भदौ २६ देखि ३१ सम्म ‘नाडा अटो शो २०२३’ हुने

Image
काठमाडौं – नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले ‘नाडा अटो शो २०२३’ गर्ने भएको छ । नाडाले अटो शोको १५औं संस्करण भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने भएको हो । प्रदर्शनीमा सवारीसाधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको सहभागिता रहने आयोजकको भनाइ छ । बजार सुस्तताका बाबजुद प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने नाडा अटो शो २०२३ समितिका सभापति अनुपकुमार बरालले बताए । प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताको चाप बढ्दै गइरहेको सन्दर्भमा प्रदर्शनीले सवारीसाधन विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनको रूपमा चित्रण गर्न सहयोग पुग्ने उनको विश्वास छ । आयोजकका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी करीब १२० ओटा स्टल र ब्लक रहने छन् । प्रदर्शनीमा प्रख्यात अन्तरराष्ट्रिय ब्राण्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता समेत रहने छ । प्रदर्शनीमा १६ ओटा ब्राण्डका चार पांग्रे, २२ ओटा ब्राण्डका दुई पांग्रे, सात ओटा ब्राण्डका लाइट कमर्शियल मेडिकल, नौ ओटा वित्तीय संस्था तथा ३० ओटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपूर्जा एवं ग्यारेज उपकरणका कम्पनीको सहभागिता रहने बताइएको छ । प्रदर्शनी स्थलमा सजिलै आवागमनका लागि काठमाण्डौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यू–टावर लगायतका सार्वजनिक पार्किङ स्थलबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिनेसमितिका अध्यक्ष बरालले बताए । ‘नाडा अटो सो २०२३’ लाई टाटा मोटर्स जेनुइन आयलले प्रायोजित गरेको र सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।  
Tags: