‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’, फ्रेन्चाइज यात्राकाे नेतृत्व गर्दै वसन्त

Image
दीपा रेग्मी काठमाडौं– पछिल्लो समय नेपालीको खाने शैली परिवर्तन हुँदै गएको छ । नेपाली परिकारको आफ्नै महत्व छ तर नेपाली किचनमा बाह्य प्रभावलाई कसले रोक्न सक्थ्यो । ग्लोवलाइजेशनको युगमा संसार एउटै बनेको अवस्थामा हरेकको जिब्रोले नयाँ स्वाद खोजेकै कारण खाना खाने शैलीमा परिवर्तन आएको मान्न सकिन्छ । परिवर्तन भएको शैलीलाई उपभोक्तामा परिवर्तन यत्तिकै आएको होइन, ती फरक स्वाद भर्ने रेसिपी बजारमा स्थापित भएर मात्र सम्भव भएको हो । यीनै विविधतालाई स्थापित गर्न योगदान दिएको जश ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’लाई पनि जान्छ । काठमाडौंका अधिकांश चोक,बजार र मलमा, त्यस्तै नेपालका मुख्य शहरमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ द बर्गर हाउसको नामबाट स्थपित छ । बर्गर हाउस आज जहाँ छ ,यत्तिकै स्थापित भएको भने होइन । यसमा एउटा युवाको फरक भिजन र सपना लुेकेको छ । ‘फ्रेन्चाइज मोडल’मार्फत सयौं लगानीकर्तालाई जोडेको बर्गर हाउसको अवधारणाको शुरूआत युवा व्यवसायी वसन्त तामाङ लामाले गरेका हुन् । वसन्तले ८ वर्ष अगाडिबाट शुरू गरेको बर्गर हाउस उनले आफ्नै अनुभवको उपार्जन पनि हो । यो व्यवसाय शुरु गर्नुभन्दा अगाडि उनी नेपाल र विदेशमा गरेर ८–९ वर्ष कुकको रूपमा काम गरेका थिए । विदेशमा काम गर्दा उनलाई लाग्यो,‘सानै लगानीमा किन नहोस्, आफ्नै व्यवसाय फरक ढंगले किन नगर्ने ?’ आफैलाई सोधेको प्रश्नले उनलाई नेपाल फर्कायो । रेष्टुरेन्ट, होटल व्यवसायमा आफन्त थिए, साथ पाए र शुरू गरे ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ । ‘हामीले व्यवसाय शुरू गर्दा काठमाडौंमा बाजेको सेकुवा, युनिभर्सलजस्ता सिमित संख्यामा रेष्टुरेन्ट थिए । हामीले रेष्टुेरेन्ट क्षेत्रमा केही फरकपन ल्याऔं भन्ने उद्देश्यले शुरु गरेका हौं,’ वसन्त भन्छन्, ‘बाजेको सेकुवा स्तरको नहोला तर सानै होस् तर मैले जे जानेको छु, त्यही बेच्छु भन्ने उद्देश्यले मैले रेष्टुरेन्ट शुरू गरेको हुँ ।’ अहिले पनि मम चाउमिन पाउने क्याफे धेरै भए पनि इटालियन पिजा, पास्ता, बर्गर, क्रन्चिफाइ चिकन आइटम सबैतिर उपलब्ध नभएको उनको भनाइ छ । ‘अहिले पनि केएफसी पछाडि चिकन आइटम बढी पाउनेमा हामी नै पर्छौं, अर्को हाम्रो उद्देश्य शुरूदेखि नै सस्तो, गुणस्तरीय र सिघ्र सेवा दिनु थियो,’ उनले भने । उनले बानेश्वरचोकबाट शंखमुल जाने बाटोमा आइकालु मिटसपको नजिकै बर्गर हाउसको पहिलो रेष्टुरेन्ट खोलेका थिए । एकैपटक धेरै आउटलेट खोल्ने उनको सपना पनि थिएन र लगानीको अवस्था पनि थिएन । ‘एउटैलाई कसरी सफल बनाउँ भन्ने सोच नै थियो, विस्तारै आफै आउटलेट विस्तार गरें,’ उनले भने,‘पछि विदेशमा रहेरसँगै काम गरिरहेका साथीहरूले नेपालमै तिमीले जस्तै व्यवसाय गर्छौं भनेर योजना लिएर आए , तिम्रै व्यवसायको नामबाट खोल्नु पर्यो भनेर आएपछि ,अर्को अवधारणा थपियो ।’ जसले ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’लाई चेनको रूपमा विस्तार गर्न सहयोग गर्यो । उनलाई अहिले पनि ब्रगर हाउस ब्रान्ड बनेको छ भन्ने लाग्दैन । अहिले काठमाडौं उपत्यकामा १११ र उपत्यका बाहर ३७ ठाउँमा यसका आउटलेट छन् । पश्चिममा महेन्द्रनगर र पूर्वमा दमकसम्म यसका शाखा विस्तार भएका छन् । तराईमा जनकपुर, बर्दिवास, विराटनगर, भैरहवा, बुटवल, नेपालगञ्ज लगायतमा शाखा छन् । ५ हजारभन्दा बढीले रोजगारी गाएका छन् । बर्गर हाउस ब्रान्ड बन्दै गएपछि यसको साखलाई सुरक्षित राख्नको लागि गुणस्तर कायम राख्नुपर्छ भन्ने कुरामा व्यवस्थापन सचेत रहेको उनको भनाइ छ । उनले भने, ‘हाम्रा रेसिपीका बारेमा विभिन्न समयमा कुकहरूलाई तालिम दिँदै आएका छौं, जसको कारण हाम्रो सबै शाखामा एउटै खालको सेवा र गुणस्तर दिनको लागि हामी सक्षम छौं ।’ संख्या बढ्दै जाँदा यसलाई सस्टेन बनाउने कुरामा चुनौती भएपनि व्यवस्थापनमा अहिलेसम्म समस्या नभएको उनको भनाइ छ । उनले भने, ‘हामी एक अर्कालाई बुझेका छौ, कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफल भइरहन्छ ।’शाखा बढ्दै जाँदा यसको लागि आवश्यक पर्ने कच्चापदार्थ बाहिरबाट ल्याउनुपर्ने हुनाले विभिन्न समयमा एलसी नखुल्ने लगायतका समस्या हामीले भोग्दै आएको उनको भनाइ छ । सबै कुरा हामीले माथिबाटै सप्लाई नगरेपनि विभिन्न कम्पनीसँग सम्झौता गरेर पुर्याउँदै आएको उनको भनाइ छ । फ्रेन्चाइज मोडलमा भएको कारण हामीले धेरै कुरालाई ध्यानमा राखेर फ्रेन्चाइज दिँदै आएको उनी बताउँछन् । उनले भने,‘हामीले निश्चित मापदण्ड तय गरेका छौं, विशेष गरी उपत्यका बाहिरको लागि एउटा शहरमा एउटा शाखा सञ्चालन गर्ने रणनीतिमा छौं ।’ उनी द बर्गर हाउसको प्रतिस्पर्धा आफ्ना शाखाबीचमा मात्र सीमित रहेको बताउँछन् । ‘हामी कसैलाई पनि प्रतिस्पर्धीको रूपमा सम्झिन्नौं र प्रतिस्पर्धी छ जस्तो पनि लाग्दैन । हाम्रो प्रतिस्पर्धा हाम्रा शाखा शाखाबीचमा मात्रै हो,’ उनले भने । अहिलेको उपलब्धिबाट सम्पूर्णरुपमा सन्तुष्ट हुने अवस्था रहेपनि उनले विगत १० वर्षलाई फर्केर हेर्दा आज यहाँ पुगिन्छ भन्ने नलागेको बताउँछन् । ‘यति छोटो समयमै यति धेरै शाखा विस्तार हुन्छ भन्ने कुरा सोचेको थिएन, बढीमा २–४ ब्रान्च होलान् भन्ने लागेको थियो तर अहिले १४८ ओटा पुगेका छन्, ’ उनले भने,‘अब नयाँ थप्न भन्दा पनि यिनैमा कसरी गुणस्तर कायम गर्ने भन्ने कुरा चुनौती हो, मैले अहिले त्यसमै ध्यान दिएको छु ।’ उनले द बर्गर हाउस ब्राण्डको रूपमा स्थापित भएपनि नाफाभन्दा पनि दिगो बनाउने चुनौतीमै रहेको उनको भनाइ छ । ‘अहिले सबैतिर महंगी छ, घरभाडा महंगो छ तर मूल्य बढाउन मिलेको छैन, अहिले हामी सस्टेन मात्रै भएर बसेका छौं, धेरै नाफा गर्न सकिएको अवस्था छैन, ’ उनले भने, ‘एक डेढ वर्ष देखि त्यही अवस्थामा छौं । हाम्रो कर्मचारी खर्च पनि बढी नै छ ।’ २–३ वर्षदेखि मेनुको रेट बढेको छैन, बढाउन क्राइसिसको समय भएकाले त्यति सम्भव नभएको बताए । उपत्यका बाहिर पनि प्रतिकृया राम्रो आएको उनको भनाइ छ । ‘कतिपय ठाउँमा बर्गर खानकै लागि पनि काठमाडौं आउनुपर्ने अवस्था थियो, अहिले हाम्रो शाखाहरूले विभिन्न ठाउँमा त्यसको आवश्यकता पूरा गरिरहेका छन्, ’ उनले भने, ‘कच्चापदार्थ धेरै जसो भारत र चाइनाबाट आउँछ भने त्यस बाहेकका आवश्यकता नेपालकै उत्पादन प्रयोग गरिरहेका छौं ।’ समय र आवश्यकता अनुसार मेनुमा आइटम थप्दै गएको द बर्गर हाउसले पछिल्लो समय थकाली आइटम पनि शुरू गरेको छ । लगानीका हिसाबले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सबै ब्रान्चमा गरेर १ अर्ब रुपैयाँ माथिको लगानी पुगेको छ । सयौं लगानीकर्ता भएको र कारोबार छुट्टाछुट्टै हुने हुनाले लगानी यति नै छ भन्न सकिने अवस्था भने छैन । खानाको गुणस्तर, सेवा, मसलाको प्रयोग लगायतमा हामीले निरन्तर अनुगमन गरिरहेको उनको भनाइ छ । बजारमा आफूहरूको जस्तो गुणस्तरमा मूल्य तुलना गर्दा अन्यभन्दा सस्तोमा सेवा दिँदै आएको उनको दाबी छ । ‘हामीले अन्य रेष्टुरेन्टमा भन्दा धेरै सस्तोमा सेवा दिँदै आएका छौं । हाम्रोमा १५० रुपैयाँमा पाइने गुणस्तरको बर्गर काठमाडौंममा अन्यत्र ४०० रुपैयाँ परिरहेको हुन्छ, त्यसमाथि हाम्रोमा जस्तो गुणस्तर पाउन पनि अन्यत्र गाह्रो हुन्छ । हामी बजारको सस्तो भनिएका भन्दा पनि सुविधाका हिसाबले सस्तोमा दिन्छौं,’ उनले भने । उपत्यका भित्र मेनु रेट एउटै छ भने उपत्यका बाहिर ठाउँ हेरेर फरक फरक रहेको छ । द बर्गरमा सबै भेराइटी पाइने र त्यो पनि सस्तो र मिठो भएको कारणले पनि क्रन्ची चिकन प्रति आकर्षण बढेको उनी बताउँछन् । बर्गर धेरै ठाउँमा पुगेको र अब हाम्रो योजना थकाली आइटम पनि धेरै शाखामा पुर्याउने उनको योजना छ । शुरुआतमा ५–६ महिना त भाडा पनि घरबाट लिएर तिर्नुपर्ने अवस्था आएको विगत सम्झिने वसन्त भन्छन्, ‘ विस्तारै सेवामा गुणस्तरमा सुधार गर्दै र संघर्ष गर्दै अगाडि बढेर आज यहाँ आइपुगेका छौं ।’ संघर्ष गरेर स्थापित भएपनि ट्रेडमार्कको भ्यालु नभएको उनको गुनासो छ । ‘फ्रेन्चाइज मोडललाई कसरी लाने भन्ने कुरामा राज्यसँग नीति छैन । हिमालयन जाभा र बाजेको सेकुवा फ्रेन्चाइज मोडलमा गएका थिए तर सानो संख्यामा शाखा छन् तर हामीले आक्रामक रूपमा अगाडि बढ्यौं,’ उनल भने, ‘ सरकारले फ्रेन्चाइजमा नीति बनाउन आवश्यक छ । कुनै पनि आफ्नो क्षमता र आवश्यकताको आधारमा व्यवसाय गर्दा त्यो सफल हुन्छ ।’  
Tags: