व्यवसायीका गुनासा, ‘हामी अफ्ठ्यारोमा पर्यौं’

Image
काठमाडौं – सरकारले निजी क्षेत्रलाई बेवास्ता गरेको व्यवसायीहरुले बताएका छन्। बाह्रखरी मिडियाले बुधबार आयोजना गरेको कार्यक्रममा उनीहरुले व्यवसायीका समस्या समाधान नगरी झनै गाह्रो पार्ने काम भएको गुनासो गरेका हुन् । उनीहरुले सरकारको यही रवैया भए सडक संघर्ष गर्ने बताए । उनीहरूले आफूहरुका कुरा पनि नसुनी सरकारले समातेर थुन्ने काम गरेको भन्दै यस्तो व्यवहारले मुलुकमा आर्थिक समृद्धि कसरी हासिल हुन्छ ? भन्दै प्रश्न गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको बताए उनले अहिलेको स्थिति प्रतिकूल भए पनि निजी क्षेत्र सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताए । उनले निजी क्षेत्रले कहिले पनि खुट्टा नकमाएको स्पष्ट पार्दै निजी क्षेत्रको हितका लागि कहिले पनि पछि नपर्ने दृढता व्यक्त गरे । उनले पछिल्ला दिनमा व्यवसायीलाई परेका अप्ठेराप्रति निजी क्षेत्रकै तीनवटै निकाय एकै ठाउँमा उभिएर आवाज उठाएको पनि बताए । नेपाल उद्योग परिसंघ उपाध्यक्ष विरेन्द्रराज पाण्डले व्यावसायीका समस्याहरु लगातार सुनाउँदै आएको उच्च ब्याजदर, नगद प्रवाहमा समस्या, उत्पादनमा कमी, पुजीगत खर्चमा भएको कमीलगागत कारणले मनोबल घट्दो अवस्थामा रहेको बताए । यस्ता प्रमुख चुनौतीमा सामना गर्दै माथि उकास्न निजी क्षेत्रको मनोबल बढाउनुपर्ने उनको धारणा छ । उनले पुँजीगत खर्च बढाउने काम गर्नुपर्ने, बजेटको प्रभावकारी कार्यान्व्यन हुनुपर्ने र राजनीतिक भन्दा आर्थिक एजेन्डालाई अघि सार्नुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले योजनाअनुसारको आर्थिक नीति नहुने समस्या भोगिरहेका बताउँदै कोभिड १९ को महामारीले त्यो बेला लिएको सस्तो ब्याज, लगानीले अहिले ब्याजदर वृद्धि हुँदा समस्यामा परेको स्पष्ट पारे । समग्ररुपमा राजनीतिक एजेन्डा र विभिन्न दलको धारणा फरक फरक भए पनि आर्थिक एजेन्डा सबैको एउटै होस् भन्ने हामी चाहेको उनको भनाइ छ । मोरङ उद्योग संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले व्यवसायीले सरकारलाई पटक पटक सजग गराएको बताए । ‘तर त्यसबेला भनियो संविधान बन्न दिनूस् कायापलट हुनेछ । तर कायापलट त सबैलाई होइन उहाँहरुलाई भयो । आजका तथ्यांक हेरौँ त मुलुकको अवस्था कस्तो छ ?’ उनले प्रश्न गरे । पर्यटन परिषद् पोखरा अध्यक्ष पोमनारायण श्रेष्ठले गण्डकी प्रदेश र पोखराको पर्यटनको कुरा गर्दा पर्यटनबाट इजाजत मात्र लिएका एक हजार बढी होटल व्यवसायी अहिले समस्यामा परेको बताए । उनले भने, ‘४० प्रतिशत विदेश पलायन भइसकेका छन् । लगानीको कुरा गर्दा ६ खर्व भन्दा बढी लगानी भएको छ । १४ सय भन्दा बढी रेस्टुरेन्ट सञ्चालनमा आएको छ । पोखरा आउने पर्यटक नेपालमा आउने पर्यटनको ४५ प्रतिशत आउने गर्दछन् । ’ नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले नेपालका सूचकांक राम्रो नदेखिएको भन्दै मुद्रास्फितीको रेट हेर्नुपर्दा अमेरिकामा समेत उच्च रहेको भारतमा पनि त्यस्तै रहेको बताउँदै नेपालले नियन्त्रण नै राखेको बताए ।  
Tags: