शास्त्रसम्मत राय, ‘जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीवार नै मनाउनु’

Image
काठमाडौं – यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका विषयमा भ्रामक टीका टिप्पणी र प्रचार–प्रसार भएकाले जनमानसमा भ्रम सृजना गर्न खोजिएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आपत्ति जनाएको छ । समितिले धर्मशास्त्री र चाडपर्व विशेषज्ञहरूको उपस्थितिमा व्यापक छलफल गरी शास्त्रको मर्म तथा विद्वानहरूको राय मुताबिक निर्णय गरी स्वीकृत पञ्चाङ्गमा उल्लिखित भदौ १४ गते बिहीबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति तथा परम्परा अनुकूल रहेको भनी उल्लेख गरिएको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । आज पूर्णिमासँगै भद्रा रहेको छ । आज राति ९ः०३ बजे मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न नमिल्ने उनले बताए । रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भदौ १४ गते नै रक्षाबन्धन, ऋषितर्पणी एवं गाईजात्रा पर्व मनाउनु शास्त्रसम्मत हुने समितिको निर्णय छ ।
Tags: