डाक्टरको चेकजाँच औषधि सबै मिलाएका छौं। नियमित औषधि उपचार गराइरहेका छाैं। कहिले काहीँ अलि, अलि तल माथि त भइहाल्छ। बुढेसकालको रोगी हुनुहुन्छ। सधै नै सबै जना वरिपरि बसेर सेवा गर्न त सकिँदैन नि !'
मैले बुवालाई भने, ‘हजुर अहिले बाँच्दा नर्क भोगेर मरेपछि स्वर्गको कामना गर्नुहुन्छ ? हजुरलाई अहिले उपचार गरी रहेका डाक्टर साहेब राजन परियार हुन्। तपाइँ डाक्टरको भर पर्नु हुन्छ कि धामी, झाँक्री, वैद्य बा वा पुरोहित बाजे को ?’
बुवाले लामो सास तानेर बोल्नु भो, ‘खोइ मैले गरेको जस्तो बुवाआमाको सेवा तिमीहरूले गरेको छैनौ। म मरेपछि स्वर्ग जाने बाटो खुलाएको खोइ ? पण्डितहरूलाई दान दक्षिणा, पितृ तार्ने काम गरेको खोइ ?,’ बुवाले असन्तुष्टिका भाव ओकल्नुभयो, ‘शुद्ध शान्ति गर्नुपर्यो। छोइछाई गर्नु भएन। यस्तो तिमीहरूको तरिकाले हुन्छ ?’
बुवाले पुरानो सोच राख्नुभयो। घर सल्लाह गरेर बुवालाई अनुरोध गरियो, ‘बुवा अब यो औषधि उपचार छोडेर पुरानो रीति गर्ने हो ? हजुरलाई अहिले श्वास फेर्न सजिलो, नदुख्ने ओखती, डाक्टरी औषधि उपचारले गर्दा हजुर हामीसँग बोलिरहनु भएको छ। हजुरलाई केही अप्ठेरो प¥यो कि तुरुन्त हस्पिटल लानुपर्ने हुन्छ। हजुरको स्वास्थ अहिले डाक्टरले हेर्ने हुन्। अहिले जति आरामले बाँचिरहनु भएको छ, त्यही डाक्टर औषधि उपचारले गर्दा हो। अब भन्नुस् हजुरको इच्छा के हो ?’ बुवाले पूजापाठ गर्नुपर्ने, पुरोहित बाहुनलाई दान गर्नुपर्ने, छुवाछुत बार्नुपर्ने, मरेपछि बैतर्नी तर्ने स्वर्गमा बासको आशा गर्नुभयो।
मैले बुवालाई भने, ‘हजुर अहिले बाँच्दा नर्क भोगेर मरेपछि स्वर्गको कामना गर्नुहुन्छ ? हजुरलाई अहिले उपचार गरी रहेका डाक्टर साहेब राजन परियार हुन्। तपाइँ डाक्टरको भर पर्नु हुन्छ कि धामी, झाँक्री, वैद्य बा वा पुरोहित बाजे को ?’
बुवाले मुख उज्यालो पार्दै बोल्नुभयो, ‘पहिलेको जमानामा चलेर हुन्छ ?’ बुवाले धेरै बेर विचार गरेर बोल्नुभयो, ‘मलाई उपचार गरेर बचाउने परियार, दान दक्षिणा बाहुनलाई यो त भएन।’ बुवाले सुस्केरा हाल्दै भन्नुभयो, ‘एकवारको यो मान्छेको चोला कसको मरण कसरी हुने हो कसैलाई थाहा हुँदैन। ऐया , आत्था वेदनामा छटपटिएर कोही पनि मर्न नपरोस् आफू मर्दा छोरा छोरी परिवार सबै अगाडि होस्।’ बुवाको कुरा सुनेर मनमा छटपटी भयो। ‘बुवा हजुर भाग्यमानी हुनुहुन्छ। सबै छोरा बुहारी साथमा छौं। हाम्रा त छोराछोरी सबै विदेशिने भए। अहिलेका सन्तानहरू कोही यता बस्न रुचाउँदैन सबै विदेशमा हुनेछन्,’ मैले भनें।बुवा चिन्तासहित जिज्ञासु बन्नुभयो, ‘साँच्चै तिमीहरूको भविष्य कस्तो हुने होला ?’
मैले भनें, ‘हाम्रो पालामा आफ्नो कुरा सुनी दिने कोही पनि हुँदैन, हामी हस्पिटलको बेडमा हुन्छौं। जिन्दगीको अन्तिम पलमा तुलसी–पत्र र गंगाजल हाम्रो मुखमा हाली दिने कोही हुने छैन, राम नाम भनी शंख फुकी नारायण नारायण भन्नेहरू पनि कोही हुनेछैन, दुःखका आँसु झार्नेहरू पनि हुनेछैन, त्यसैले त हामी जीवन योग सिक्दैछौं, ध्यान गर्दैछौं। आफैभित्र आफै हराउने प्रयत्न गर्नेछौं।’
हामीले बाँच्नुको मिठास भरेर मृत्युको त्यो दिन स्कीकार्न सक्नुपर्नेछ। आफ्नो जीवनका अन्तिम क्षणमा अतीतलाई सम्झिएर धैर्य धारण गरी आफैले आफैलाई सम्झाउनु पर्नेछ। जीवनको अन्तिम पलमा आँखा चिम्लिएर सबै बन्धनबाट मुक्त भएर परमधाममा लिन हुन सक्नुपर्नेछ। त्यो बेला न आफन्त ,न आफ्नो परिवार , न छोराछोरीहरू अगाडि हुनेछन्। केबल आफैले आफैलाई बिदाइ गर्ने गर्ने मृत्यु स्विकार्नु पर्नेछ।
अस्तु !