मुक्तिनाथ कृषि कम्पनीका पाँच कृषि संरचना एकैसाथ उद्घाटन

Image
काठमाडौं– मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले पाँच ओटा कृषि संरचनाको आइतवार एकैसाथ उद्घाटन गरेको छ । कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ अनुसार आइतवार ती योजनाको एकैसाथ डिजिटल उद्घाटन गरेको छ। कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सेवाग्राहीलाई देशव्यापी रूपमा उच्चस्तरीय र दिगो सेवा प्रदान गर्ने अभिप्रायले योजना अगाडि सारिएको बताइएको छ । कम्पनीको इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीस्थित प्रादेशिक कार्यालय, स्याङ्जा तथा चितवनस्थित ‘फार्म उत्कृष्टता केन्द्र र कृषिमा लगानी प्रवर्द्धनका लागि ‘कृषि व्यवसाय परामर्श केन्द्र’को उद्घाटन गरिएको हो । त्यस्तै, कृषकलाई दैनिक सेवाको लागि ‘कृषकसँग मुक्तिनाथ कल सेन्टर’ र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ‘मुक्तिनाथ एप’को उद्घाटन भएको छ । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रको समग्र विकासमा निजीक्षेत्रको भूमिका महत्त्वपूर्ण रहने भन्दै उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिँचाइ लगायत कृषि संरचनाको विकासमा जोड दिएको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६औं आवधिक योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यो कार्यक्रम फलदायी रहेको बताए । योजनामा सार्वजनिक निजी सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने उनले बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सार्वजनिक निजी साझेदारीमार्फत कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडि बढ्ने बताए । कम्पनीका अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीको लगानी आकर्षण, प्रवर्द्धन, विकास र नियमनका लागि एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्नुपर्ने बताए । त्यस्तै सार्वजनिक निजी सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने उनको धारणा छ । कार्यक्रममा कृषि क्षेत्रको प्रमुख समस्या, कम्पनीका गतिविधि, एकीकृत कृषि विकास प्राधिकरणको आवश्यकता, औचित्य र भावी सम्भावनाका विषयमा कम्पनीका नायव महाप्रबन्धक रामशरण तिमल्सिनाले प्रस्तुति दिएका थिए ।
Tags: