निर्देशनको यात्रामा होमिँदै गीतकार पूजा

Image
काठमाडौं–नेपाली सांगीतिक क्षेत्र केही नयाँ त केही पुराना स्रष्टा, स्रजकले धानिरहेको पाइन्छ । संगीत क्षेत्र आर्थिक रूपमा त्यति बलावान नदेखिए पनि यस क्षेत्रमा लाग्नेहरूको जमात भने ओइरिएर लागिरहेको छ । सायद नामकै लागि भए पनि । त्यस्तै, संगीत जगतलाई केही फरक तथा नौलोपन दिएर आफ्नो भिन्नै चिनारी बनाउने गीतकार पूजा ठकुरीले म्युजिक भिडियो निर्देशनको विधामा पनि आफ्नो पाइलालाई अगाडि बढाएकी छिन् । कञ्चनपुरको सुडामा जन्मिएकी पुजा २०७४ सालदेखि गीत संगीतको क्षेत्रमा होमिएकी हुन्। आफ्नो पहिलो गीत ‘भुल्नै गाह्रो भयो’मार्फत संगीत क्षेत्रमा पहिलो पाइला चालेकी ठकुरीले अहिलेसम्म एक दर्जनभन्दा धेरै गीत बजारमा ल्याइसकेकी छिन्। गीतकार ठकुरीका भुल्नै गाह्रो भयो, ओ झेली माया, डालीले पात फेर्छ, तिम्रै नामको कात्रो ओडेर लगायतका गीतहरू बजारमा चर्चित छन्। गीति लेखनबाट चर्चा कमाइ राखेकी उनै ठकुरी अहिले भने म्युजिक भिडियो निर्देशनतिर पनि व्यस्त हुन थालेकी छिन्। चर्चित गायक स्वरुपराज आचार्यको स्वरमा रहेको गीत एउटा प्रश्न, त्यसैगरी प्रविण बेडवालको ‘मलाई भन्थे सबैले’, ‘सुसेलीले डाकौं भने’, प्रमोद खरेलको स्वरमा रहेको गीत म परदेश जान्छु, अनु चौधरीको अलिअलि हँसाउँदै अलिअलि रिसाउँदै, हेमन्त शिशिरको ‘हिजो हँसायौ’, रचना रिमालको ‘कति पनि’, ‘बसन्तमा डालीले पात फेर्छ’, ‘तिम्रो नामको सिन्दुर’ लगायतका गीतहरू उनको निर्देशनमा बजारमा आइसकेका छन् भने केही म्यूजिक भिडियो बजारमा आउने क्रममा छन्। आफूलाई निर्देशन र लेखन दुवै बिधा प्रिय लाग्ने भएकाले दुवै बिधामार्फत सांगीतिक क्षेत्रमा अगाडि बढेर केही गरौं भन्ने चाहाना रहेको ठकुरको छ। गीत संगीत तथा भिडियो निर्देशनको बिधामा केही फरकपन दिएर आफूले गरेका कामलाई जिवन्त बनाउने र निरन्तर सांगीतिक क्षेत्रमा नै संघर्ष गरिरहने ठकुरी हिजो आज दर्शकको रुचिमा पर्न थालेकी छिन्। आफ्नौ छुट्टै पहिचान बनाउने दौडधुपमा निरन्तर लागिरहेकी ठकुरी डान्सिङ गीतभन्दा पनि स्याड गीतमा आफ्नो बढी रुचि रहेको र तिनै गीतलाई आफूले रचना गर्ने तथा भिडियो निर्माण गर्ने गरेको बताउँछिन्।
Tags: